नेपाल प्रहरीमा ६४ वर्षपछि नयाँ ऐन

अब केन्द्र र प्रदेशका आआफ्नै प्रहरी
प्रदेश प्रहरीको नेतृत्व केन्द्र मातहत हुने

काठमाडौं । २०१२ सालमा बनेको नेपाल प्रहरी ऐनको सट्टा मुलुकको संघीय संरचनाअनुसार प्रहरीको व्यवस्थापनसँग सम्बन्धित नयाँ ऐन मंगलबारबाट लागू भएको छ । संघीय संसद्ले पारित गरेको विधेयकलाई गत २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६’ प्रमाणीकरण भएको आठौं दिन मंगलबारबाट लागू भएको हो ।

नयाँ ऐन आएपछि संविधानले व्यवस्था गरेअनुसार प्रदेश प्रहरीको संरचना गठनका लागि प्रदेश प्रहरी ऐन गठनको बाटो खुलेको छ । संविधानअनुसार केन्द्रले तयार गरेको प्रहरी ऐनसँग नबाझिने गरी प्रदेशले प्रदेश प्रहरी ऐन बनाउन सक्नेछन् ।
गृह मन्त्रालयले ऐन प्रारम्भ भएको मितिले ३० दिनभित्र प्रहरी कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि प्रहरी कर्मचारीको विवरण तयार गर्नु पर्ने व्यवस्था ऐनमा उल्लेख छ ।

स्रोतका अनुसार हालका लागि निजामती कर्मचारी खटाए जसरी नै गृह मन्त्रालयले प्रदेशमा प्रहरी कर्मचारी समायोजनका लागि पठाउने तयारी गरेको छ । तर, के कति संख्यामा प्रहरी कर्मचारी पठाउने भन्ने विषयमा भने छलफल टुंगिएको छैन ।
ऐनमा उल्लेख भएअनुसार प्रदेश प्रहरीको प्रमुखका रूपमा नेपाल सरकारको दरबन्दीअनुसार नै नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहनेछन् । प्रदेश प्रहरी प्रमुखलाई नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारसँगको समन्वयमा अन्य प्रदेश वा नेपाल प्रहरीअन्तर्गतको कुनै निकायमा सरुवा गर्न सक्ने ऐनमा व्यवस्था छ ।
‘अहिलेलाई निजामती कर्मचारी स्थानीय तहमा पठाए जसरी नै प्रहरी कर्मचारी प्रदेशमा केन्द्रबाटै खटाउने तयारी छ, के कति संख्यामा पठाउने भन्ने विषयमा समितिले छलफल गरेर निर्णयमा पुग्छ,’ गृह स्रोतले भन्यो ।

नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया आगामी ६ चैतदेखि सुरु हुनेछ । त्यसका लागि गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरीको दरबन्दीको तय गर्न तयारी थालेको हो । कुन प्रदेशमा कति प्रहरी राख्ने भन्ने तय गर्न गृह मन्त्रालयका सचिवको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न एक समिति रहने ऐनमा व्यवस्था ऐनमा छ ।
समितिमा नेपाल प्रहरीका महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव, कानुन मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव, सम्बन्धित प्रदेशको प्रदेश मन्त्रालयको सचिव र गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव सदस्यसचिव हुनेछन् ।

दरबन्दी तय भइसकेपछि गृह मन्त्रालयले समायोजन हुन चाहेको प्रदेश वा संघ रोजेर निवेदन दिन प्रहरी कर्मचारीलाई सूचना निकाल्नेछ । कसैले निवेदन नदिएमा पनि उनीहरूलाई मन्त्रालयले प्रदेशमा समायोजन गर्न सक्नेछ ।
प्रदेश मातहतमा प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्म मात्रै रहनेछन् । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्र मातहत नै रहनेगरी पुल दरबन्दीमा राखेर प्रदेशमा खटाइनेछ ।
नयाँ ऐनले प्रहरी कर्मचारी समायोजनको आधार तोकेको छ । जसअनुसार कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकतामा उल्लेखित ठेगाना तथा उमेरको ज्येष्ठतालाई समायोजनको आधार मान्ने उल्लेख छ ।

नयाँ ऐनअनुसार प्रदेश प्रहरी प्रमुखबाहेकलाई प्रदेश सरकारको सम्बन्धित निकाय वा अधिकारीले प्रदेशभित्रको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायका समान पदमा स्थानान्तरण गर्न सक्नेछन् ।
सम्बन्धित प्रदेश खटिएका प्रहरीले राजीनामा दिएमा, प्रहरी कर्मचारी बढुवा वा सरुवा भएमा वा मृत्यु भएमा रिक्त पदमा प्रदेश कानुनबमोजिम नै प्रदेश सरकारले रिक्त पदपूर्तिका लागि कारबाही अगाडि बढाउन सक्नेछन् ।

The post नेपाल प्रहरीमा ६४ वर्षपछि नयाँ ऐन appeared first on Rajdhani Daily News.

असली संस्कार देखाउँदै गगनले ओलीलाई भने, ‘चाँडै घर फर्कनुस्, संसदमा स्वागत गर्न कुरिररहने छौं’

Previous articleपार्टीको एकताबाट ऐतिहासिक काम भएको छ, राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड
Next articleटेड्र युनियन खारेज गरिए प्रतिरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।