कालिकामा सरसफाई सम्बन्धी अन्तरक्रिया

Click Image

उज्यालो नेपाल। चितवनको कालिका नगरपालिकामा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।

नगर भित्रका वडा नं. १ देखि ५ सम्मका वटा टोल विकास संस्थाका प्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।

फोहोर व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका बेला नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा नं. ३ का वडाध्यक्ष तथा वन वातावरण र विपत समिति संयोजक वीरेन्द्र तमाङले पालिकाले फोहोरमैला व्यवस्थापन कार्यविधि बनाईसकेको र तत्काललाई अस्थाई रूपमा फोहोरमैला व्यवस्थापन गर्न लागिएको जानकारी दिए।

फोहोरमैलाको स्थाई व्यवस्थापनको लागि आधुनिक स्थाई प्रकृतिको ल्यान्डफिल्ड साईट निर्माण गरिने र प्राङ्गारिक मल उत्पादन गर्ने गरी तयारी भइरहेको उनले बताए।

त्यस्तै वडा नं. ४ का वडाध्यक्ष मकारमान तामाङले यस्ता कार्यक्रम बाट सरसफाई को अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतमले कालिकाले फोहोरमैलाको क्षेत्रमा देखिने गरि काम गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै फोहोरमैला फाल्ने ठाउँको अभाव, कानुनी जटिलता लगायतको कारण समस्या सृजना भएको बताए।

दुई सेसनमा संचालित कार्यक्रमको पहिलो सेसनमा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले टोल विकास संस्था परिचालन सम्बन्धी प्रस्तुतिकरण राखेका थिए।

त्यस्तै कार्यक्रमको दोश्रो सेसनमा ईकोसान अभियन्ता श्रीरेन्द्र पोखरेलले सहजीकरण गरेका थिए। अभियन्ता पोखरेलले झण्डै २ दशक देखि ” बेकार बाट आविष्कार, फोहोर बाट मोहोर र पिसाब बाट हिसाब ‘ अभियान सञ्चालन गर्दै फोहोरलाई पुन: प्रयोग गर्न प्रेरित गर्दै आइरहेका छन्।

मंगलबार वडा नं १ देखि ५ सम्मका लागि महिला सञ्जालको भवनमा भएको कार्यक्रम बुधबार वडा नं ६ र ७ को लागि हुनेछ भने बिहीबार वडा नं. ९,१० र ११ को लागि वडा नं ९ को कार्यालयमा हुनेछ।

Previous articleपिठुवा सामुदायिक सिकाई केन्द्रको नवौँ साधारण सभा
Next articleनेप्से परिसूचक दोहोरो अंकले घट्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।