प्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ

Click Image

काठमाडौं । हेर्ने कथाले ‘हराएका वर्षहरू’मा देखाएका प्रकाश तामाङका साहुका छोरा छेतेन दोण्डुपले प्रकाश आफ्नै परिवारको सदस्य भएको बताएका छन् । प्रकाशलाई आफूले बुबा सरह मान्ने गरेको उनले भनेका छन् । हेर्ने कथाले आफ्नो फेसबुक पेजमा शुक्रबार छेतेनसँग गरिएको कुराकानी सार्वजनिक गरेको छ ।

छेतेन भन्छन्, “हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सञ्जालमा आएजस्तो अन्याय गरेको छैन ।”

आफूहरूलाई प्रकाशले नै हुर्काएको सम्झिए । भने, “प्रकाशले कहिले पनि पैसाको कुरा गरेनन् । हामीले पनि गरेनौँ । तर, बेला बेलामा बाबुआमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबाआमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !”

गाउँमा हुने घोडे जात्रामा प्रकाश आफ्नो परिवारको प्रतिनिधि भएर जाने गरेको पनि छेतेनले सुनाए । प्रकाशलाई गोठालो बनाएको भन्ने विषयमा पनि उनले स्पष्टीकरण दिएका छन् । उनी भन्छन्, “गोठालाको सिजन हुन्छ । गाउँभरिको चौँरीको जिम्मा लिनुपर्छ । जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ ।”

हेर्ने कथा टिमले प्रकाशलाई भेट्दा उनी त्यसरी नै गोठालो गएको छेतेनले भनेका छन् । यही कारणले गर्दा प्रकाशलाई आफ्ना बाबुआमाले पठाउन आनाकानी गरेको कुरा प्रष्ट्याएका छन् । हेर्ने कथाको टिमसँग आफ्ना बाबाआमा अपरिचित भएको हुँदा प्रकाशलाई पठाउन असहज मानेको पनि उनले सुनाए ।

हेर्ने कथा टिमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।”

प्रकाश घरकै सदस्य जस्तो भएको हुँदा तलबको कुरा अहिलेसम्म नउठेको पनि उनले प्रष्ट्याएका छन् । उनको भनाइ उद्धृत गर्दै हेर्ने कथाले लेखेको छ, “अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि तलब कसरी दिनु ! के कुरा गर्नु !”

प्रकाशले यार्सागुम्बा टिपेर कमाएको पैसा पनि आफ्नै परिवारका लागि खर्च गर्ने गरेको कुरा छेतेनले सुनाएका छन् । आफूहरूले नागरिकता बनाउन खोज्दा प्रक्रिया नमिलेको कुरा सुनाए । आफ्ना दाई पाल्जोरले आफ्नो अंश पनि प्रकाशलाई दिन खोजेको कुरा छेतेनले बताए । तर, नागरिकता नहुँदा अंश दिन नमिलेको उनको भनाइ छ ।

नागरिकता नभएकै कराण विवाह पनि हुन नसकेको उनले हेर्ने कथा टिमलाई भनेका छन् । उनले भनेका छन्, “नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर, आफ्नो नागरिकता नभए पछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।”

छेतेनका अनुसार केरुङमा बस्ने उनका काकाले प्रकाशलाई १० लाख रुपैयाँ दिन्छु भनेका छन् । त्यसैगरी फ्रान्समा बस्ने छेतेनका दाईले दुई लाख रुपैयाँ ।

छेतेनले प्रकाशलाई आफ्नो बुबा जस्तै मान्छे भन्दै भनेका छन्, “उहाँ मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु ।”

Previous articleकालिकामा उत्पादित महको बजार खोज्दै मेयर रेग्मी कृषि मन्त्रालयमा
Next articleममताका बुवा भन्छन्– दाइजोलाई लिएर सम्धिनीसँग खटपट भएको थियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।