चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा १८ गैँडा मरे

प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ।

चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।

निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ। ती मध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड र पुरानो १०० हेक्टरको लागि ५० लाख बजेट विनियोजन गरिएको छ।

यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ। ठेकेदार कम्पनीले एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केहीदिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ। निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि निकासा भएको जानकारी दिए। गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो।

यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने छ। यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ।

आउँदो तीन वर्षभित्रमा एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ। चालु आवमा ४९ वटा पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम रहेको छ।

दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो।

गत आर्थिक वर्षमा निकुञ्जमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए। यस वर्षको हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन्।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तीनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्ष अघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए।

चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ। पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन्। पछिल्ला वर्षहरुमा शिकारीका कारण भने गैँडा मरेका छैनन्।

धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते

Previous articleआज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने
Next articleगोकुल बाँस्कोटा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न सहमहामन्त्री महतको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।