सांसदको हदैसम्मको गैरजिम्मेवारी

0
67

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट कानुन बन्ने जस्तो महŒवपूर्ण कार्य नै प्रभावित हुन थालेका छन् । यसलाई विशेष सेवासुविधासहित जनताको काम गर्न भनी निर्वाचित भएका जनप्रतिनिधिको हदैसम्मको गैरजिम्मेवारीपनका रूपमा चर्चा गर्न थालिएको छ । जनताको काम गर्नका लागि पठाइएको जनप्रतिनिधि नै यसरी गैरजिम्मेवार हुँदै गएपछि सार्वभौम सत्ता अभ्यासको थलो संसद् दिन काट्ने र तलबभत्ता पचाउने विशिष्ट तर अत्यन्तै सजिलो जागिरमा परिणत हुन थालेको छ । त्यसो त बैठक सुरु हुनुअघि आउने र हाजिर गरेर टाप कसिहाल्ने वा एकैक्षणका लागि बैठकमा उपस्थित भइदिएर बैठक अवधिभित्रै बाहिरिएर बैठककक्ष नै खाली गरिदिने बानी सामान्य बनिसकेको छ । कार्यव्यस्तता र समयको अपुग आदिजस्ता कारण देखाउने सांसद अफिस टाइम र विशेष बैठक वा अधिवेशनमा त्यस्ता के कामका लागि व्यस्त हुन्छन् जब कि उनीहरूको मूल कर्मथलो नै संसद् र संसदीय बैठक वा अधिवेशन हो ।

पहिलो प्रश्न आउँछ सांसद किन आफ्नो कर्तव्यबाट यसरी विमुख हुन्छन् ? कर्तव्यच्यूत भएर वा व्यवस्थाप्रति नै अनास्था जागेर ? दोस्रो प्रश्न उठ्छ, संसद्मा जनचासो र जनसरोकारका साथै सिर्जनात्मक बहसका एजेन्डाको कार्यतालिका नभएर ? वा सभामुखको क्षमता र कर्यकुशलताको अभावले गर्दा ? वा बहसको गुन्जायस नै नभएको कहिंकतैबाट थोपरिएका एजेन्डा पारित गर्न ताली पिट्न मन नलागेर ? यी जेसुकै प्रश्न होऊन् तर संसद्लाई नेपालको वर्तमान संविधान तथा कानुनले सार्वभौम थलोका रूपमा परिभाषित गरेको छ । यहाँ गरिने सामान्यभन्दा सामान्य लाग्ने एजेन्डामाथिको छलफल र बहस देश र जनताका हित र अहितमा के छन् भन्ने कुराले ठूलो महŒव राख्ने गर्दछन् । तर, विडम्बना, सत्तापक्ष र प्रतिपक्षका मूल नेता नै संसद्भित्रका विशेष बैठकमा अनुपस्थित हुनुका कारण बैठकहरू स्थगित हुने र संसदीय गतिविधिका कार्यतालिका नै प्रभावित हुने गरिरहेका छन् । अनुपस्थितिको कुरा मात्र होइन, हाजिरी पुस्तिकामा हाजिर गरेर पनि अनुपस्थित हुनु झनै गम्भीर कुरा हो जब कि कार्य तालिकाका बारेमा सबै संसद्हरू पूर्वसुसूचित नै हुन्छन् ।

संसद्मा हाजिर गरेर बाहिरिने परिपाटीले गर्दा केही जरुरी महŒवका सार्वजनिक एजेन्डा छलफल गरी पारित गर्नका लागि संसद्को एक–चौथाइ संख्या पनि पुग्दैन । २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा कोरम पुग्न कम्तीमा ७९ जना जनप्रतिनिधिको उपस्थिति हुनु जरुरी हुन्छ । मिटिङको समयमा सांसद खाजा खान हिंड्ने, शौचालय जाने निहुँमा बाहिर निस्कने र व्यक्तिगत भेटघाटका लागि समय मिलाउने तथा आफ्नो कुनै टिप्पणी गर्ने वा विचार राख्ने पालो छैन भने अरूको सुन्नका लागि पनि धैर्य नगरिदिने वा चासो नराखिदिने भएकाले पनि संसद बैठक कक्ष खाली हुने गरेको देखिन्छ । तीन मिनेट निरन्तर घन्टी बजाएर सभामा उपस्थित हुन सांसदलाई आह्वान गर्ने चलन भए पनि संसद् हाताभित्र सांसद नहुने हुँदा कार्यतालिका निरन्तर प्रभावित हुँदै गएको देखिन्छ । कहिलेकाहीं त आगामी दिनका कार्यसूचीका कामकारबाही सभामुखले स्थगित गर्ने गरेका नजिर ताजै छन् । नीति निर्माणको थलोका रूपमा रहेको संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण हो, जहाँ संविधानसँग तालमेल मिलाउन कानुन संशोधनका साथै संघीयता कार्यान्वयनसँगै जोडिएर आउने कानुनी व्यवधानसमेत फुकाउन प्रायः नियमित बैठकको आवश्यकता देखिने गरेको छ । त्यसैले, सांसदको गैरजिम्मेवारीपन देश र जनताका लागि घातकसिद्ध हुने भएकाले सबै सांसद संवेदनशील बन्न जरुरी छ ।

The post सांसदको हदैसम्मको गैरजिम्मेवारी appeared first on Rajdhani Daily News.

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Previous articleवीउ विजन किनबेचमा ४६ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्धा
Next articleआवाज, अक्षर र लोकतन्त्र