उज्यालो नेपाल- श्रीपंचमी तथा सरस्वती पुजाको अवसरमा रत्ननगरको वडा नं. १५ मा रहेको विन्देश्वरी आधारभूत विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरको वडाध्यक्ष आशिक तामाङ र मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । मन्दिरको वैद्धिक विधि अनुसार मन्त्र पाठ गरि सरस्वतीको मूर्तिलाई प्राणप्रतिष्ठा गरिएको थियो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष तामाङले, “विद्यालय आफैँ एक पवित्र मन्दिर” रहेको उल्लेख गर्दै विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण हुँदा सुनमा सुगन्ध थपिएको विचार व्यक्त गरे । निर्माण गरिएको मन्दिरले संस्कार र संस्कृति जोगाउन उल्लेख्य भूमिका खेल्ने उनको भनाई छ ।
मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको निजि लगानीमा निर्माण गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कट्टेलले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्न पाउनु आफु र आफ्नो परिवारको लागी खुसीको कुरा रहेको बताए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक हरि खनालले झन्डै ३५ वर्ष अगाडी स्थापना भएको विद्यालयमा सरस्वतीको मन्दिर नहुँदा निकै अभाव खड्किएको महसुस भएको बताए । मन्दिर निर्माणकर्ता कट्टेल परिवार प्रति धन्यवाद ज्ञापन गर्दै खनालले सरस्वती पुजाकै दिन मन्दिर उद्घाटन गर्न पाउँदा विद्यालय परिवार हर्षित भएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका छात्र-छात्राहरूले सरस्वती पूजा गर्नुको साथै स-साना बालबालिकाहरूलाई अक्षराम्भ पनि गराइएको थियो । सो अवसरमा रत्ननगर १५ कै अन्नपुर्ण भजन समूहबाट भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरु शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक डिल्लीराम भट्टराईले संचालन गरेका थिए ।

