Home Uncategorized तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार मंसिर २३ गते दिइने

तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार मंसिर २३ गते दिइने

काठमाडौँ- तुलसीमान श्रेष्ठ स्मृति समाजले साहित्य र संगितको क्षेत्रमा काम गर्ने श्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिने भएको छ।

समाजको सातौँ बार्षिक साधारण सभामा बरिष्ठ साहित्यकारहरुले स्वर्गीय तुलसीमान श्रेष्ठले नेपाली साहित्य र लोक संगितको क्षेत्रमा पुर्‍याउनु भएको योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन स्मारिका प्रकाशनदेखि सम्मान र प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै जाने निर्णय गरेको हो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार एवं प्राज्ञ बिष्णु बिभु घिमिरे, प्रा डा. बद्री विशाल भट्टराई, प्रा डा कुलप्रसाद कोइराला, डा हरि पराजुली लगायतका वक्ताहरुले खासगरी नेपाली लोक साहित्यमा स्वर्गीय श्रेष्ठले पुर्‍याउनु भएको योगदानको स्मरण गर्नुभएको थियो ।

स्वर्गीय श्रेष्ठका छोरा डा निरजमान श्रेष्ठले अमेरिकाबाट जुम प्रबिधिमार्फत समाजको आगामी कार्यक्रमका वारेका जानकारी दिनुभएको थियो ।

लामो समय प्राध्यापन सेवामा रहनु भएका स्वर्गीय श्रेष्ठ लोक साहित्यको अनुसन्धानमा समर्पित हुनु हुन्थ्यो भने गोरखाबाट प्रकाशित दरौंदी पत्रिकाको संस्थापक प्रधान सम्पादक पनि हुनुहुन्थ्यो ।

२०७३ मा क्यान्सर रोगबाट निधन भएपछि उहाँको सम्मानस्वरुप समाज र तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कारको स्थापना गरिएको थियो ।

२५००० रुपैँयाको राशी भएको उक्त पुरस्कार विगतमा साहित्यकारहरु चुडामणी वन्धु, सत्यमोहन जोशी, तुलसी दिवश, नन्दकृष्ण जोशी र ज्ञानु राणालाई प्रदान गरिसकिएको छ भने यो बर्ष मंसिर २३ गते सो पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

यसैबीच, तुलसीमान श्रेष्ठ स्मृति समाजले आगामी २ बर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा प्राध्यापक सिताराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको सातौं बार्षिक साधारण सभाले प्राध्यापक अधिकारीलाई २०८०-२०८२ को लागि पुन: अध्यक्ष पदमा  निर्बाचित गरेको हो ।।

https://ujyaalonepalnews.com/archives/33251

Previous articleवाफबाट खाना पकाउने प्रविधि प्रभावकारी
Next articleटिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।