सडकबाट उद्धार गरिएका ७ सय ४९ मध्ये ५ सय ८८ जनाको पारिवारिक पुनर्मिलन, ७ को मृत्यु

काठमाडौंमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्।

सडकलाई बेसहारा, अभिभावनबिहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको संयोजक एवं महानगरका प्रमुख शाक्यले सोमबार बसेको मुल बैठकमा बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र जेष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानव अधिकारका सवालमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनु पर्ने बताएका हुन्।

‘जसको कोही छैन । केही छैन । यसको गाँस बास र कपासका लागि खर्च दिन महानगर तयार छ’, प्रमुख शाक्यले थप्दै भने, ‘हामीले व्यक्तिलाई समस्यामा पार्न खोजेका होइनौँ। बस्ने घर हुँदा हुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सृजना कसैले नगरुन् भन्ने हाम्रो ध्येय हो। हामीले यो अभियान चलाइरहँदा अधिकारको कुरा उठेको छ । यसका बिषयमा पनि छलफल गरौं।’

त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अभियानको दिगोपनाका ख्याल पु¥याउनु पर्ने धारणा राखिन्। बैठकमा बोल्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले मन्दिरको बाहिर बसेर माग्नेहरुलाई व्यवस्थापन गर्नुपर्ने बताए।

त्यस क्रममा समितिका सदस्य सचिव एवम् सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले, सडकमा बेसहारा भन्दा मादक पदार्थ र लागु औषध दुव्र्यसन गर्ने व्यक्ति धेरै रहेको उल्लेख गरे। सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले गाडी रोकिएका बेला माग्न आउनेलाई नियन्त्रण गर्न जरुरी भएको बताइन्। त्यस्तै भरियाहरुको चहलपहल हुने ठाउँको बिहान ४ बजेदेखि नै भट्टी पसल खोल्न रोक्नुपर्ने उनको भनाइ थियो।

 ७४९ जनाकाे उद्धार
बैठकमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मंसिर २९ गते सुरु भएको अभियानदेखि फागुन ११ गतेसम्मको प्रगति प्रस्तुत गर्दै यस अवधिमा ७४९ जना व्यक्तिलाई उद्धार गरिएको बताए। यीमध्ये ६९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो ।

यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन । उद्धार गरिएकामध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले  ७० जनाको स्क्रिनिङ् हुन बाँकी रहेकाे बताए । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको छ ।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरीकन स्क्रिनिङ् सेन्टरमा कम्तीमा ५ दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिहरुमा १६ बर्षमाथि ४० बर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् । तीमध्ये पनि रक्सी र लागू औषधको प्रयोगकर्ता धेरै छन् । भरियाहरु भएको ठाउँमा बिहान ४ नबज्दै भट्टी पसल खुल्ने भएकोले उनीहरुमा यसप्रकारको कुलत भएको बताइएको छ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले — ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पु¥याउन सक्ने धारणा राखे। शान्ति सुरक्षासँग सम्बन्धित काममा हामी साथमै छौं, बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले सहकार्यमा साथ रहेको बताए।

भरतपुरमा भिषण आगलागी, दुई वटा दमकल आईपुगे लाईभ भिडियो

Previous articleमेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया
Next articleसेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।