उज्यालो नेपाल, चितवन- कालिकाको पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम जारी छ । स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा आयोजित स्वर्णमहोत्सव कार्यक्रम यहि पौष छ गतेदेखि सुरु भएको हो । कार्यक्रमको पाँचौ दिन बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ जना र २५००० सम्म सहयोग प्रदान गर्नुहुने ३५० जना गरि ५०७ जना छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, सभाध्यक्ष स्वर्णमहोत्सव मूल आयोजक समिति संयोजक एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रराज पौडेल, वडा नं. ५ का वडाध्यक्ष दिपकबहादुर भट्टराई लगायतले सम्मानित हुनेहरुलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री जोशीले सरकारले लगानी गरे बमोजिम सामुदायिक विद्यालयले नतिजा निकाल्न नसक्दा चिन्ता थपिएको बताए । शिक्षक कर्मचारीको सेवा सुविधा र भौतिक निर्माणको लागी सरकारले ठुलो लगानी गरेको भएतापनि संस्थागत विद्यालय संगको प्रतिस्पर्धामा सामुदायिक विद्यालय निक्कै पछाडी रहेको उनले बताए ।
अर्को प्रसंगमा मन्त्री जोशीले कालिकाको नगर अस्पताल स्तरोन्नतिको लागी प्रदेश सरकारले केहि रकम विनियोजन गरेको र उपकरण खरिदमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्यकला समेत प्रस्तुत गरेका थिए । स्वर्णमहोत्सव कार्यक्रम यहि पौष १३ गते सम्म जारी रहनेछ । भोली ८:०० बजे प्रभातफेरी, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, शैक्षिक बहस लगायतका कार्यक्रम रहनेछन् ।