काठमाडौं – पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले नेपालमा शुक्रबार बिहानैदेखि मौसममा बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
शनिवार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने उनले बताए । ‘पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ,’ उनले भने, ‘आज दिउँसो–राति वर्षा हुन्छ, भोलिबाट बिस्तारै मौसम सफा हुँदै जानेछ ।’
शुक्रबार बिहान ६ बजे निकालेको बुलेटिनमा राति देशभर आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा भनिएको छ, ‘देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा शुक्रबार मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’
शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरू र पश्चिमी पहाडका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । आइतवारबाट मौसम सफा रहने जनाइएको छ ।


