‘ढिलै भएनि सरकारले ल्याइदियो, त्यही ठूलो कुरो हो’

0
1

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको प्रकोप फैलिन थालेपछि विभिन्न मुलुकले विशेष विमान ल्याएर त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लैजान थाले।

हुबेईको राजधानी सहर वुहानका बजार, कलेज, यातायात ठप्प भए। सुनसान बनेको सहरमा भाइरस संक्रमणको त्रास फैलिएपछि त्यहाँ रहेका नेपालीले पनि उद्धारका लागि आह्वान गर्न थाले।

उता छोराछोरीले वुहानबाट निकाल्न आह्वान गरिरहँदा यता नेपालमा रहेका तिनका अभिभावक पनि स्वास्थ्य मन्त्रालयलगायत सरकारी अड्डा धाउन थाले।

त्यसरी धाउनेमध्येका एक हुन् धनुषाका रामपल्टन साह। वुहानमा अध्ययनरत छोरा चन्द्रभूषण यादवलाई नेपाल ल्याइदिन भन्दै उनले काठमाडौंमा १५ दिनसम्म सरकारी निकाय र विपक्षी दलका नेताका दैलो चाहारे।

‘डेलिगेसन लिएर सरकारकोमा गयौँ। विपक्षी दलका नेता शेरबहादुर देउवाजी कहाँ गयौँ,’ रामपल्टनले भने, ‘बल्लबल्ल यत्रो संघर्ष गरेर छोरा नेपाल आयो त्यो खुसीको कुरो हो।’

वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गर्ने चन्द्रभूषण यादव बस्ने ७ तल्ले होस्टेलमा कोराना संक्रमण फैलनुअघि विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। तर, प्रकोप फैलिँदै गएपछि होस्टेल रित्तिएको थियो।

होस्टेलको छैठौँ तल्लामा १५ कोठा थिए। शनिबार नेपाल फर्किनेबेलामा सो तल्लाका उनी एक्लो बासिन्दा थिए।

‘मेरा लागि होस्टल नै जेल जस्तो भइसकेको छ। एक्लै बस्दा निकै डर लागेको छ,’ वुहानबाट अघिल्लो साता चन्द्रभुषणले आफ्नो अनुभव सुनाएका थिए।

छोराको त्रासबारे सुनेर बुबा रामपल्टन निकै चिन्तित बनेका थिए। तर, अरु एक सय ७४ जनासहित चन्द्रभुषण पनि नेपाल आइपुगेपछि रामपल्टन ढुक्क भएका छन्।

‘जे होस् देरै सही दुरुस्तै ल्याइदियो, त्यही ठूलो कुरो हो,’ रामपल्टन भन्छन्, ‘मेरो छोरामात्रै होइन, जतिलाई सरकारले ल्यायो, त्यही ठूलो कुरो हो। सबै त मेरो छोरासरह हुन्।’

छोराले क्वारेन्टाइनमा सबै सुविधा राम्रो भएको भनेपछि उनको मन हलुंगो भएको छ। अब १४ दिन कहिले बित्ला र छोरालाई भेटौंला भन्ने हतारो उनलाई छ।

‘छोरासँग फोनमा कुरा भएको थियो। त्यहाँ(क्वारेन्टाइन) सबै व्यवस्था ठिकै छ भन्यो। अब १४ दिन बितेपछि भेट्छु,’ रामपल्टनले भने।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार नेपाली सेनाका चिकित्सक नवीन फुयाँलको नेतृत्वमा क्वारेन्टाइनमा ५० जना स्वास्थ्यकर्मीहरु खटिएका छन्।

रामपल्टनले खतरनाक भाइरससँग नडराई फर्केकाहरुको रेखदेखमा खटिने स्वास्थ्यकर्मीको प्रशंसा गरे।

‘जति स्वास्थ्यकर्मीहरु त्यहाँ छन्, म सबैलाई धन्यवाद दिन चाहन्छु। भगवानले पनि उनीहरुको रक्षा गरुन्,’ उनले भने।

614A9508.jpg

चीनको वुहानमै कृषिमा स्नातकोत्तर अध्ययनरत सौरभ लुइँटेलका बुबा यशोदाप्रसाद पनि छोरो बसेकै सहर ठप्प भएपछि बेचैन बनेका थिए।

सुरुका दिनमा सरकारी निकाय धाउँदा पनि कुनै सकरात्मक नतिजा नआएपछि उनी आत्तिन थालेका थिए। आइतबार छोरा विमानस्थलमा ओर्लिंदा उनलाई छोरा घरैमा पुगेजस्तो लागेको छ।

‘सुरुमा सरकार जनताप्रति जिम्मेवार नै नभएको महसुस गरेका थियौं,’ यशोदाप्रसादले भने, ‘हिजो विमानस्थल पुग्दा घरमै आइपुगेको जस्तो महसुस भएको छ। हामी फोनमा कुराकानी गरिरहेका छौँ। आफ्नो देश भनेको आफ्नै हो। ढिलै भएपनि सरकारले सकुशल ल्याइदिएकोमा धन्यवाद दिन चाहन्छौं।’

घरबाट मगाउन पाइन्छ अत्यावश्यक सामान
खरिपाटीस्थित क्वारेन्टाइनमा अत्यावश्यक सामान घरबाट मगाउन मिल्ने व्यवस्था गरिएको थियो। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुले घरबाट खानेकुरा बाहेक अन्य अत्यावश्यक सामान ल्याउन दिइएको छ।

‘खानाबाहेक आवश्यक सिमकार्ड, किताब, लत्ताकपडा, औषधिहरु ल्याउन दिइएको छ,’ क्वारेन्टाइनमा रहेका विधार्थी सन्दीप उप्रेतीले बताए।

काठमाडौंमा घर हुने विद्यार्थीले आफ्ना अभिभावकलाई आवश्यक सामाग्रीहरु फोनबाटै मगाउने गर्छन्। अभिभावकले गेटमा क्वारेन्टाइनका मान्छेलाई दिने गरेका छन्। क्वारेन्टाइनका मान्छेहरुले चेकजाँच पश्चात सम्बन्धित विधार्थीलाई ती सामग्री दिने व्यवस्था गरिएको क्वारेन्टाइनमा रहेका अर्का विद्यार्थी अशोक साहले बताए। 

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ

Previous article“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार