कालापानीमा ठोकिएको राष्ट्रवाद

कुनैबेला टिष्टा, सुस्ता र किल्ला काँगडाको गीत गाएर राजनीतिमा छिरेका केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । त्यस्तै गीत गाउने अरू प्रधानमन्त्री बनिसकेर ओथारो बसेका छन् । त्यतिबेलाको गीत खुम्चेर अहिले कालापानीमा ठोक्किन आइपुगेको छ । कालापानी रोइरहेको छ, उनीहरू बाँसुरी र सारंगी बजाइ हाँसिरहेका छन् । यतिबेला कसैले नेपालको विशेषता के हो ? भनेर सोध्यो भने भन्न सकिएला नेपालले आफ्नो भूभाग जति छाड्दै हिँडे पनि सिंगो भइरहने नेपालको विशेषता हो भनेर ? यो नयाँ नेपाल बनाउने क्रममा देखा परेको नयाँ विशेषताप्रति आमनागरिक चिन्तित छन् । स्वाभिमानमा धक्का पुग्नाले सबैको मन चुँडिएको, मुटु छियाछिया परेको छ । तर, नागरिक चिन्तामाझ सिंगो नेपाल भने अनिश्चित गन्तव्यतिर हिँडिरहेको छ, हिँड्दै छ ।

आमनागरिकको चासो र चिन्ता नेताका चासोमा मिसिएपछि केही उपलब्धि त देखिनुपर्ने हो । तर, नेताहरूमा कालो धब्बा लाग्न थाल्यो, उनीहरूप्रतिको ओजन घट्न थाल्यो । नेपालको कतिपय आन्दोलनको उपलब्धि नागरिकले होइन, छिमेकीले पाएको देखियो । नेपालीले लोकतन्त्र केका लागि प्राप्त गरेका हुन् त्यसको जवाफदेहिता छैन । नेताहरू ढाकछोपमा लागेका छन् । नेताहरू भुमरिमा होमिए वा होमाइए यो उनीहरूले नै बुझ्नुपर्ने कुरा हो । राजनीतिक पारदर्शिताको अभाव छ नेपालमा । अन्योल र अराजकता चुलिँदै गएको छ ।

गत असोजतिर सुस्ता छुटाएर नेपालले नक्सा परिवर्तन गर्न लाग्यो भन्ने अपुष्ट सूचना प्राप्त भयो । कतिपय मिचिएका नेपालका भूभाग दुरुस्त राख्न सरकार अग्रसर भएको हुनुपर्छ भन्ने साधारण सोच गरियो । त्यतिले मन मानेन अनि त सम्बन्धित निकायलाई भेटेर नेपालले नक्सा परिवर्तन गर्न लागेको हो ? भनेर बुझ्न खोज्दा होइन भन्ने जवाफ आयो । मन अझै मानेन, बतास नचली पात हल्लिँदैन भन्ने छ । पछि कालापानी क्षेत्रको निश्चित रेखांकन गरेर नेपालको नक्सा दुरुस्त पार्ने कि भन्ने छलफल भएको विश्लेषण देखाप¥यो । नेपालको तर्फबाट हुन सक्ने सम्भावना कसै गर्दा निस्कन सकेन । नेपालपछि ह¥यो । पछि नहटेको भए दुवै देशको नक्सा एकै मितिमा प्रकाशित हुनेवाला थिए । यहीबीच छिमेकी भारतबाट ‘रअ’का प्रमुख समन्तकुमार गोयल गुपचुप नेपाल आए । सकेसम्म नेपाल सरकारले गोप्य राख्न खोजेको उनको नेपाल भ्रमण झन् बढी हल्ला भयो । भ्रमणको उद्देश्य भने केही समयसम्म गोप्य नै रह्यो । गोयल फिर्ता भएको केही दिनमै फेरि भारतका विदेशमन्त्री एस जयशंखरको नेपाल आगमन भयो उही गोप्य शैलीमा । जयशंखरजी छुट्टै प्लेनमा एक्लै आएर लगभग ४ घण्टा जतिमा यहाँका नेतालाई भेटेर उतिन्खेर भारत फिर्ता भए । गोप्य र गुपचुपमा रहेका दुवै भ्रमण नेपालमा बढी चर्चित बने तर वास्तविकता भने कार्तिक १५ गतेसम्म गोप्य र गुपचुपमै रह्यो । कार्तिक १६ गते भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो राजनीतिक नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक ग¥यो । नेपाल सरकारको गोप्यता त्यतिबेला खुल्यो ।

नेपालका नेता १ इन्च भूभाग पनि अरूको नलिने र आफ्नो पनि नदिने उद्घोष गर्न थाले । साता दिन यसैगरी चल्यो । कार्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभयो । बैठकमा सबै दलका शीर्ष नेताहरू एकमत भए । कूटनीतिक तरिकाले समाधान गर्न निर्णय भयो । राप्रपाका कमल थापाले भने सचिवस्तरीय बैठकबाट समाधान निकाल्न सुझाए । यसको भोलिपल्टै भारतले सचिव स्तरीय बैठक बस्ने झल्को दियो । थापाको सुझावप्रति भारतको तदारुकताले के सन्देश दिन्छ ? त्यो भने थापालाई नै थाहा होला । यसै क्रममा कार्तिक २८ गते प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेष दूत बनाएर वार्ता गर्न पठाउने कुरा भयो । सीमाविद्सँग नेपालको छलफल हुन थाल्यो । यतिमै यो कुरा पनि हरायो । त्यतिखेरै नेपालका तर्फबाट पठाएको कूटनीतिक नोटको जवाफ भारतबाट मंसिर ४ गते आएको भने पनि सार्वजनिक गरिएको छैन । भारतका विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पत्रकार सम्मेलन गर्दै कालापनीको दाबी छाडेका छैनन् । यता प्रधानमन्त्रीका विदेश विभाग प्रमुख भने भारत र चीनको सीमा विवादको उदाहरण दिँदै ध्यान अन्यत्रै मोड्न लागिपरेका छन् ।

नेताहरूले एक इन्च भूभाग पनि कसैलाई नदिने कुरा गर्न थालेपछि अनेरास्ववियूले पूर्वको सन्दकपुरमा रहेका भारतीय सुरक्षाकर्मी लखेट्दै नेपालको झन्डा गाडे । नेपालका सहरमा नेविसंघलगायतका विद्यार्थीले विरोध गर्न थाले । भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन थाले । विद्यालयका ससाना बालबालिका पनि सडकमा ओर्लिए । प्रहरी दमनमा साना बालबालिकामाथि पनि लाठी बर्साइयो । आफ्नो भूभाग अरूले खोसेको देखेर आवाज उठाउनेप्रति सरकारी दमनलाई कसरी सम्बोधन गर्ने ? संयुक्त रूपमा विद्यार्थीले गरेको यस्तो विरोधप्रति नागरिकको समर्थन जाग्न थाल्यो । विदेश र स्वदेशमा एक हप्ता विरोध चल्यो ।

नेपालको वातावरण शान्ति भएको जाति हो । तर, कृत्रिम शान्ति देखाउन खोज्नु राम्रो होइन, सरकारले चाहेको शान्ति स्थायी शान्ति होइन । कालापानीको विषय पारदर्शी ढंगबाट जबसम्म आउँदैन तबसम्म शान्ति हुँदैन । यो ह्वीप जारी गरेको र ६०-४० को भागबन्डाजस्तो पनि होइन । कालापानी क्षेत्र नेपालको भूभाग होइन भने सरकारले होइन भन्नुपर्छ हो भने फिर्ता गर्न थाल्नुपर्छ ।

भारतको पनि आफ्नो प्रमाण होला । दुवै देशले आआफ्नो प्रमाण दुरुस्त राखेर छलफल गर्न पर्ने नागरिकको भनाइ छ । सरकारलाई प्रर्याप्त प्रमाणको खाँचो भए नागरिकले नै त्यसको बन्दोबस्त गरिदएका छन् । श्याम श्रेष्ठको संयोजकत्वमा धेरै विद्वान रहेको समितिले आफ्नै खर्चमा बेलायत गएर नेपालको नक्सा ल्याएका छन् । सीमाविद् बुद्धिनारायण र वरिष्ठ पत्रकार भैरव रिसाललगायतले आफूसँगको प्रमाण नेपाल सरकारलाई बुझाएका छन् । सम्पूर्ण प्रमाणले कालापानीका लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको देखाउँदा पनि सरकार तातेको छैन । त्यसबाहेक सीमा क्षेत्रहरू भारततिर गाभिँदै गएको कुरा त उठेकै छैन । नेपालको ६१ हजार हेक्टर भूभाग भारततर्फ मिचिँदा पनि नेपाल सरकार मौन छ ।

सरकार र नेताहरू भारतले छलफल गर्न बोलाओस् जस्तो गरेर बसेका छन् । भारतले छलफल र वार्ता किन गर्छ ? नेपाल नै अग्रसर हुँदैन, उसलाई केको खाँचो ? नेपाल भारतको सीमा विवाद र कालापानी हडप्ने खेल समाधान गर्न आपस्तले नभ्याए अन्यत्र जाने ठाउँ पनि छन् । सरकार नतातिएमा नागरिक नै त्यसको खोजीमा अग्रसर हुनेछन् ।

नेपाल भारत सम्बन्ध आदिमकालदेखिको हो र अनन्तकालसम्म दिगो र सुमधुर रहोस् भन्ने छ । त्यसैले त्याहाँका प्रधानमन्त्री मोदीजीलाई नेपालका जनताले छुट्टै ढंगले स्वागत र सद्भाव राख्ने गर्छन् । मोदीजी नेपाल आउँदा यहाँका नागरिकसँग झुम्मिएर हात मिलाउँदै हिँड्दा उनको उचाइ सगरमाथा जत्तिकै पाइन्थ्यो । त्यतिबेला नेपाली नागरिकतर्फ बढेको उनको हात अहिले कालापानी क्षेत्रको अक्कडमा अड्किएको छ । नेपालमा कुनै बेला राष्ट्रवादी बनेर कहलिएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद पनि लिम्पियाधुराको पानीले पखालिन थालेको छ ।

अन्य नेपाली नेता यस विषयमा जति नै ठूला कुरा गरेर खरो उत्रिएको भान पार्न खोजे पनि त्यही सीमाको महाकाली पानीमा बग्दै छन् । नेताहरू किन यसरी चिप्लिन्छन् ? किन बग्छन् ? अनायास किन ढाक छोप गर्छन् र किन प्रस्ट छैनन् ? आजको लोकतन्त्रको खोजी नै यही हो । नेपालको विशेषता यसैमा अडेको छ ।

The post कालापानीमा ठोकिएको राष्ट्रवाद appeared first on Rajdhani Daily News.

फेवा नव वर्ष महोत्सवमा ३० प्रतिशत छुट हुने

Previous articleभारतीय आर्थिक परिदृश्यमा नेपाल
Next articleप्रधानमन्त्रीको परीक्षा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।