साइबर अपराध रोक

इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा साइबर अपराधजन्य घटनामा सोचेभन्दा बढी मानिसको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि साइबर अपराधसँग सम्बन्धित निकायमा चिन्ता छाएको छ । साइबर अपराधका विभिन्न पाटा र पक्ष हुने भएकाले ती सबैलाई के–कसरी नियन्त्रणमा लिने हो भन्ने चिन्ता बढेको देखिन्छ । साइबर अपराधजन्य घटनामा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिन आएकाले यो अझैं जटिल व्यापक हुँदै गएको पुष्टि हुन गएको छ । सम्बन्धित निकायले गरेको अध्ययन÷अनुसन्धान र ती निकायमा परेका उजुरीका संख्याका आधारमा बढ्दो साइबर अपराधलाई कसरी रोक्ने भन्ने समस्या जटिल बन्दै गएको देखिन्छ । नेट तथा इन्टरनेटको पहुँच सर्वसुलभ हुन थालेपछि यस्ता खाले अपराधमा बालबालिकादेखि वृद्धसम्म पनि संलग्न हुने र स्वार्थपूर्तिका लागि अनेकन उद्यम गर्ने गरिएको पाइनुले साइबर प्रयोगको दुरुपयोग हुँदै गएको छ । फेसबुक, भाइबर, इमो, युट्युब र ट्वीटर र इन्सटाग्राम अहिलेका चलनचल्तीका आममाध्यम बनिसकेका छन् । सञ्चारका यी माध्यम मायाप्रेम, सूचना, घृणा, रिस, आवेग आदिका साथै अपराधजन्य गतिविधिको माध्यम हुन पुगेका छन् । यस्ता घटनामा चिनजानका व्यक्ति र यी माध्यमबाट चिनजान र सम्बन्ध हुन पुगेका व्यक्ति अपराधजन्य गतिविधि संलग्न हुने गरेका छन् ।

नेपाल बन्द समाजको परिवेशबाट खुला समाजको परिवेशमा प्रवेश गरेको धेरै भएको छैन । २०४६ सालको जनआन्दोलनपछि राजनीतिक रूपमा खुला परिवेशमा प्रवेश गरेको नेपाल त्यसयता सांस्कृतिक तथा सूचना प्रविधिको हिसाबले पनि खुला हुँदै र उक्त परिवेशमा रमाउँदै आएको छ । बन्द हुँदा निकै बन्द हुने र खुला हुँदा स्वच्छन्दतामा रमाउन पुग्ने अतिखालको सोचले नेपाली समाजलाई नचिताएको साइबर क्राइमतिर धकेल्न खोजिरहेको पनि देखिन्छ । साइबरको प्रयोग अति आवश्यक छ किनकि, संसार हिजोको झैं बन्द रहन सम्भव नै छैन । विश्वव्यापीकरण छेकेर छेक्न सकिने कुरा पनि होइन । तर, यसलाई सन्तुलित रूपमा सञ्चालन र नियमन गर्नु जरुरी छ । डरलाग्दा कानुन निर्माण गरेर, दण्डसजायको हौवा देखाएर, दमनकारी नीति अख्तियार गरेर, डण्डा लगाएर वा त्रास सिर्जना गरेर यसलाई नियन्त्रण गर्न असम्भव छ । साइबर भनेको ज्ञानको पछिल्लो चरणमा विज्ञान तथा प्रविधिको अनुपम विकाससँगै प्राप्त भएको मानवजातिको बौद्धिक सम्पत्ति हो । त्यसैले, यसको सकारात्मक, सन्तुलित तथा मानवीय उपयोगका लागि त्यही उचाइको विकसित चेतनाको जागरण ल्याउनुपर्छ ।

साइबरको व्यापारीकरणसँगै यसले ल्याएको वस्तु वा उत्पादन बिकाउने तरिकासँग प्रयोगकर्ता जानकार रहनु जरुरी छ । यसबाट आफूहरूलाई आवश्यक पर्ने÷नपर्ने कुरा आफंैले छुट्याउन सक्नुपर्छ । यसका लागि साइबरसम्बन्धी न्यूनतम चेतना हुनु जरुरी छ । घरमा सामान्य अवस्थामा रहने आगो, हतियार, बिजुली आदिको प्रयोग कहाँ गर्ने र कहाँ नगर्ने भन्ने जत्तिको हेक्का मानिसले राख्छ, त्योभन्दा बढी हेक्का साइबर प्रयोगमा राख्न जरुरी छ । होइन भने प्रयोगकर्ता अनायासै आपराधिक मनोवृत्ति भएका तत्वसँग चिनजान गर्ने, नजिकिने, अश्लील क्रियाकलापमा संलग्न हुने, नांगा तस्बिर आदानप्रदान गर्ने, यसैबाट घुर्की, धम्की र आर्थिक बार्गेनिङ सुरु गर्ने, अश्लील तस्बिर परिवार तथा आफन्तलाई पठाइएर आतंक सिर्जना गर्ने र सार्वजनिक बेइज्जती गर्ने आदि क्रियाकलाप बढ्दै जाने देखिन्छ । साइबर सेवा नेपालमा विस्तार हुँदै गइरहेको परिप्रेक्ष्यमा यसका सकारात्मकता तथा नकारात्मकताका बारेमा देशव्यापी साइबर जागरण अभियान चलाएर अपराधलाई समयमै न्यूनीकरण गर्न र रोक्न चेतनाको अभिवृद्धि गर्नु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।

The post साइबर अपराध रोक appeared first on Rajdhani Daily News.

बिहेको पहिलो रातमा – भाग १

Previous articleचीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरसबिरुद्धको ‘भ्याक्सिन’
Next articleराष्ट्रिय गौरवका आयोजनाको स्थिति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।