भरतपुरको अर्किड स्कुलमा विद्यालय कप्तानको लागी निर्वाचन

0
150

३१ बैशाख भरतपुर ! भरतपुरको अर्किड माध्यमिक विद्यालयले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू निर्वाचित गरेको छ।

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ-आफ्ना प्रतिनिधिहरू चुनेका हुन्।

कुल ४८ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, ४ सदन का नायक-सहनायक, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा समूह गरि १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन्।

मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ हिमान्शु चौरशिया, उप कप्तानमा कृपेश अधिकारी र छात्रातर्फ सुधा चौरशिया र प्रीन्सु राना क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन्।

त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, अर्थबाट सोनिश पोखरेल-सुसंकेत रानाभाट, भेनसबाट आयुषा सुवेदी- एन्जल सापकोटा, मर्करिबाट ओसोन पहारी- आशिफ शेख र मार्स सदनबाट रूविषा वाग्ले – आर्शिया पौडेल निर्वाचित भएका छन् छन्।

निर्वाचन अधिकृतको भुमिकामा रहेकी विद्यालय अतिरिक्त कृयाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठका अनुसार अर्किड माविले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो कार्यक्रम विद्यालयको छैठौं शृङ्खला हो।

निर्वाचन उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पुर्ण अनुसरण गरेको थियो।

नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउदै, राजनीतिक सामाजिकिकरण को स्वस्फुर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको श्रेष्ठले बताइन्।

Previous articleचितवन: कक्षाकोठामा खेल्नेक्रममा बेहोस भएका बालकको मृत्यु
Next articleसन्दीप लामिछानेले‍ दिएको पुनरावेदनमा आज पेशी, सुनुवाइ के होला ?