![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/news-ad.jpg)
जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को तेस्रो च्याप्टर सम्मेलन ६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सकिएको छ ।
टोकियोको सिन्जुकुमा तीन दिनसम्म चलेको सम्मेलनले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको हो । सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरूलाई पनि निकास दिइएको छ ।
सम्मेलनमा ९ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका चर्चित साहित्यकारहरूको उपस्थिति थियो ।
केन्द्रीय कार्यसमितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्वअध्यक्ष दीप पाठक थिए ।
पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर (२०१७-२०१९) लाई संसारभरिका च्याप्टरहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो ।
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2025/01/ward-15-ads-11.jpg)
जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गरेकी थिइन् ।
प्रमुख अतिथि राजदूत राणाले विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यस कार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको बताइन् ।
कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले सङ्गठित गरेकोमा हर्ष प्रकट गरेका थए ।
एनआरएनए आईसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरूको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताए ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालले कार्यपत्र र ५० भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । यस्तै दर्जन बढि पुस्तकहरु विमोचन गरिएको थियो ।
पौड्यालले प्रस्तुत गरेको कार्यपत्रलाई नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए ।
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2025/01/HPV-Khop-Ads-Ratnanagar.jpg)