संसदमा कोरम नपुग्दा कानुन निर्माणमा ढिलाइ

0
55

काठमाडौं । प्रतिनिधिसभा बैठकमा हाजिर गरेर भाग्ने सांसदको संख्या बढ्दा कानुन निर्माणमा ढिलाइ भएको छ । ढिलो गरी सुरु भएको विधान अधिवेशनका रूपमा रहेको संघीय संसद्को पाँचौं अधिवेशन कोरम नपुग्दा लगातार दुईपटक प्रभावित बनेको छ ।

सभामुखको राजीनामापछि नयाँ सभामुख चयनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ढिलाइ गर्दा अधिवेशन सुरु भएको एक महिनासम्म पनि सदन सञ्चालन हुन सकेन । बैठकको सुरुमा हाजिर गर्न सांसदहरू उपस्थित भए पनि शून्य समय र विशेष समय सकिँदासम्ममा बाहिरिने गरेकाले कानुन निर्माणलगायत कार्यसूची प्रभावित हुन थालेका छन् ।

आइतबार दिउँसो १ बजे सुरु भएको बैठकमा पनि सांसदहरू हाजिर गरेर बाहिर निस्किए । सुरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल र झलनाथ खनाललगायत नेताहरू पनि उपस्थित थिए । केही बेरपछि उनीहरूसमेत बैठक कक्षबाट बाहिरिएका थिए ।

शीर्ष नेताहरूलाई अन्य कार्यभार पनि हुने भएकाले संसद्मा यसलाई स्वाभाविक मानिन्छ । तर, बैठक सुरु भएको केही समयपछि अरू सांसद नि निस्किने गरेको पाइएको छ । सांसदहरू निस्किँदै जाँदा संसद्को एक चौथाइ संख्या पुग्न नै सकेन । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा कोरम पुग्न ७९ जना उपस्थित हुनुपर्छ । आइतबार कोरम पुग्न नसक्दा प्रतिनिधिसभाकको कार्यसूचीमा रहेका विषय स्थगित भए ।

यसअघि १५ गतेको बैठकमा समेत संसद्मा कोरम नपुग्दा बैठक स्थगित गर्नुपरेको थियो । आइतबार जब सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे, तब प्रतिपक्ष दल कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले संसद्मा कोरम नपुग्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले चारैतिर आँखा डुलाए । तर, हल खाली–खाली थियो ।

सभामा उपस्थिति कम देखेपछि मुसुक्क हाँसेर सभामुखले नियमबमोजिम तीन मिनेटसम्म घन्टी बजाउन लगाएर सांसदको खोजी गरे । सांसदहरू खाजा खान वा शौचालय गएको अनुमानमा तीन मिनेट घन्टी बजाएर सभामा उपस्थित हुन आह्वान गर्ने चलन छ ।

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव वा प्रश्न निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । तीन मिनेट घन्टी बज्दा पनि बैठक कक्षमा सांसद नथपिएपछि बाध्य भएर सभामुले भने, ‘तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गरें । तर, यकिन गरेर गन्दा थाहा भयो, जम्मा ५४ सदस्य मात्रै बैठकमा देखिए ।’

यसपछि सभामुख सापकोटाले उक्त प्रस्ताव मात्रै होइन, आइतबारको कार्यसूचीका बाँकी कारबाहीसमेत स्थगित गरे । गत १५ फागुनको बैठकमा पनि सभामुखले कार्यसूचीका बाँकी काम स्थगित गर्न बाध्य हुनुपरेको थियो । संघ प्रदेश अन्तरसम्बन्ध विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले धारा ९४ आकर्षित गर्न आग्रह गरेका थिए ।

हाजिर गरेर टाप कस्ने सत्तापक्षकै सांसदमाथि उनले व्यंग्यसमेत गरे, ‘प्रतिपक्षीलाई गाली गर्ने बेला त सत्तापक्षका साथीहरू टन्न देखेको थिएँ ।’ अदालतको मुद्दालाई समेत प्रभावित पार्ने बेला सांसद देखिएको तर कानुन निर्माणजस्तो महत्वपूर्ण कामको बेला हराएको कांग्रेस सांसद तिमिल्सिनाले बताएका थिए ।

बिहीबार र आइतबार विशेष समयपछि बैठक स्थगित गरियो । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण हो । संविधानसँग तालमेल मिलाउन सबै कानुन संशोधन गर्नुपर्नेछ भने कतिपय संघीयता र मौलिक हकसँग जोडिएका नयाँ कानुनसमेत निर्माण गर्नुपर्नेछ । तर, सांसद भने कानुन बनाउनेभन्दा पनि हाजिर पकाउनेतर्फ केन्द्रित भएको देखियो ।

The post संसदमा कोरम नपुग्दा कानुन निर्माणमा ढिलाइ appeared first on Rajdhani Daily News.

https://www.ujyaalonepalnews.com/archives/4662

Previous articleटोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु
Next articleमन्त्री अर्यालकाे नेतृत्वमा सार्बजनिक जग्गामा बनाइएका ३० घर टहरा भत्काइए