चितवनमा रोपार पाउनै मुस्किल

0
526
तस्विर: रमेशकुमार पौडेल ( चितवन)

चितवन । असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छिन् । उनी स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छिन् ।

उनले भनिन्, “स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ ।” युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उनले बताइन् । उनले भनिन्, “ युवाहरूमा समेत काम गर्ने जाँगर नहँुदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।”

पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उनले बताइन् । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ ।

यस्तै समस्यामा छिन् भरतपुर –२४ का रतिमाया गुरुङ । उनी अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छिन् । तर उनलाई रोपार पाइने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् ।

भरतपुरकै शिव शर्मा अहिले रोपारकै खोजीमा छिन् । उनले भने, “स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने ।” उनले अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताए ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिए । उनले भने, “स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।” स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उनले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको जनाउँदै उनले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताए । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ ।

जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ ।

नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उनले जानकारी दिए । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ । रासस

Previous article१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
Next articleचितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै