पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा सोमवार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताए । राष्ट्रिय आकाङ्क्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामथ्र्यका साथै इच्छाशक्तिसमेत वर्तमान सरकारमा रहेको धारणा राखे ।
पुष्पलाल श्रेष्ठ र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्रा्ष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पारे । ‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौ’ उनले भने ‘दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।’
अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकाङ्क्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताए । अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उनले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको धारणा राखे ।
विषय नपाएपछि कोट मिलेन भन्न थाले
‘माक्र्सवाद विषयवस्तुको ग्रन्थ होइन समाजवाद हो, यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ’ विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै उनले भने ‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।’
संसमा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्रीको भनाई थियो । ‘हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘जनताले महसुस गर्न काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।’
जनता र पार्टीविचको सम्बन्ध बिग्रदैछ : मुख्यमन्त्री
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताउँदै जनताका सुखदुःखमा साथ र सहयोगका लागि उनीहरूका घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याए ।
कम्युनिष्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उनले पार्टीको अस्तित्व सक्ने गरी कुनै पनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने धारणा राखे । जनतामा आधारित पार्टीका रूपमा यसको विकास हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताए ।
पार्टी भित्रैबाट आफैँलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारी जस्ता कुरामा ध्यान दिनुपर्ने बताए । पार्टीमा सादा जीवन उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको जिकिर गरे ।
The post माक्सवाद नबुझ्नेहरु कम्युनिष्टको विरोध गर्छन् : प्रधानमन्त्री ओली appeared first on Rajdhani Daily News.


