भीमोदय स्वर्ण महोत्सव: एकहत्तर लाख बढी सहयोग संकलन

0
215

उज्यालो नेपाल, पुष १२-  कालिकाको भीमोदय नमुना माध्यमिक विद्यालयको जारी स्वर्णमहोत्सवको छैटौं दिन सम्म एकहत्तर लाख बढी सहयोग संकलन भएको छ । विद्यालयले स्वर्ण महोत्सव मनाउन तथा विभिन्न पूर्वाधार निर्माणको लागी सहयोग आव्हान गरे अनुरुप चन्दा सहयोग संकलन भएको हो ।

विद्यालयका पुर्व विद्यार्थी, कर्मचारी, अभिभावक लगायत चन्दादाताले सो मात्राको सहयोग प्रदान गरेका हुन् । यसै गरि कालिका नगरपालिकाबाट पूर्वाधार निर्माण र कार्यक्रमको व्यवस्थापकीय खर्चको लागी ४० लाख प्राप्त हुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

स्वर्णमहोत्सवको सन्दर्भमा विद्यालयमा हाल निर्माणाधीन गार्ड आवास सहितको एउटा स्वर्णद्वार, अर्को अतिरिक्त प्रवेशद्वार, विद्यालय कम्पाउण्ड, स्वर्ण स्तम्भ र स्वर्ण बाटिका निर्माणको काम अन्तिम चरणमा पुगेको र ति सबै काम सम्पन्न गर्नको लागी झन्डै ७० लाख खर्च हुने अनुमान गरिएको मूल आयोजक समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको व्यवस्थापकीय कार्यको लागी १० लाख खर्च हुने र बचत भएको रकम अक्षयकोष बनाएर दिगो आम्दानी श्रोतको रुपमा प्रयोग गरिने उनले जानकारी दिए ।

हाल शिक्षक कर्मचारीको सेवासुविधाको लागी निजिश्रोतबाट मासिक आठ लाख बढी रकम जुटाउनुपर्ने अवस्था रहेकोले बचत रकमबाट बन्ने अक्षयकोषबाट तलब भुक्तानीको लागी सहजता आउने उनले बताए । यसबाट सधैको अभिभावक चन्दाको मारलाई अन्त्य गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

भोली शुक्रबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा महोत्सवको मूल समारोह सम्पन्न हुनेछ । त्यसअघि विभिन्न झाँकी तथा बाजागाजा सहित शोभा र्याली निस्कनेछ । महोत्सवको मूल कार्यक्रममा रु २५ हजार माथि सहयोग प्रदान गर्ने सहयोगदाता, विद्यालय संस्थापक, पुर्व व्यवस्थापन समिति अध्यक्ष, पुर्व प्रधानाध्यपक, शिक्षक, खेलाडी लगायतलाई सम्मान, स्वर्णद्वार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण लगायतको कार्यक्रम हुनेछन् ।

 

 

 

 

Previous articleचितवन हात्ती महोत्सव : डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम
Next articleभीमोदय स्वर्णमहोत्सवको आज समापन: पुर्वप्रधानमन्त्री ओली प्रमुख अतिथि