मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड एक्सप्रेसले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बैंकिङ तथा लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, मेगा बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर सन्दिपबाबु पौडेल, सनराइज बैंक लिमिटेडका निर्देशक शैलेन्द्र गुरागाईं, माछापुछ्रे बैंक लिमिटेडका निर्देशक गोपी कृष्ण न्यौपाने र कुबोत अष्ट्रेलियाकी अप्रेसन म्यानेजर सुभी पाण्डेलगायत नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।
कोबर्ग मिटिङ हलमा सम्पन्न कार्यक्रममा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालले नेपाली बैंकरहरुलाई लिडरसिप डेभलपमेन्ट सम्बन्धि तालिम दिएको उल्लेख गर्दै उक्त तालिमको बारेमा विस्तृत जानकारी दिए । उनले आफूहरुको भ्रमण फलदायी बनाइदिएकोमा भिक्टोरिया युनिभर्सिटी , महावाणिज्यदुतको कार्यालय, वेस्टप्याक बैंकिंग कर्पोरेसन र मेलबर्न माइन्ड एक्सप्रेस टिमप्रति धन्यवाद ज्ञापन समेत गरे ।
कार्यक्रममा बोल्दै कुबोत अष्ट्रेलियाकी अप्रेसन म्यानेजर सुभी पाण्डेले अष्ट्रेलियामा नेपाली मुलका व्यक्तिहरुले बिजनेस सुरु गर्दा राम्रोसँग अध्ययन गरेर र आवश्यक तयारी गरेर मात्र सुरु गर्न सुझाव दिए । पहिलो पटक सार्वजनिक अन्तरक्रिया कार्यक्रममा सहभागी तर नेपाली समुदायले गर्व गर्ने स्थानसम्म पुगेकी पाण्डेले उपस्थित पत्रकार, उद्धमी, समुदायका अगुवा व्यक्तिहरुलगायत सबैको प्रश्नलाई सम्बोधन गरी सम्बन्धित जिज्ञासा मेटाई दिएकी थिइन् ।
मेगा बैंकका सीएफओ सन्दिप बाबु पौडेलले नेपाली बैंकहरुको सेवालाई अष्ट्रेलियामा र समग्र विश्व बजारमा विस्तार गर्ने आफ्नो सपना र विचारलाई प्रस्तुत गर्दै छलफल अगाडी बढाएका थिए । त्यस्तै, सनराइज बैंकका निर्देशक शैलेन्द्र गुरागाईं र माछापुछ्रे बैंकका निर्देशक गोपीकृष्ण न्यौपानेले एनआरएनए र विदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी नीतिहरु बनाउनको लागि नेपाली बैंकिंग उद्योगले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पहल गरिरहेको जानकारी दिए ।
एनआरएनए अष्ट्रेलियाका केशव कंडेलले कार्यक्रममा विदेशी लगानीकर्तालाई फिक्स्ड डिपोजिटमा प्रदान गरिने व्याजदर, नेपाली बजारमा लगानी र रेमिट्यान्सको सुरक्षा लगायतका गम्भीर विषयहरु उठान गरेका थिए । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले अन्तरक्रिया कार्यक्रमबाट आएका कुराहरुलाई आफूले नेपाली बैंकिंग उद्योग र नीति निर्माताहरुसम्म पु¥र्याउने प्रतिबद्धता व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रमसँगै बैंकरहरुको टोलिले वेस्टप्याक बैंकिंगको स्टेट हेडक्वाटर भ्रमण गरेको थियो । टोलीले वेस्टप्याक बैंकिंगको माइग्रेन्ट बैंकिंग डिपार्टमेन्ट र अन्य विज्ञहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त ग-यो । वेस्टप्याकका अधिकारिहरुले त्यहाँको सेवाको बारेमा विस्तृत जानकारी दिंदै नेपाली समुदायको समृद्धिको लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका थिए ।
The post मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया appeared first on Rajdhani Daily News.