जनजागृति माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी तथा कम्प्युटर हस्तानान्तरण

0
480

उज्यालो नेपाल – रत्ननगरको वडा नं. १४ पिठुवा मा रहेको जनजागृति माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी तथा कम्प्युटर हस्तानान्तरण गरिएको छ।

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको समन्वयमा ज्योति विकास बैंक टाँडी शाखाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सामाग्री वितरण गरेको हो।

बैंकले बुधबार आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा विद्यालयमा आयोजना गरेको एक औपचारिक समारोहमा दुईहजार लिटर क्षमताको स्टिलको ट्यांकी र दूईथान कम्प्युटर हस्तानान्तरण गरेको हो।

सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै प्रधानाध्यापक नरेन्द्रकुमार श्रेष्ठले ट्यांकीको अभावमा विद्यार्थीहरुलाई खानेपानीको व्यवस्थापन गर्न समस्या परिरहेको र पिठुवा खानेपानीको समन्वयमा ज्योति विकास बैंकको सहयोगले विद्यालयको नयाँ ब्लकमा खानेपानीको व्यवस्थापनमा सहज हुने बताए।

यस्तै बैंककी टाँडी शाखाप्रमुख दिलकुमारी सापकोटाले बैंकले आफ्नो आम्दानीको निश्चित प्रतिशत सामाजिक सेवामा लगाउने गरेको बताउँदै विद्यालयलाई सहयोग गर्न पाउँदा बैंक परिवार खुसी भएको बताईन्।

पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठले राष्ट्र बैंकको नीति अनुसार सामाजिक उत्तरदायित्व वहन गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे। सेवा क्षेत्रका अन्य विद्यालयमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न खानेपानी प्रयत्नरत रहेको उनले बताए।

कार्यक्रममा पिठुवा खानेपानीका संस्थापक अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ, वडा नं. १५ का वडा सदस्य शिवप्रसाद तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, खानेपानी संस्थाका पदाधिकारीहरु तथा वडा संयोजकहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु साथै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

पिठुवा खानेपानीका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका सचिव रुपेश तिवारीले सञ्चालन गरेका थिए।

 

Previous articleसौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु
Next articleपाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने