काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुर्याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रम ओलीले विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे । उनले भने, ‘‘मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए ।
संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए ।
उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए । उनले भने, ‘त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन् ।’
विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गरे ।
उने देशभित्र र देश बाहिर रहनुभएका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गरे । उनले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गरे ।
वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरे ।
प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए ।
उनले थपे, ‘आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।’ द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।
नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो ।
मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको उनले बताए । नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्काे सरकार बनेजस्तो सहज नभएको बताए ।
उनले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औँल्याए ।
उनले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अबस्था रहेको बताए ।
विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अबस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताए ।
‘विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ’, उनले थपे ।
सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको बताए । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।
यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उहाँले विश्वास व्यक्त गरे । यतिखेर सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उनले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गरे ।
उनले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पारे । राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । रासस
The post समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गर्दै अघि बढ्छौं : प्रधानमन्त्री ओली appeared first on Koshi Online.


