भीमोदयको स्वर्णमहोत्सव समापन: ओलीको विद्यार्थीलाई सन्देश ‘वि अनेष्ट’

0
61

उज्यालो नेपाल, पुष १३, चितवन- कालिका नगरपालिकाको वडा नं. ५ मा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विद्यार्थीहरुलाई ईमान्दार बन्न आग्रह गरे । ईमान्दारीताले नै संसार जित्न सकिने बताउँदै ओलीले ईमान्दारिता नै हरेक सफलताको कडीको रुपमा रहेको बताए । भीमोदय चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्य रहेको प्रति प्रशंसा गर्दै ओलीले विद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष ओलीले शिक्षाको गुणस्तरीयताले मात्र देश विकास सम्भव हुने बताए । प्राविधिक शिक्षामा जोड दिँदै ओलीले  उद्योग, कलकारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै बेरोजगारी समस्याको समाधान गर्नुपर्ने आवश्यकता औंलाए  ।

विद्यालयलाई आवश्यक सरसहयोग गर्न स्थानिय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै ओलीले केन्द्रबाट गर्नुपर्ने कुनै काम भए आफुले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ओलीले नवनिर्मित स्वर्णद्वारको उद्घाटन, स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिका बिमोचन गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी उपस्थित थिईन् । त्यस्तै कार्यक्रममा पुर्व सांसद कृष्णभक्त पोखरेल, मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, अन्य निर्वाचित जनप्रतिनिधि, विद्यालय संस्थापक लगायतको आतिथ्य रहेको थियो ।

सप्ताहव्यापी रुपमा संचालन स्वर्णमहोत्सव कार्यक्रममा विज्ञान तथा प्रविधि प्रदर्शनी, शैक्षिक सामाग्री तथा फोटो प्रदर्शनी, जिल्ला स्तरिय शिक्षक भलिबल प्रतियोगिता, शिक्षक विद्यार्थी क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ र भाषणकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, घैटो फुटाई, नृत्य प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, प्रभातफेरी, शैक्षिक बहस र विभिन्न विधामा सम्मान लगायत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको पाँचौ दिन सम्ममा झन्डै पौने करोड चन्दासहयोग संकलन भएको र कार्यक्रम अवधीको आयव्यय केहि दिन भित्रैमा सार्वजनिक गरिने समारोह मूल आयोजक समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

स्वर्ण महोत्सव कार्यक्रमको यहि पौष ६ गते मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए ।

Previous articleक्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
Next articleघिमिरे बन्धु प्रतिष्ठान रत्ननगरको अध्यक्षमा हरिभक्त घिमिरे