
आज (मंगलबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिम पहाडका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।
‘आज अपराह्नपछि मध्य र पूर्वी पहाडका आइसुलेटेड (निश्चित ठाउँ) वर्षा हुने सम्भावना छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘चट्याङ पर्ने सम्भावना पनि छ।’
महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ: पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।
तर आजलाई हावाहुरीको सम्भावना नरहेको उनले बताइन्। अहिले प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी र चट्याङको बढी सम्भावना रहेको मौसम हो।
‘आगामी तीन दिनलाई चट्याङ/वर्षाको सम्भावना देखिए पनि हावाहुरीको भने सम्भावना देखिन्न,’ मौसमविद् नगरकोटीले भनिन्।
काठमाडौं उपत्यकामा वर्षाको सम्भावना?
आज काठमाडौं उपत्यकाको मौसम पनि बदली हुनेछ।
अपराह्नपछि वर्षाको सम्भावना छ तर त्यो एकदमै कम रहेको मौसमविद् नगरकोटीको भनाइ छ।
‘उपत्यकामा पनि आइसुलेटेड (निश्चित ठाउँ) वर्षा हुन्छ कि जस्तो देखिएको छ,’ उनले भनिन्, ‘तर सम्भावना ज्यादै कम छ।’
तराईमा मौसम सफा
आज तराईमा भने मौसम सामान्यतया सफा रहनेछ।
https://ujyaalonepalnews.com/archives/4798


