बालकुमारी घटना: शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन

काठमाडौं- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललतिपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो।

आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

उनले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने बताइन्।

उनले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने पनि बताइन्।

प्रवक्ता शर्माले आयोगलाई एक महिनाको कार्यादेश दिइएको आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने पनि बताइन्।

Previous articleघिमिरे बन्धु प्रतिष्ठान रत्ननगरको अध्यक्षमा हरिभक्त घिमिरे
Next articleबालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा मन्त्री ज्वालाको कुनै गल्ती छैन – माधव नेपाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।