काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका ‘धर्मपुत्र’ तथा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गरेर कारवाही गराउन पूर्व माओवादी निकट एक नेताले खुलेआम अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् ।
नेकपाका प्रमुख सचेतक समेत रहेका पूर्व माओवादी समूहका नेता देव गुरुङले गोकुल बाँस्कोटाको अडियो प्रकरण दुःखद परिघटना भएको टिप्पणी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेनुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङ भने, ‘घोटाला भएको हो वा होइन भन्ने विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ र दोषीउपर आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ । आशंकाका संकेतहरू देखिएका छन् । विस्तृत छानबिन गर्न आवश्यक छ ।’
ग्लोबल टेन्डर विना सेक्युरिटी प्रिन्टिङ प्रेस जीटुजी अर्थात् सरकार–सरकारबीच सम्झौता गरेर खरिद गर्नु कति उपयुक्त हो वा होइन भन्ने पुनर्विचार गर्नुपर्ने गुरुङले बताएका छन् । ‘कानुनी रुपमा ग्लोबल टेन्डरको प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ । तर सर्टेन कम्पनीसँग मात्रै एग्रिमेन्ट गरेर जाने जुन ट्रेन्ड देखिरहेको छ, त्यसले पनि प्रश्न उठेको छ,’ उनले भने ।
नीतिगत विषय संसदीय समितिले पनि हेर्ने भन्दै गुरुङले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाबाट भ्रष्टाचार भए/नभएको चाहिँ कानुनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने बताएका छन् । ‘मलाई लाग्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रक्रियाबाट सहज हुनेछ,’ उनले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीबाटै प्रशंसा पाएका मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारको चरित्र के हो भन्ने प्रष्ट भएको टिप्पणी गरेका छन् ।
यसअघि पनि यती, सुनकाण्ड, एनसेल, न्यारोबडी, वाइडबडी काण्ड आएका उनले बताए । ‘त्यसलाई लजिकल इन्डमा लैजाने सरकार तयार देखिएन । प्रतिपक्ष पनि धेरै भलादमी । जे आएपनि नमस्कार गरेर बस्ने स्थितिमा पुग्नुभएको छ,’ उनले भने ।
महिला सक्षम र योग्य छन्, यो कुरा प्रमाणित भैसक्यो : कोमल वली


