आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान

काबुल । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम सुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिक बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ ।

अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धविरामको नतिजाका आधारमा स्थायी युद्धविराम गर्न दुवै पक्ष सहमत भएका छन् । सो सम्झौताबमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करीब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजानेछ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजुद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबिब उल्लाहले निकै आत्मविश्वासका साथ भने, ‘बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलोपटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहनेछ ।’ यो साप्ताहिक युद्धविराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसकेका छन् । तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो । तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एकहप्ते युद्धविराम भएको छ ।

लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसंघले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो । तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरू रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे ।

वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकका रूपमा देखिएको काबुलमा भने मानिसहरू केही सजग देखिएका थिए । ‘अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौँ,’ सरकारी कामदार फजुल रहमानले भने, ‘जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्तिवार्ता हुनुपर्दछ ।’
काबुलका एकजना पसले इमामुद्दिनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताए । ‘एक हप्ताको युद्धविराम त आँखा झिमिक्क पार्दै सकिन्छ,’ उनले भने, ‘उनीहरूले यस देशको समस्याका लागि दिगो समाधान खोज्नुपर्दछ ।’

खतरनाक क्षण

हिंसामा कटौतीको विषय भने अद्यापि कृपण छ । अमेरिकाले अफगानिस्तानमा जारी ‘हिंसामा उल्लेखनीय र राष्ट्रव्यापी कटौती’ का लागि ‘समझदारी’ भएको बताएको छ भने अफगान सुरक्षाफौज पूरै साताभर ‘सक्रिय आत्मरक्षाको स्थितिमा’ मात्र रहनेछ ।
‘तालिबानले हिंसामा अर्थपूर्ण कटौतीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्नुपर्दछ,’ अमेरिकी रक्षामन्त्री मार्क एस्परले ट्विट गर्दै भनेका छन्, ‘तालिवानले शान्तिको बाटोलाई अस्वीकार गरेको खण्डमा हामी आफैँ र अफगान साथीहरूको मद्दत गर्न तयार हुनेछौँ ।’ कन्धाहारमा एकजना तालिबान विद्रोहीले आफूलाई हतियार थाती राख्ने आदेश आएको बताए । तर अर्का लडाकूले आफूलाई केवल ठूला सहरहरू र राजमार्गहरूमा आक्रमण रोक्न आदेश दिइएको जानकारी दिए ।

कुनै पनि युद्धविराम चुनौती र खतराबाट भरिपूर्ण हुन्छ । विश्लेषकहरूका भनाइमा अफगानिस्तानको रक्तपात रोक्न निकै जटिलताहरू रहेका छन् र कुनै पनि समय त्यो भङ्ग हुन सक्दछ । सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एकपटक मात्र युद्धमा विश्राम आएको छ । तालिबान र काबुलबीच सन् २०१८ मा मुस्लिमहरूको महान् चाड इदको अवसरमा तीन दिन युद्धविराम भएको थियो ।

त्यसबखत अफगानिस्तानले तालिबानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अङ्गालो हालेर, आइसक्रिम बाँडेर र सेल्फी खिच्दै खुशी साटासाट गरेका थिए । अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिबानसँग वार्ता गरिरहेको छ । सो वार्ता मुख्य रूपमा अफगानिस्तानमा तैनाथ १२ हजार देखि १४ हजार अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्ने केन्द्रित छ ।

त्यसको बदलामा तालिबानले सुरक्षा प्रत्याभूति गर्नुपर्नेछ र अफगान सरकारसँग शान्तिवार्तामा सहभागी हुनेछ । बिहीबार सो समूहका उपनेता सिराजुद्दिन हक्कानीले न्युयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।

The post आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान appeared first on Rajdhani Daily News.

महानिरीक्षक ज्ञवालीद्धारा महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीमा निर्देशन

Previous articleतेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौंमा सुरु
Next articleप्रधानमन्त्रीलाई अडियो सुनाएको विजय मिश्रको दाबी, कोरोनाको त्राससहित कोरियाबाट नेपालीहरु लाइभ (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।