हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गरेको शुभकामनामा सन्देशमा उनले आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सने जगमगाएको उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले सन्देशमा देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई घेराबन्दी गरेर राजनीतिक दाउपेच र षड्यन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो’, सन्देशमा भनिएको छ ।
सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल सुखी नेपाली महाअभियानका स्वप्नद्रष्टा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा यही बुधबार दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
‘नेपाली जनतामा आशाका किरणहरु जागृत गराउने राष्ट्रनायक क। ओलीकै नेतृत्वमा देशले स्थायित्व पाएको छ । उहाँकै नेतृत्वकालमा साना साना समूहमा छरिएर रहेका कम्युनिष्ट मत एकीकृत बनेर देशकै ठूलो शक्तिका रूपमा उदाएको छ । लामो समयदेखि मुर्छित झैँ भएका नेपाली जनताका सपनाले जगमगाउने अवसर पाएका छन् । सुषुप्त अवस्थामा रहेको नेपाली जनताका समृद्धिका सपनाहरू जागेका छन्, आशाका किरणहरू उदाएका छन्,’ सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, ‘ओलीकै दूरदृष्टि सहितका योजनाको कार्यान्वयनको शुरुआती नतिजाले समृद्धिको यात्रा तय गराइसकेको आभाष मिलेको छ । देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ । आयात घटेको छ, निर्यात बढेको छ । स्वदेशी उत्पादनहरुको वृद्धि भएको छ । देशलाई फेरि पनि दलदलमा फसाएर आफ्ना स्वार्थ पूरा गर्न खोज्नेहरुप्रति नेपाली नागरिकको खबरदारी आवश्यक छ । देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने हुन्छ । राजनीतिक दाउपेच र षडयन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो ।’
The post नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल appeared first on Rajdhani Daily News.


