भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल

राजनीतिक नेतृत्व भ्रष्टाचारमा डुब्दै जाने हो भने त्यसले शासकीय प्रणालीलाई नै पंगु र असफल पारिदिने निश्चित छ । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन काण्ड र उनको बर्हिगमनसँगै मुलुक कुशासनको चपेटामा पर्दै गइरहेको प्रस्ट देखिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा विश्वास पात्र मन्त्रीका रूपमा रहेका बाँस्कोटा नै त्यसरी कमिसनखोरसँगको बार्गेनिङमा लिप्त भएको अडियो सार्वजनिक हुनुले प्रधानमन्त्रीको भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई नै फितलो बनाइदिएको छ ।

यदि, प्रधानमन्त्रीले यसलाई सानोतिनो घटनाका रूपमा लिए भने त्यो उनको लागि ठूलो आत्मघाती काम हुनेछ । यस्ता भ्रष्टाचारका काण्डलाई गहन रूपमा लिएर छानबिन नगर्ने हो र फेरिफेरि पनि यस्ता घटना घट्न दिइरहने हो भने प्रधानमन्त्री ओली असफल त हुन्छन् नै, त्यसका साथसाथै बामे सर्दै गइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि पक्षघातको सिकार हुन पुग्छ । पक्षघातले ग्रसित भएको शासकीय व्यवस्थाले जनतामा प्रभावकारी सेवा वितरण गर्न सक्दैन जसका कारण जनतामा शासन व्यवस्थाप्रति नै अलगाव र घृणा पैदा हुन सक्छ ।

यो शासन प्रणालीको संस्थागत विकास गर्ने महŒवपूर्ण भूमिकामा रहेको ओली सरकार व्यवहारमा नै भ्रष्टाचार र भ्रष्टाचारीप्रति कठोर र निर्मम हुन सक्नुपर्छ । तर, प्रधानमन्त्रीले जसरी बोलीमा भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भनेर भाषण गरिरहेका छन् तर उनको व्यवहारमा त्यस्तो देखिन सकेको छैन । प्रधानमन्त्रीले आफ्नो टिममा रहेका मन्त्रीलाई नियन्त्रणमा राख्न सकेको देखिएन् । यदि, प्रधानमन्त्री साँच्चै नै भ्रष्टाचारीप्रति निर्मम बन्न सकेको भए सञ्चारमन्त्री बाँस्कोटा त्यसरी करोडांै रुपैयाँ बार्गेनिङ गर्न सक्ने अवस्थामा हुँदैनथे । जबजब ओलीका मन्त्री भ्रष्टाचारमा लिप्त हुँदै जान्छन्, तबतब उनको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नाराले उनी स्वयंलाई गिज्याइरहनेछ ।

जब, प्रधानमन्त्री ओली २०७४ साल ३ फागुनमा दोस्रोपटक प्रधानमन्त्रीको रूपमा आए । त्यतिबेलादेखि नै उनले आफ्नो टिममा ल्याउने व्यक्ति नैतिकवान् सदाचारी र रातोदिन देश र जनताको हितमा काम गर्ने व्यक्ति ल्याउनुपर्छ भन्ने आमजनता र उनका शुभेच्छुकको चाहना थियो । तर, दुईतिहाइको समर्थन पाएका ओलीले त्यस्ता व्यक्तिलाई मन्त्री बनाउन सकेनन् । मन्त्री पद राजनीति र व्यक्ति विशेषको कोटाका आधारमा चयन गरियो । त्यसरी आएका अधिकांश मन्त्रीहरू मुलुकको समृद्धि र सुशासनका लागि भन्दा पनि आफ्नै स्वार्थसिद्ध गर्ने कार्यमा लागे । अहिले पनि प्रधानमन्त्रीका सारथीका रूपमा रहेका अधिकांश मन्त्री कम्मल ओढेर घिउ खाने प्रवृत्तिकै छन् भन्ने आमगुनासो आइरहेको छ । प्रधानमन्त्री ओली अब त्यस्ता मन्त्रीप्रति कठोर र निर्मम बन्नैपर्छ ।

मन्त्री भ्रष्ट भए भने उनी मातहत रहेका सचिव, सहसचिव, महानिर्देशक तथा अन्य कार्यालय प्रमुख स्वतः भ्रष्ट हुन्छन् । त्यसैले अहिले अधिकांश मन्त्रीको प्रवृत्ति हेर्दा मुलुकमा भ्रष्टाचारले संस्थागत रूप लिँदै गइरहेको सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीले अब सबै मन्त्री तथा प्रशासनिक नेतृत्वलाई उच्च निगरानीमा राखेर उनीहरूको अनुगमन गर्नेगरी विभिन्न संयन्त्र बनाउनुपर्छ । ठूलाठूला खरिद प्रक्रिया र ठेक्का हुने प्रोजेक्टमाथि प्रधानमन्त्री कार्यालयको नियमित निगरानी बढाउनुपर्छ । प्रधानमन्त्रीले आफ्नो अभियानलाई मूर्तरूप दिने हो भने भ्रष्टाचारमा निर्लिप्त भएका मन्त्रीलाई वर्खास्त गर्न सक्ने तथा प्रशासनिक नेतृत्वलाई कडा कारबाही गर्न सक्ने परिपाटीको विकास गर्नुपर्छ ।

The post भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल appeared first on Rajdhani Daily News.

उत्सवका रूपमा होली मनाउन निषेध

Previous articleकालिगडलाई बिनाधितो ऋण
Next articleकम्युनिस्ट पार्टीका चुनौती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।