चितवन हात्ती महोत्सव : डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम

Click Image

रत्ननगर । चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत विहीबार भएको डुंगादौर प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सात वटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । सौराहा स्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो ।

निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमालले चलाएको डुंगा प्रथम, १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङले चलाएको डुंगा द्धितीय र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी माडीको प्रतिनिधित्व गरेको दीपक बोटेले चलाएको डुंगा तृतीय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत बुधबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ । प्रतियोगितामा भाग लिएका अन्य छ वटा हात्तीलाई पछि पार्दै सेल्फी कलीले हात्ती सुन्दरीको ताज पहिरीन सफल भएकी हो । हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली सहित समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था नङ फुटे नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गरिएको थियो ।

महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा महोत्सव आयोजना गरिएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि सुरु गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् । कोरोना महामारी र आर्थिक मन्दीको चपेटामा परेको सौराहा सहित चितवनको पर्यटनलाई पुरानै अबस्थामा फर्काउन हात्ती महोत्सवका गतिविधिलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव गरिएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक ओम पाण्डेले बताए ।

Previous articleस्वर्णमहोत्सवको पाँचौ दिनमा भीमोदय: विद्यालयमा योगदान पुर्याउने ५०७ जना सम्मानित
Next articleभीमोदय स्वर्ण महोत्सव: एकहत्तर लाख बढी सहयोग संकलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।