के गर्दैछन् यी चर्चित १० कलाकार ?

0
126

राष्ट्रलाई योगदान दिएका र कहलिएका व्यक्तिका उपल्लो जीवनबारे धेरैलाई चासो हुन्छ। हामीले विविध विधाका त्यस्ता प्रख्यातहरूका वर्तमान खोतल्न हरेक शनिबार ‘ठेगान’ स्तम्भ सुरु गरेका छौं। ठेगानले तिनको वास्तविक ठेगान पहिल्याउने छ।

कलाकार दर्शकका ढुकढुकी हुन्। तिनका हरेक गतिविधि धेरैका चासोका विषय हुन्छन्। जब आफूले पहिला हेरेका, रमाएका नायक/नायिका पर्दामा देखिन छाड्छन्, दृश्यमा आउँदैनन्, लाग्छ–उनीहरू कहाँ होलान् ? के गर्दै होलान् ? त्यही जिज्ञासा मेटाउन हामीले १० लोकप्रिय कलाकारको वर्तमान ठेगान पहिल्याउने प्रयास गरेका छौं।

कलाकारपछि परिवारसँग

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’की नायिका भुवन थापा चन्दलाई सोध्दा भनिन्, ‘जे, जति गरियो पहिल्यै गरियो। अहिले त निम्ता आएका चलचित्रसम्बन्धी कार्यक्रममा जान्छु। सुझाव माग्नेलाई दिन्छु्। अनुभव सोध्नेलाई सुनाउँछु। भूमिका पाइहाले गर्छु।’

जमाना यस्तो पनि थियो, त्यस समय नाच्ने गाउनेलाई राम्रो मानिन्नथियो। अझै कलाकार हुनु भनको ‘छोराछोरी बिग्रिएछन् है’ भन्ने समय थियो। तर, त्यसै समय त्यो मानसिकताको जंघार तरेर नायिका बनिन् भुवन थापा चन्द। यो अवस्थासँग जुधेर नै उनले नेपालको पहिलो नायिकाको ताज पहिरिन्। नेपाली चलचित्र क्षेत्रमा उनको योगदान अतुलनीय छ। तर, पछिल्लो समय उनी गुमनाम छिन्, पर्दामा दर्शकले नदेखेको वर्षौं भयो।

पाँच वर्षको उमेरमै नाटकबाट आफ्नो कला यात्रा सुरु गरेकी उनले यो यात्रामा लामो समय ब्रेक लगाइनन्। दर्शकको मन जितिन् र उल्लेख्य योगदान गरिन्। उनले पहिलोपटक अभिनय गरेको नाटक हो— बालकृष्ण समको ‘अन्धवेग’। डबलीमा नाटक गरेको याद अझै पनि उनको मनसपटलमा ताजै छ। उनी त्यही नाटकबाट अघि बढ्दै नेपाल कला केन्द्रमा आबद्ध भइन्। १४ वर्षको उमेरबाट नै उनले लिड रोलमा अभिनय गर्न मौका पाइन्। २०१७ सालमा राष्ट्रिय नाचघरमा आबद्ध भएसँगै उनको कलाकारिता रफ्तार बढ्यो।

भुवन चन्द,पहिलो नायिका

बाल्यकालदेखि नै कलाकारितामा रमाएकी कलाकार चन्दले आफ्नो पूर्ण जीवन यसै क्षेत्रमा खर्च गरिन्। रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेकी चन्दका अनुसार त्यो बेला नाटक घर भन्ने हुन्थेन। सिंहदरबारको पुतली बगैंचामा एउटा नाटक हल थियो। त्यहाँ सानो नाटक घरमा नै नाटक देखाउने बाध्यता कलाकारलाई थियो। अहिले जमाना फेरिएको छ। उनी आफैं भन्छिन्, ‘अहिले कलाकार खारिएर आउँछन्, सबै प्रतिस्पर्धी छन्।’

चन्दले कलाकारिता सुरु गरेको समयमा नाच्नेलाई नचौती भन्दै हेलाँको दृष्टिकोणले हेर्ने चलन थियो भन्छिन् उनी। समाजमा सबैभन्दा नराम्रो काम नै नाचगान भन्ने थियो। तर पनि उनका लागि कलाकारिता यात्रा केही हदसम्म सहज भयो। बुवा कलाकार भएको कारणले उनलाई यस क्षेत्रमा प्रवेश गर्न गाह्रो भएन। तर, बालकृष्ण समले तयार पारेको नाटक खेल्न भुवनका बुबा भैरवबहादुर थापाले नै चन्दका लागि अफर ल्याएका थिए। उनका अनुसार त्यो बेलाका कलाकारहरूले न त परिवारको साथ पाउँथे, न समाजले नै उनीहरूलाई राम्रो मान्थ्यो।

यसरी २०१८ सालसम्म पुग्दा भुवनले केही नाटकमा अभिनय गरेकी थिइन्। यसरी १३ वर्षको उमेरमा उनले राष्ट्रिय नाचघरमा नियुक्ति लिइन् र उनको तलब थियो, १ सय ५० रुपैयाँ। त्यो समयको १ सय ५० भनेको त उनका अनुसार अहिलेको समयको २०/२५ हजार हो। २०२१ सालमा नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’मा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उक्त चलचित्रमा काम गर्दा १५–१६ वर्षकी मात्रै थिइन् उनी। यस फिल्ममा अडिसन दिएर छनोट भएको उनको सम्झना छ। उनको प्रेमविवाह भएको थियो।

रेडियो नेपालमा अंग्रेजी समाचार पढ्ने माइकल चन्दसँग उनले प्रेमविवाह गरेकी हुन्। अहिले उनी सामान्य पारिवारिक जीवन बिताएर बसेकी छन्। तर, पनि चलचित्र क्षेत्र जोगाउनुपर्छ भन्ने आफ्नो सोच सधैं रहने उनी बताउँछिन्। उनले हिजो, आज, भोलि (१९७६), मनको बाँध (१९७३), सिन्दूर (१९८०), जीवन रेखा, के घर के डेरा (१९८७), पच्चिस बसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत सय बढी चर्चित चलचित्रमा काम गरेकी छन्।

धेरैपछि नयाँ चलचित्र

तुलसी घिमिरे नेपाली चलचित्रमा इतिहासदेखि अहिलेसम्म सम्मानका साथ लिइने नाम हो। उनी आपूmमात्रै परिचित बनेनन् यो क्षेत्रमा धेरैलाई चिनाए नम्बर १ सम्म बनाए। उनले करिब सात दशकको उनको उमेरमा डेढ दर्जनभन्दा बढी नेपाली चलचित्र निर्देशन गरे साथमा अभिनय पनि।

उनले निर्माण गरेका लाहुरे, कुसुमेरुमाल, चिनो, दक्षिणा, बलिदान, दर्पणछायाँजस्ता चलचित्रहरू जीवन्त नै बने। दर्शक हुरुक्कै पार्ने चलचित्रको स्थानमा उकाले। घिमिरे निर्देशकमात्र नभएर लेखक, गीतकार, सम्पादक र कलाकारसमेत हुन्। उनले निर्देशन गरेको टेलिसिरियल मुक्ति पनि निकै चर्चित बनेको थियो। घिमिरेकी पत्नी भारती गजमेरले पनि नेपाली कलायात्रामा श्रीमान्लाई साथ दिँदै आइन्।

तुलसी घिमिरे,अभिनेता/निर्देशक

पछिल्लो समय भने नेपाली चलचित्रमा घिमिरेको सक्रियता घटेको छ। घिमिरेले पछिल्लो चलचित्र ‘दर्पण छायाँ २’ पछि नयाँ चलचित्रको निर्देशन गरेका छैनन्। तर, उनले चाँडै नयाँ चलचित्र लिएर आउन लागेको जानकारी भने गरिरहेका छन्। युवा पुस्ताका निर्देशकको काम गर्ने र सोच्ने शैलीबाट आफूप्रभावित भएको बताउने उनी अब पनि यसै क्षेत्रमा केही गर्ने भन्ने सोचमा चैं छन्।

घिमिरेको जन्म भारत, दार्जिलिङको कालिम्पोङमा सन् १९५१ जुलाई १५ मा भएको हो। बैंसालु उमेरमा उनलाई चलचित्रको मोहले डोहोर्‍याउँदै मुम्बई पुर्‍यायो। मुम्बईमा रहँदा उनले चलचित्रका आयाम बुझ्ने मौका पाए। पछि उनले आफ्नो कर्मथलो नेपाललाई बनाए। नेपालमा व्यावसायिक चलचित्रको जग बसाए। उनलाई चलचित्रमा तान्ने एउटा मेलो बन्यो, अभिनेता राज कपुर। न उनले राज कपुरलाई भेटेका थिए, न नजिकबाट देखेका।

तर, त्यस समयमा राज कपुरको जुन चर्चा र ग्ल्यामर थियो, त्यसले उनलाई आकर्षित गर्‍यो। अन्ततः उनी राज कपुरजस्तै बन्ने रहर पालेर मुम्बई पुगे। त्यहाँ त्यसबेला तुलसी घिमिरे सम्पादनको काम सिकेका थिए। तुलसी घिमिरे आफैंमा एक कुशल अभिनेता पनि हुन्। थुप्रै चलचित्रमा उनले अभिनय गरेका छन्। त्यसमध्ये लाहुरे, दक्षिण आदिमा उनको भूमिका सम्झनलायक छ। घिमिरे जति सिर्जनशील निर्देशक हुन्, उत्तिनै प्रविधिमा पोख्त पनि। उनी चलचित्र सम्पादनदेखि छायांकनसम्म गर्न सिपालु छन्। प्रविधिबारे फराकिलो ज्ञान छ उनमा।

सफलतापछि सुनसान

नायक सरोज खनालको चलचित्रमा व्यावसायिक सफलता राम्रो मानिन्छ। खनाल अभिनीत जन्मजन्म, दुश्मन, चुनौती, परिभाषा, पुकार, सान्नानी, सारंगी, प्रेमपिण्ड, मनकामनाजस्ता फिल्मले पैसा र प्रशंसा दुवै बटुले। नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिफिल्म भीडदेखि भीडसम्मले पनि लोकप्रियता हासिल गरेको थियो।

यो क्षेत्रमा उनको व्यावसायिक सफलता भरपुर थियो तर उनी नेपालमा र चलचित्रमा अड्नि सकेनन्। १७ वर्षे आफ्नो अमेरिका बसाइ छाडेर उनी नेपाल आइपुगेका पनि थिए तर, त्यसै समय कोरोना सुरु भयो। कोरोना सुरुभएसँगै अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन थाल्यो। अमेरिकाका नागरिकताधारी नागरिक खनाल (बसोबासः भर्जिनिया) महामारीकै कहरबीच अमेरिका उडे। फाट्टफुट्ट निर्देशन गरेर उनी यो क्षेत्र छु है भन्न खोजे पनि अब उनको खोजी कमै भयो। आपूmले पनि स्थान सुरक्षित गरिरहन सकेनन्।

सरोज खनाल,नायक

२०७२ सालमा खनाल नेपाल फर्किए। उनलाई केही फिल्मको प्रस्ताव आउन थाल्यो। अमेरिकाबाट आएपछि उनले ‘नाइँ नभन्नु ल–२’ मा अभिनय गरे। कलाकार अनुभव रेग्मीको शिक्षकको भूमिकामा छन् उनी। यो फिल्मले आफूलाई बालदर्शकसँग जोडिन सहज बनाएको उनी बताउँछन्। त्यसपछि उनले ‘प्रेमगीत’ मा अभिनय गरे। यसले उनलाई युवा पुस्तामाझ चिनाउन सहज बनायो। त्यसपछि उनलाई यही क्षेत्रमा अडिन समस्या भएन।

तर, उनको भूमिका फेरिइसकेको छ र, पहिले जस्ता जम्ने भूमिकामा उनी अब हुने छैनन् पनि। अमेरिका जानुअघि मुख्य अभिनेता (हिरो) भएर काम गरिरहेका खनाल बुबाको भूमिकामा देखिनुपर्ने अवस्था आएको छ। तर, यो भूमिकाका लागि धेरै तयार भइसकेका छैन्। अझै पनि उनी यो क्षेत्रमा ओझेलमा नै रहेको प्रस्ट देखिन्छ।

सिनेमा छोडेर शिक्षिका

एक समय थियो, नेपाली चलचित्रमा तृप्ति नाडकरको एकछत्र राज नै चल्यो। उनले जुन चलचित्र छोइन् सुपरहिट तिनै हुन्थे। चलचित्र ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘साइनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’जस्ता यादगार चलचित्रमा अभिनय गरिन्। जुन अहिले पनि युट्युबमा खोजेर हेरिने चलचित्रमध्ये पर्छन्। लामो समयपछि एक दशकअघि २०७० सालमा ‘मानव’ नामक चलचित्रमा देखिएकी उनी त्यसमा भने जम्न सकिनन्। चलचित्र असफल नै भयो र उनी पर्दाबाट हराइन्। र, फरक बाटो रोजिन्। उनी अहिले पूर्णकालीन शैक्षिक पेसामा छन्। त्यो पनि भारतमा।

nullतृप्तिले पत्रकार जीवन पराजुलीद्वारा लिखित ‘क्लोज–अप’ पुस्तकमा भनेकी छन्, ‘म झन्डै सात वर्षदेखि फुलटाइमर शिक्षिका बनेकी छु। प्रि–प्राइमरी सेक्सनका बालबालिकालाई पढाउँछु, सिकाउँछु। समयको सदुपयोग गरेकी छु। हरेक मानिस व्यस्त रहन आवश्यक छ।’ उनको यो प्रतिक्रियापछि खासै सञ्चारमाध्यममा आइनन् पनि। उनले नेपाली चलचित्रमा फर्किने प्रयास नगरेकी भने होइनन्। तर, उनकै भनाइ मान्ने हो भने ‘विभिन्न कारणले सम्भव भएन’ रे। भारतमा रहेर पनि नेपाली चलचित्रमा अभिनयको हुटहुटी अझै नमरेको उनी बताउँछिन्।

तृप्तिको जन्म भारतमा नै भएको हो, उनको नेपाल मातृभूमि हो। उनले नेपाली चलचित्रमा आउनुभन्दा अगाडि चारवटा मराठी चलचित्रमा अभिनय गरिसकेकी थिइन्। पिता मराठी चलचित्रको निर्माता भएकाले उनले बाल्यकालदेखि नै अभिनय गर्दै आएकी थिइन्। उनले निर्देशक आनन्द मेहेन्दुको हिन्दी सिरियल ‘लिलिपुट’मा अभिनेता ऋषि कपुरसँग बालकलाकारको रूपमा समेत अभिनय गरेकी थिइन्।

निर्देशकद्वय शम्भु प्रधान र तुलसी घिमिरेले नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने उद्देश्यसहित तृप्तिको अभिनय हेर्न सुटिङ सेटमा पुगेका थिए। शम्भु उनको अभिनयबाट प्रभावित भए र उनको घरमै पुगेर चलचित्रको प्रस्ताव राखेका रहेछन्। त्यसबेला तृप्तिलाई नेपाली बोल्नसमेत आउँदैनथियो भनिन्छ। उनलाई नेपाली भाषा सिकाउन तुलसी घिमिरे र उनकी श्रीमती भारतीले धेरै सहयोग गरेका थिए। उनी नेपाली चलचित्रबाट टाढा भए पनि तृप्तिका छोरा भने नेपाली चलचित्रमा नायकको रूपमा आए। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’मा उनका छोरा धीरज नाडकरको मुख्य भूमिका छ। उनी सन् १९६९ मा दार्जिलिङमा जन्मिएकी हुन्।

अभिनय छोडेर अमेरिका !

‘हिरोइन त जल शाहजस्तो पो हुनुपर्छ’ हुनै समय दर्शकको भनाइ यस्तै हुन्थ्यो। तर, अहिले तिनै दर्शकले सोध्ने समय भएको छ, ‘कता हराइन् जल शाह ?’ हो उनी पनि यो क्षेत्रबाट पलायन नै भएकी छन्। उनी अहिले चलचित्र क्षेत्रमा मात्र होइन, नेपालमा नै छैनन्। यस्तोमा उनका फ्यान तथा शुभचिन्तकलाई उनी कहाँ छिन्, कस्ती भइन् भन्ने कौतुहलता हुनु सामान्य हो।

केहीअघि महानायक राजेश हमालले जल शाहका फ्यानहरूको त्यो उत्सुकता निवारण गरिदिएका थिए। हमाल अमेरिकास्थित जल शाहकै घरमा पुगेर केही तस्बिर खिचे र सार्वजनिक गरे। राजेश र जल शाह पुराना साथी हुन्। उनीहरूले सँगै चलचित्र पनि खेलेका थिए। शरदकुमार रिमालसँग विवाह गरेर अमेरिकामै बस्दै आएकी जल शाह तीन वर्षपछि अघिल्लो वर्ष नेपाल आएकी थिइन्।

उनले नेपाल बसाइमा घुमघाम गर्ने, लङड्राइभ गर्नेदेखि फिल्म क्षेत्रका साथीभाइलाई भेट्नेसम्मका काम गरिन्। त्यसअघि आउँदा जलले फिल्ममा फर्कन र अभिनेता रमेश उप्रेतीसँग पुनः सहकार्य गर्न आफूलाई इच्छा लागेको बताएकी थिइन्। रमेशले पनि जललाई आफ्नो आगामी प्रोजेक्टमा लिनेबारे भेटेरै प्रस्ताव गर्ने बताएका थिए। तर, त्यो अहिलेसम्म देखिएन।

जलको फिल्म करिअर १३ वर्षको उमेरमा धार्मिक फिल्म ‘श्रीस्वस्थानी’बाट सुरु भएको थियो। त्यसमा उनले केमियो भूमिका निर्वाह गरेकी थिइन्।

त्यसयता उनले अवतार, इश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशीर्वाद, बादलपारि, यो मायाको सागर, सन्न्यास, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम, क्रोध र मजदुरमा अभिनय गरिन्। उनको पछिल्लो फिल्म मजदुर सन् २००६ मा रिलिज भएको थियो।

पहिलो चर्चामा, अहिले ओझेलमा

‘भिलेन’को भूमिकामा निक्कै ख्याति कमाएका अभिनेता हुन् सुशील पोखरेल। ललितपुरका स्थायी बासिन्दा उनी नाटक, भिडियो चलचित्र, टेलिचलचित्र हुँदै २०५० सालमा ‘ज्वाला’नामक चलचित्रबाट ठूलो पर्दामा ‘भिलेन’को रूपमा उदाए थिए। तर, उनको यो यात्रा तीन दशकसम्म पुगेन। अहिले उनी यो क्षेत्रबाट ओझेलमा छन्।

दुई सय हाराहारी चलचित्रमा ‘भिलेन’को भूमिकामा अभिनय गरिसकेका उनको एकताका त यस्तोसम्म समय थियो दिनमै तीनटा चलचित्रको सेटमा काम गर्न पुग्नुपथ्यो। अफर नै यति धेरै आउँथ्यो कि उनलाई समय मिलाउन नै भ्याइँनभ्याइ हुन्थयो।

यो समय उनका लागि २०५७ देखि २०६६ सम्म रह्यो। सुशीलले ‘सक्कली नक्कली’, ‘शंकर’, ‘आगो’, ‘नीरमाया’, ‘ए मेरो हजुर’, ‘सुखदुःख’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन्। उनको हाउभाउ र बोल्ने संवादले चलचित्र हेर्ने दर्शकलाई निकै डर पैदा गथ्र्याे र नै उनी यो क्षेत्रमा चले।

धीरेन शाक्य ,नायक

तर, पछिल्ला वर्ष ठूलो पर्दामा ‘भिलेन’को भूमिकामा उनी पहिलेजस्तो देखिएका छैनन्। बरु छोटा चलचित्रमा अभिनयसँगै अभिनय प्रशिक्षण, स्क्रिप्ट लेखनलगायतका नेपथ्यमा बसेर गर्ने काममा उनी व्यस्त छन्। ‘केही चलचित्रहरू बनेर बसिरहेका छन्। दुईवटामा काम गर्ने तय भएको छ। तर, पहिले जसरी चलचित्रमा व्यस्तता हुन्थ्यो, त्यो धेरै नै घटेको छ।

पहिले चलचित्र, अहिले गीत

केही समय अघिसम्म नेपाली चलचित्र क्षेत्रमा फरक स्थान बनाउन सफल एक नाम थियो धीरेन शाक्य। कला क्षेत्रमा आउँछु भन्ने कहिल्यै नसोचेका धीरेन पछि गएर यही क्षेत्रमा राज गर्न सफल भए तर अहिले त्यहीँ क्षेत्रबाट हराए झै भए।

स्कुल पढ्दै गर्दा साथीहरूको लहलहैमा ब्रिटिस आर्मीमा भर्ती हुने सोच बनाएका उनको पहिलो चरणमा छानिन सफल भए पनि अन्तिम परीक्षामा भने रुचि नदेखाएका कारण ब्रिटिस आर्मीको यात्रा त्यहीं रोकिएको थियो। स्कुले जीवन सकिनासाथ गृह जिल्ला पाल्पामै रहँदा आफ्ना साथीहरूले निर्माण गरेको प्रतीक नामक भिडियो फिल्म खेलेपछि फिचर फिल्मका लागि धीरेनलाई अफर आएको थियो।

सुशील पोखरेल,खलनायक

फिल्म खेल्न काठमाडौं प्रवेश गरेका धीरेनले पहिलो फिल्म नै २०५० सालमा त्यो बेलाका हिट निर्देशक स्व. चेतन कार्कीको निर्देशनमा खेलेका थिए। हिट निर्देशक र चल्तीका कलाकारका साथ फिल्म पहिलो प्रेममा ब्रेक पाएका धीरेनले त्यसपछिका दिनमा पछाडि फर्किनु परेन, जसका कारण तीन दशकदेखि कहिले फिल्म त कहिले म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएका छन् उनी।

पहिलो प्रेमलगत्तै धीरेनले कर्जाको लागि अफर पाए भने त्यसपछि लगातार सौभाग्य, जूनतारा, सिमाना, जन्मजन्म, छहारी, दुश्मन, दाग, भीष्मप्रतिज्ञा, क्रोध, सहर, अप्सरा, अंशबन्डा, देउराली, खेलौना, भगवान्, देश परदेश, भाग्यले जुरायो, काइदा, जीवनदान, दादागिरी, मैले भुल्नै सकिनँ, अचानक, दुई मुुटु एक धड्कन, आधी बाटो, लक्ष्मी रानीलगायत दर्जनौं फिल्ममा अभिनय गरी दर्शकको मन जित्दै आएका छन्।

कम फिल्म बन्ने त्यो समयमा पनि धीरेनको व्यस्तता दिनरात नै हुने गर्दथ्यो। सयभन्दा बढी फिल्ममा अभिनय गरेका धीरेनले विभिन्न विधाका ७०–८० को हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेका छन्। विभिन्न विज्ञापनमा समेत छाउँदै आएका धीरेनले फिल्म र म्युजिक भिडियोका अलावा अहिले ज्यास्मिन फिल्म्स्मार्फत फिल्मसम्बन्धी उपकरण व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्।

कहिले नेपाल, कहिले भारत

निरुता सिंह नेपाली चलचित्रकी नम्बर वान नायिका भनेर धेरैले उपमा दिएको समय पनि थियो। तर, अहिले उनको जीवन कथा पढ्ने समय भएको छ। किनकि, उनी पनि चलचित्र क्षेत्रको राजपछि अवकाश जस्तै बनेकी छन्। पलायनको सूचीमा रहेकी छन्।

कलकलाउँदो उमेरमा दार्जिलिङबाट टपक्क टिपेर निर्देशक तुलसी घिमिरेले चलचित्रमा छमछम नचाए, अभिनयमा उदाहरणीय बनाए। दक्षिणा चलचित्रबाट भित्रिएकी निरुताले नेपाली दर्शकको मनमा राज नै गरिन्। दर्पण छायाँको अपार सफलताले उनलाई नम्बर वान नायिकाको आसनमा राखेको नै थियो। तर, आफ्नो स्थान लामो समय जोगाउन सकिनन् र, पलायन भइन्। nullनिरुता सिंह ,नायिका

सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले आफ्नो बैंसको उमेर चलचित्रको रिलमा पूर्ण कैद भने गर्न सकिन्। उनको ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘आमाको काख’, ‘आफन्त’, ‘माइली’, ‘सन्तान थरीथरीका’, ‘ठुल्दाइ’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’लगायत दर्जनौं चलचित्र सुपरहिटको सूचीमा छन्।

करिब एक दशक बढीको समय अभिनयबाट दूरी बनाएकी उनले केहीअघि विकासराज आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरिन्। यो चलचित्रमा उनको केमियो भूमिका थियो। तर, छोटो भूमिका भए पनि उनको अभिनयले दर्शकको मन जितेको थियो। यसपछि उनको नेपाली चलचित्रका लागि बाटो खुल्यो तर, त्यसलाई पनि उनले अझै समेट्न सकेकी छैनन्। उनको अहिले नेपाल र कहिले भारतमा हुने सामान्य कार्यक्रममा दैनिकी बितिरहेको छ।

कहिले व्यस्त, कहिले खाली

नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए नचल्ने चलचित्र नै हुँदैनथिए एक समय। ‘एक्सन’ चलचित्रका लागि उनकै नाम चर्चामा हुन्थ्यो। सात तला माथिबाट हामफालेर समेत चलचित्रमा एक्सन दिन तयार उप्रेतीको ‘डाइलग’को सिको गर्ने युवा धेरै थिए। तर, अहिले निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन्। पिँजडा नामक फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका एक्स न स्टार निखिलको पहिलो फिल्मबाट नै उनले चर्चा कमाए। पिँजडामा ७ तलाबाट हाम फालेपछि निखिलले एकपछि अर्को फिल्म पाउँदै गए। पहिलो फिल्म खेल्दा उनी भारतमा संर्घषरत थिए।

निखिल उप्रेती,नायक

त्यसपछि उनलाई भ्याइँनभ्याइ भयो। उनको चर्चा चुलिएपछि कुनै समय निखिलले एकै वर्षमा १६ वटा फिल्मसमेत खेलेका थिए। भविष्य खोज्न बलिउड पुगेका निखिललाई उनकै जिल्लावासी कलाकार पवन मैनालीले फिल्ममा ब्रेक दिएका थिए। सानोतिनो स्टन्ड गरेर स्कुले जीवनमै गृहनगर सर्लाहीमा आफ्नो अलग नाम त्यतिबेलै बनाइसकेका निखिललाई मौका पाएमा चलचित्रमा काम गर्न सक्छु भन्ने लागेको थियो तर अवसर पाएका थिएनन्। यसैले गर्दा पनि हुन सक्छ पवनले उनलाई ब्रेक दिएका थिए।

त्यही मौकाको सदुपयोग गर्दै उनले साततल्ले घरबाट जम्प मात्र गरेनन, गुडिरहेको गाडीमा पनि स्टन्ड गरेका थिए। यसरी डेब्यु फिल्ममै सबैको ध्यान आफूतिर तान्न सफल निखिलले दोस्रो फिल्म मायाको जालमा पनि पुलको पाइपमा हिँडेर चर्चा बटुका थिए। त्यसपछि एक्सन मन पराउनेको लागि उनी एक्सन स्टार नै भए। कतै केमियो त कतै फुल रोलमा भएता पनि उनको एक्सनको चर्चा बढी भएको पाइन्छ।

उनको जन्म सन् १९८० अगस्ट १० मा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एवं स्टन्टकर्ताका रूपमा लिइन्छ। नेपाली चलचित्र जगत्मा एक्सन् चलचित्रहरूप्रति दर्शकको रुचिको प्रेरणा स्रोतको रूपमा पनि उनलाई हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्। अहिले नायक निखिल उप्रेतीको कमब्याक केही हदसम्म सफल मानिन्छ। तर, उनका चलचित्र पहिलेजस्तो चल्न छाडेका छन्।

फर्कने सम्भावना न्युन

मोटा पाखुरा, अग्लो कदको शरीर र लामो कपाल अनि हात र घाँटीमा सुनचाँदीका गहना लगाएर मत्ता स्वभाव देखाउने एक खलनायक ‘भिलेन’ कलाकार हुन् मुकुन्द थापा। थापालाई खलनायक भूमिकामा धेरैले रुचाए। यो क्षेत्रमा उनले राम्रो स्थान पनि बनाए।

हरेक चलचित्र निर्माण गर्दा यो भूमिकामा उनी रोजाइमा नै पर्थे। तर, पछिल्लो समय उनी पनि यो क्षेत्रबाट हराएका छन्। मुकुन्दको पहिलेको जस्तो डरलाग्दो रूपलाई दर्शकले पर्दामा नदेखेको धेरै भइसकेको छ। उनको पछिल्लो चलचित्र नै ‘लुटेरा’ हो। जुन प्रदर्शनमा आएको नै नौ वर्ष भइसकेको छ। बरु उनलाई हिजोआज दर्शकले टेलिसिरियलमा फाट्टफुट्ट देख्दै आएका छन्।

मुकुन्द थापा,खलनायक

काठमाडौं छाडेर पछिल्लो समय पनौतीस्थित घरमै बस्दै आएका थापा अहिले आफू आराम गरिरहेको बताउँछन्। स्वास्थ्यमा समस्या आएपछि उनी केही समय अस्पतालमा पनि बस्नुपर्‍यो। उपचारपछि घरमै बसेर आराम गरिरहेको उनी बताउँछन्। थापाले पनौतीमा पोल्टीफार्मसमेत सञ्चालन गरेका थिए, तर कोरोना महामारीका कारण बन्द गरेका थिए। काभ्रेमा जन्मिएका मुकुन्दले ‘आँधीबेहरी’बाट फिल्मी करिअर सुरुआत गरेका थिए। मार्सल आर्टमा ‘ब्ल्याक बेल्ट’ उनी खेलाडीका साथै पूर्वसैनिकसमेत हुन्।

‘मजदुर’मा ‘भिलेन’को भूमिकामा प्रस्तुत भएपछि मुकुन्दले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन। ‘करण अर्जुन’, ‘जीवनदाता’, ‘सावधान’, ‘मैदान’ जस्ता चलचित्रले उनको व्यस्तता बढ्यो। ‘मैदान’मा भीमसेन खत्री पात्रको ‘भिलेन’ चरित्र निर्वाह गरेपछि उनलाई सोही नामले चिन्ने दर्शकहरू बढी भए। अहिले पनि धेरै दर्शकले उनलाई मुकुन्द थापाभन्दा भीमसेन खत्री भनेर चिन्ने गर्छन्। सो चलचित्रमा काम गरेपछि चिन्नेसँगै डराउने दर्शकहरूसमेत धेरै भएको उनी स्मरण गर्छन्।

‘फ्ल्यास ब्याक’, ‘कहाँ छौं कहाँ’, ‘भाग्य विधाता’, ‘इतिहास’, ‘सुन्दर मेरो नाम’, ‘कालापानी’, ‘लुटेरा’जस्ता थुप्रै चलचित्रहरू छन् जहाँ मुकुन्द डरलाग्दो भिलेनको रूपमा प्रस्तुत छन्। सो समय उनको व्यस्तता यस्तो थियो, सेड्युल मिलाएर दिनमै तीनवटासम्म चलचित्रमा अभिनय गर्न भ्याउँथे। अब त यो क्षेत्रमा फर्कने सम्भावना अलि कमै देख्छन् उनी आफैं।

Previous articleरेखाले अमेरिकामा सन्तानलाई जन्म दिन लागेकी हुन् ?
Next article‘पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी