काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र बहस भइरहने बताएकाछन् ।
नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले त्यस्ता विवाद, बहस र सङ्घर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताए ।
“हामी कतिपयलाई लाग्छ नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, सबै मिलेर एकजुट भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ”, पार्टीको विचार सङ्घर्षप्रति इङ्कित गर्दै उनले भने, “ तर जुन दिन यो साँच्चै शान्त, एकजुट र विवादरहित साँच्चै त्यस्तै भएदेखि यो पार्टी चाँहिदैन ।
पार्टीमा विवारहित हुने दिन साम्यवाद आएपछि मात्रै हुने उनले बताए ।
पार्टी एकतामार्फत जनताका आशा र अपेक्षालाई नयाँ उचाइमा उठाइएको जिकिर गर्दै अध्यक्ष दाहालले जनताको अपेक्षामाथि तुसारापात हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।
कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीको पानी जस्तो नभएको टिप्पणी गर्दै उनले नेकपा गड्गडाउने खोला जस्तो ठोक्किँदै, भत्काउँदै साम्यवादतिर लम्कने पार्टी भएको बताए ।
विचार, विधि र नेतृत्वको सम्मिलनबाटै पार्टी एकता सम्भव भएको उल्लेख गर्दै पार्टी एकताले नेपालको राजनीतिक मार्गचित्र बदलेको बताए ।
पाटीभित्रको बहसबारे सञ्चार माध्याममा आएको कुरालाई विश्वास नगर्न अनुरोध गर्दै अध्यक्ष दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
“दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईंहरुनै तर्सने जसरी । तर, विवाद समाधान गरेका त छौँ”, उनले भने ।
अध्यक्ष दाहालले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने प्रतिबद्धता पनि व्यक्त गरे ।
The post साम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड appeared first on Koshi Online.
खुशीको खबर: चितवनका युवाले बनाए इलेक्ट्रिकल कार, १ पटक चार्ज गर्दा १२० किमी गुड्ने


