टेड्र युनियन खारेज गरिए प्रतिरोध

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग

काठमाडौं । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले ट्रेड युनियन खारेज गर्न खोजे त्यसविरुद्ध देशव्यापी प्रतिरोध गर्ने निर्णय गरेको छ । ट्रेड युनियन खारेज गरिए त्यसविरुद्ध देशभरका हजारांै कर्मचारीलाई एकैपटक सडकमा उतार्ने चेतावनी सो संगठनले दिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पनि ट्रेड युनियन खारेज आफूहरूको लागि अमान्य हुने जनाएको छ । संघले ट्रेड युनियन खारेज गरिए सबै संगठनलाई सामूहिक रूपमा सडकमा उतारिने चेतावनी दिएको छ ।

एक वर्षअघिदेखि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवा विधेयक’मा ट्रेड युनियन अधिकार कटौती गर्नेसम्बन्धी प्रस्ताव आउन थालेपछि कर्मचारीसम्बद्ध ट्रेड युनियन झस्कन पुगेका हुन् । संगठनले ट्रेड युनियन अधिकार सुनिश्चित गर्न संगठनकै वरिष्ट उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा आन्दोलन तयारी तथा परिचालन समितिसमेत गठन गरेको छ । समितिले हाल ट्रेड युनियनको आवश्यकता र महŒवबारे आवश्यक पैरवीसमेत गर्नेछ । ‘अहिले पैरवी गरिनेछ तर ट्रेड युनियन खारेज गर्नेगरी सरकार र संसद् अघि बढ्यो भने देशव्यापी रूपमा आन्दोलनको ज्वारभाटा ल्याइनेछ ।’ संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले भने । संगठनले केन्द्रमा रहेको ट्रेड युनियन अधिकार सुनिश्चित राख्दै प्रदेश र स्थानीय तहमा ट्रेड युनियन अधिकारसम्बन्धी व्यवस्था गर्न माग गरेको छ । उता प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट कर्मचारी युनियन(संघ)ले पनि ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक रणनीति बनाउन देशभरका जिल्ला अध्यक्षको भेला बोलाएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले ट्रेड युनियनको रक्षा गर्न भेलाले आवश्यक रणनीति बनाउने र सोहीअनुसार देशभरि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘ट्रेड युनियन खारेजीको कल्पना गरेका छैनौं, यदि, संसद् र सरकार ट्रेड युनियन खारेज गर्ने बाटोमा गए भने गम्भीर परिणामको सामना गर्नुपर्नेछ ’पोखरेलले भने ।
संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकारसहितको ट्रेड युनियनको अभियान’सहितको मुख्य नारा लिएर अघि बढिरहेको नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज गर्ने जुनसुकै प्रयास पनि सह्य नहुने चेतावनी दिएको छ । संगठनका अध्यक्ष देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचन गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेकाले त्यस्ता सबै खाले प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । संगठनको २ र ३ फागुनमा भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकले पनि कर्मचारीका ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सबै खाले आन्दोलन खुला राख्ने निर्णय गरेको छ । केन्द्रीय समितिले गरेका ३४ वटा निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रमका अध्यक्ष देवकोटाले ट्रेड युनियन खारेज गरिए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

उनले संघीय निजामती सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलका क्रममा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको भन्दै त्यसमा संगठनको आपत्ति रहेको बताए । ‘संघीय निजामती सेवा ऐनको मस्यौदा’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री लालबाबु पण्डितले संघीय संसद्मा २०७५ साल २७ माघमा पेस गरेका थिए । मस्यौदा पेस भएको १३ महिना भइसक्दा समेत यो विधेयक पारित हुन सकेको छैन । संगठनले ट्रेड युनियनलाई यथावतै राखी ‘संघीय निजामती विधेयकलाई ’ तत्काल पारित गर्न माग गरेको छ ।

संघीय निजामती सेवा विधेयक पारित गर्न समेत संसद्ले आलटाल गरिरहेकाले कर्मचारीका समस्याहरू समाधान हुन नसकेको ठहर संगठनको छ । संघीय निजामती सेवा ऐन आउन नसक्दा प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन आउन नसकेको र त्यसले प्रदेश र स्थानीय तहमा समेत समस्या सिर्जना गरेको संगठनले जनाएको छ । अध्यक्ष देवकोटाले कर्मचारी संगठनले कर्मचारीको हितका साथै राष्ट्रिय हितका लागि समेत आवाज उठाउने भएकाले यसको संरक्षण अत्यावश्यक रहेको बताए ।

संगठनले देशभरमा भ्रष्टाचारमुक्त अभियान थाल्ने निर्णय गरेको छ । संगठनले निजामती कर्मचारीबाटै भ्रष्टाचार बढाउने गरिएको भन्ने जनगुनासाको सम्बोधन गर्दै भ्रष्टाचारमुक्त अभियान थालिने निर्णय गरेको हो ।
संगठनले कर्मचारी र सेवाग्राहीलाई मध्यनजर गर्दै सेवा प्रवाह र सदाचारमा सवलीकरण, क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाह, कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता, निजामती कर्मचारी रासन कार्डको व्यवस्था तथा निःशुल्क स्वास्थ उपचारको माग गरेको छ ।

The post टेड्र युनियन खारेज गरिए प्रतिरोध appeared first on Rajdhani Daily News.

नेपालमै ‘मिस वल्र्ड’को आयोजना गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई

Previous articleनेपाल प्रहरीमा ६४ वर्षपछि नयाँ ऐन
Next articleसवा २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर तत्काल आउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।