सर्पदंश उपचार केन्द्रको अनुगमन

0
74

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा निर्माणाधिन सर्पदंश उपचार केन्द्रको सरोकारवाला निकायहरुद्वारा संयुक्त अनुगमन गरिएको छ । यूएनडीपी र क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक र प्राविधिक, नेपाली सेनाको मानवीय सहयोगमा सिआईसी जनकपुरधामदारा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको भवन निर्माण कार्य करीब ८० प्रतिशत सम्पन्न भइसकेको र उपचारसहितका प्रविधि सामाग्री खरीदका लागि टेण्डर भइसकेको अनुगमनको क्रममा सिआईसीका संजय साहले जानकारी गराएका छन् ।

दुई करोड ५९ लाख भन्दा बढीको लागतमा निर्माण भइरहेको सो उपचार केन्द्र परियोजना निर्माणका लागि यूएनडीपीले एक करोड, ५३ लाख ८६ हजार र नगरपालिकाले ९६ लाख ४५ हजार रुपैया आर्थिक सहयोग गरेका छन । भौतिक निर्माण पश्चात संचालनका लागि शुरुमा नगरपालिकाले १५ लाख रुपैयाँ दिने छ भने प्रत्येक वर्ष १० लाखको दरले रकम उपलब्ध गराउने छ ।

क्षीरेश्वरनाथको सखुवा महेन्द्रनगर स्थित नेपाली सेनाको कैम्पमा रहेको सो उपचार केन्द्रमा नेपाली सेनाकै चिकित्सकद्वारा सर्पदंश प्रभावितहरुलाई उपचार गरिने र त्यसैको रेखदेखमा रहने बताइएको छ । सर्पदंश उपचार केन्द्रको अनुगमनको क्रममा धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भेन्टीलेटर र आईसीयूको सुविधा समेत राख्न सुझाव दिए ।

सो अस्पतालमा अनुसन्धानको रुपमा रहेका मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले धनुषामा सर्पदंशको वर्तमान अवस्था बारे तथ्यांकसहित जानकारी गराएका थिए । क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले चैतसम्म भौतिक पुर्वाधारदेखि प्राविधिकसम्मको सबै कार्य सम्पन्न गरेर बैशाखदेखि संचालनमा ल्याउने जानकारी दिए । जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाले अनुगमनको प्रतिवेदनमा परियोजनाको सम्पूर्ण जानकारी सहितका पुस्तिका तयार पारेर सम्बन्धित निकाय र जिससमा समेत पठाउन सुझाव दिएका थिए ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला समन्वय समितिका पदाधिकारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, नेपाली सेनाका कर्णेल अन्जन रुपाखेती, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, गैसस प्रदेश २ का धिरेन्द्र सिंह र पत्रकारसहित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

धनुषा जिल्ला सहित छिमेकी जिल्लाका सर्पदंश प्रभावित व्यक्तिहरुको उपचार र अनुसन्धान केन्द्रको रुपमा निर्माण भइरहेको सो उपचार केन्द्रको निर्माण अवधि मार्च २०२० सम्म रहेको छ । निर्माण पश्चात पुर्ण व्यवस्थापन भइसकेपछि स्थानीयको सहभागितामा गठित व्यवस्थापन समितिद्वारा संचालनमा ल्याइने जानकारी गराइयो ।

२० शैय्याको सो अस्पताल मार्च महिनादेखि संचालनमा आउने छ । अपांग मैत्री र बाल मैत्री रहेको सो अस्पतालमा १२ शैय्या महिला र ८ शैय्या पुरुषका लागि राखिएको छ । नेपाली सेनाका चिकित्सकले सो अस्पतालमा सेवा प्रदान गर्नेछन् । गत ५ महिनामा प्रादेशिक अस्पताल जनकपुरधाममा ५ सय ७५, महोत्तरीको गौरिवास उपचार केन्द्रमा १४ र सिरहाको बन्दीपुर उपचार केन्द्रमा २ सय ९१ जना सर्पदंशका रोगीले उपचार गराएका छन् ।

सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले वर्षातको बेला महोत्तरीको बर्दिवासमा एक दिनमा ४० जनासम्म विरामी आउने गर्छन् । अस्पतालमा भन्दा अहिले पनि झारफुक तर्फ जानेको संख्या बढी रहेको चिकित्सकहरु बताउँछन् । प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. केडि दासले सर्प टोक्ने वित्तिकै अस्पतालमा आउँदा समस्या हुँदैन तर झारफुकमै बढी समय नष्ट गरेका कारण बढी व्यक्तिको मृत्यु हुने गरेको बताए ।

करिब ९० प्रतिशत सर्पदंश विषालु सर्पले गरेको हुँदैन । बाँकी १० प्रतिशत विषालु सर्पले टोकेपनि आफ्नो विष मानिसको शरिरमा छोडेको हुँदैन जनकपुरधाम क्षेत्रका बरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले बताए । सर्पदंश पछि विषले भन्दा पनि आत्तिएर मानिसको मृत्यु हुने गरेको उनको दाबी रहेको छ । सर्पदंश पछि विष नै लाग्ने सम्भावना न्यून हुने भएकाले आत्मविश्वास कायम राख्दै तुरुन्त अस्पताल पुग्नु पर्ने सर्पका जानकार देवनारायण मण्डलले बताए ।

The post सर्पदंश उपचार केन्द्रको अनुगमन appeared first on Rajdhani Daily News.

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट  

Previous articleमदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो
Next articleमलेसियाविरुद्ध लगातार दुई विकेट लिदैँ सन्दीपले हासिल गरे ऐतिहासिक उपलब्धि