आवाज, अक्षर र लोकतन्त्र

आधुनिक लोकतन्त्रको युगमा सत्ता र शक्तिमा बस्ने व्यक्तिमा आफूले अंगीकार गरेका नीति र व्यवहार मात्र ठीक र अरू सबै बेठीक भन्ने दम्भ आउनु दुर्भाग्य हो । थोरै राजनीतिक नेतामा मात्र समीक्षा, आलोचना एवं सुझावलाई ग्रहण गरी गल्ती सच्याउने चेत हुँदो रहेछ । कसैको आलोचना र टिकाटिप्पणी सहन गर्न नसक्ने, कसैलाई नगन्ने र अहंकारलाई नै अलंकार ठान्ने व्यक्ति शक्तिमा पुग्दाको तमासा नेपाली जनताले गजबले देख्न पाएका छन्, गर्नुपर्ने के हो र के गर्दै छु भन्ने छुट्याउन नसक्ने ‘याङ्लो’ व्यक्ति शासकीय प्रणालीको उच्च तहमा पुग्दाको रमिता झन् कति अवर्णनीय हुन्छ भन्ने कुरा नेपाली जनताले अलि पहिले नै थाह पाइसकेका थिए । सायद यही नै ‘नेपाली’ भएर जन्मनुको ‘मजा’ हो ।

सुविख्यात अंग्रेजी साहित्यकार जोन मिल्टनले भनेका थिए ‘मलाई अरू केही नदेऊ, किन्तु थाहा पाउने, मभित्रको चित्कार प्रकट गर्ने, अन्तरात्माको आवाजलाई पोख्ने र संवाद गर्ने अधिकार पाए पुग्छ ।’ विचार र अभिव्यक्तिको स्वतन्त्रता यस्तो कुरा भन्न या लेख्न पाइने अधिकार हो, जुन शक्तिमा बस्नेले कसैले नभनिदिए र नलेखिदिए हुन्थ्यो भन्ने कामना र अपेक्षा गरेका हुन्छन् । दार्शनिक सुकरातलाई थाह थियो– उनले जस्ता उपदेश युवालाई दिने गर्दथे, त्यो कानुनको खिलाफ थियो । तर, उनी अन्तरात्माको आवाजलाई दबाएर बस्न सकेनन् । बरु मर्न तयार भए, माफी मागेनन् । शुक्रराज शास्त्रीलाई सुकरातलाई जस्तै आरोप लागेको थियो । उनलाई भर्खरै शिक्षा पाएका नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाउने चेष्टा गरेको अभियोग लगाइयो । शुक्रराजले पनि माफी मागेनन्, बरु झुन्डिन राजी भए । निरंकुश सत्ताको आह्वान हो ‘तँ चुप लागेर बस्, म तँलाई जीवन दिन्छु ।’

लोकतन्त्रमा समेत शक्ति र सत्ताले उन्मादी र अहंकारी बनाउँछ । थोरै व्यक्ति मात्र यो उन्मादमाथि विजय प्राप्त गर्न सफल हुन्छन् । शोषण, अन्याय, विभेद र उत्पीडनविरुद्ध लडेर सारा यौवन बिताएका व्यक्ति समेत सत्ता र शक्तिमा पुगेपछि पुरानो छवी धान्न नसकी बुढेसकालमा पतन हुन पुग्दछन् । यस्ता व्यक्तिलाई आफ्नो क्रियाकलापप्रति गौरवको अनुभूति हुन्छ । यी आफ्नोे समस्त जीवनको कमाइ ध्वस्त पार्ने आत्मप्रवचक हुन् । तर, शक्ति र सत्ताले त्यतातर्फ सोच्न र विचार गर्न दिँदैन । ‘जे हुँदै छ सबका सब राम्रो हुँदै छ’ भन्दै उकास्ने सकुनी प्यारा हुन्छन् । तीतो सत्य बोल्ने, आलोचनाको आवाज मुखरित गर्ने र सुझाव एवं समीक्षाका अक्षर लेख्ने पराइ हुन्छन् । सच्चा बाटो देखाउने बितेको समयका सुखदुःखका मित्र बिराना हुन पुग्दछन् । आवाज र अक्षर डरलाग्दा हुन्छन् । बिर्सन खोजेको दुःखको समय सम्झाउने मित्र ‘सौता’जस्ता हुन्छन् । बुद्धिजीवी, लेखक र पत्रकार ‘माखाको पित्त जस्तो चित्त’ भएका भनी उल्ल्याइन्छन् । आफ्नोे अभिव्यक्ति महावाणी र अरूका अभिव्यक्ति झूठा बकवास हुन्छन् ।

कठोपनिषद्मा एउटा रोचक कथा छ । प्राचीन समयमा एकजना धनाढ्य व्यक्तिले ठूलो यज्ञ गरे । त्यो यज्ञमा आफ्नोे सर्वस्व दान गर्ने नियम थियो । यज्ञकर्ताको हृदय सफा थिएन । भित्री इरादा सर्वस्व दान गर्ने थिएन । केवल दुनियाँलाई देखाउने र नाम कमाउने उद्देश्य मात्र थियो । उनले थोत्रा एवं काम नलाग्ने सामग्रीका साथै वृद्ध, काना, लुलालंगडा, थारा र अर्धमृत गाई मात्र दान गरे । उनको छोरालाई पिताको त्यो तरिका मन परेन । विचरो केही भनोस्, बाबुको सामुन्ने बोल्ने र सुझाव दिने अधिकार थिएन । बाबुविरुद्ध आवाज निकाल्न र अक्षर कोर्न निषेध थियो ।

विचार अभिव्यक्त गर्ने स्वतन्त्रता थिएन । किन्तु केही पनि नबोली मौन बस्न अन्तरात्मात्माको चेतनाले मानेन । उसले डराइडराई भन्यो ‘हे पिता’ यो त सर्वस्व दान गर्ने यज्ञ हो, यसमा मेरो पनि दान गर्नुपर्छ । तपाईं मलाई कसको हातमा सुम्पँदै हुनुहुन्छ ?’ पिताले भने ‘अहो प्यारो पुत्र’ छोरालाई पनि कोही दान गरेर पठाउँछ ? म तिमीलाई दान गरेर पठाउने छैन ।’ तर, छोराले त्यही प्रश्न बारम्बार दोहो¥याउन थालेपछि धनाढ्य र शक्तिशाली पिता क्रोधित भए । उनको मुखबाट हठात् ‘म तँलाई यमराजको हातमा सुम्पेर पठाउँछु ’ भन्ने वाक्य निस्क्यो । शक्तिशाली व्यक्ति लोलुप, स्वार्थी, ढोंगी, दम्भी र आडम्बरी भयो भने त्यही पिता जस्तो बन्दछ । उसले जेजे कुरा गर्नेछु भनेर प्रण गरेर शक्ति प्राप्त गरेको हो, सबै सहजै बिर्सन्छ र मूल्यवान् कुरा आफैसँग राखेर थोत्रामोत्रा र बेकम्मा वस्तु मात्र बाँड्दछ । उसलाई प्रश्न मन पर्दैन, सुझावमा रुचि हुँदैन, बरु प्रश्नकर्ता झमेलामा पर्न सक्दछ ।

जस्तोसुकै शासनमा पनि सबैलाई सधंैभरि मूर्ख बनाएर राख्न सकिँदैन । समयले हिम्मतिला वीर जन्माएरै छाड्छ । कृष्णप्रसाद कोइरालाले तत्कालीन श्री ३ महाराजलाई गरीब भरियाको धुजाधुजा भएको टोपी पार्सल गरेर पठाउनुमा बडो व्यंग्यपूर्ण आवाज लुकेको थियो । यो हिम्मत गरेबापत उनले ठूलो मूल्य चुकाउनुप¥यो । आफ्नोे वैभवशाली जीवन र तत्कालीन परिस्थितिको सन्दर्भमा प्रतिष्ठा समेत गुमाएर परदेशमा निर्वासित हुनुप¥यो । चौतारिया बहादुर शाहले बालक राजा भतिजा रणबहादुर शाह सानो छँदा

‘इनफर्मल’ भाषामा विचार प्रकट गरेको र कथित ‘तीन सलाम’ नगरेबापत प्रताडित हुनु प¥यो । बालिग भएपछि राजा रणबहादुरले आफू सानै छँदा काकाले राजोचित सम्मान नगरी अनौपचारिक भाषा प्रयोग गरेको आरोप लगाउँदै अनेक कष्ट दिए ।

राणा परिवारकै बालकृष्ण शमशेर जबराले आफ्नोे विचारलाई साहित्यका माध्यमबाट अभिव्यक्त गरेका थिए । उनले एक ठाउँमा लेखेका छन् ‘एउटाको घर रिक्तिन्छ, अर्कोले घर भर्दछ, सप्रिँदैन यहाँ कोही नबिग्रेर अरू कुनै ।’ यो त्यस समयको सापेक्षतामा भयंकर क्रान्तिकारी अभिव्यक्ति थियो । तर, सायद त्यसमा कसैको छड्के नजर परेन । नत्र त सुब्बा कृष्णलालले ‘मकैको खेती’ मा राता टाउके र काला टाउके कीरा लेखेबापत कत्रो झमेला बेहोर्नु प¥यो । उदारवादी श्री ३ महाराज पद्मशमशेर राणाले टुँडिखेलको खरीबोटको चौतारीमा उपस्थित मानिससामु नेपाल सरकार वैधानिक कानुन सार्वजनिक गर्दा ‘म राष्ट्रको नोकर हुँ’ भनी अभिव्यक्ति दिएबापत भाइ भातिजाको कोपको सामना गर्नुप¥यो । उदारवादी बनेको आरोपमा राँची जानुप¥यो । शक्तिका प्रवल आकांक्षीलाई आफ्नोे व्यक्तिगत मानापमान र सत्तारोहणको चिन्ता त्यस बखत मात्र होइन, आधुनिक जमानामा पनि भइरहेको पाइन्छ ।

लेखक सत्ताका लागि स्थायी प्रतिपक्ष हो । लेखकले प्रायः सत्ताको प्रशंसा गर्दैन, वाहवाह गर्दैन । लेखक तीतो हुन्छ । बुझ्नेले यसलाई औषधिका रूपमा सहर्ष ग्रहण गर्दछन् । कतिलाई यी सवै कुरा फजुल लाग्दछन् । कति त क्रुद्ध नै बन्दछन् । लेखकीय प्रतिपक्ष प्रायः राष्ट्र र समाजको अभ्युदयकै पक्षमा हुन्छ । तर, गाह्रो छ । अहिले पनि कतिपय देशमा धेरै पत्रकार र लेखक विचार अभिव्यक्त गरेकै आधारमा सत्ताको कोपभागी भइरहेका छन् । कतिपय मारिएका छन् भने कति सारा जीवन लुकेर बिताउन अभिसप्त छन् । हालै मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित एक कार्यक्रममा मलिसा यारोभास्काय नाम गरेकी महिला पत्रकारले स्थानीय गभर्नरको कार्यशैलीको आलोचना गरेबापत जागिरबाट हात धुनुप¥यो ।
सौभाग्यवस हामी लोकतन्त्रमा छौं । नेपाली जनताले आज जुन विचार र अभिव्यक्तिको स्वतन्त्रता पाएका छन्, त्यो आजको संसारमा पनि धेरै मुलुकका जनताले पाएका छैनन् । आज मैले यो लेख लेखेर सबैका सामु पु¥याउन पाइरहँदा यस जगतका धेरै मानव त्यस्तो अधिकारबाट वञ्चित छन् । विचार र अभिव्यक्तिको मौका नपाएपछि बोल्नै परेन । बोल्नु नपरेपछि सोच्नु पनि परेन । सोच्नु नपरेपछि सत् र असत् छुट्याउनुपरेन । ज्ञान र प्रज्ञालाई उन्नत पार्नु पनि परेन । यस्तो परिस्थितिमा न साहित्य, न कला, न संगीत, न दर्शन, केही पनि चाहिएन । जर्ज बर्नार्ड शाको भनाइमा ‘यदि केही बोल्ने स्वतन्त्रता छैन भने मानिस मानिस रहँदैन, बली चढाउन लाँदै गरेको भेडाजस्तो हुन्छ ।’ अभिव्यक्ति स्वतन्त्रताको हनन्ले बोल्नेको हक मात्र खोस्दैन सुन्नेको हक समेत कुण्ठित हुन्छ । यसले गर्दा मानवीय स्वतन्त्रता र सम्मान समेत प्रताडित हुन्छ । हाम्रा लोकतान्त्रिक नेतामा यति चेत आइदिए कति सुन्दर देखिँदा हुन् ।

प्रत्येक नागरिकले प्राप्त गर्ने अधिकारले अरूको अधिकारको सिर्जना गर्दछ । नागरिकलाई जति अधिकार प्राप्त भयो त्यति नै मात्रामा राष्ट्र, समाज र समुदायप्रतिको कर्तव्य पनि बोध हुँदै जान्छ । मानवले स्वतन्त्रताको रक्षा गर्न सके स्वतन्त्रताले मानवको रक्षा गर्दछ । यसैगरी, लोकतन्त्रले आवाज र कलमको सम्मान गर्न सक्यो भने कलमले पनि लोकतन्त्रको रक्षा गर्दछ । लोकतन्त्रको रक्षा भयो भने मात्र वर्तमान शासक रक्षित हुन्छन् ।

लोकतन्त्रमा अति ठूलो बहुमत स्वयं बहुमत प्राप्त दल र लोकतन्त्रकै लागि समेत खतरामा परिणत हुन सक्दछ । विचारले नभई मिलेका नेताका बाहुल्य रहेको दल सामूहिक रूपमा सुन्दा र बाहिर शक्तिशाली देखिए तापनि भित्रभित्र खोक्रो हुन्छ । माथिल्लो स्तरका सबै नेता एक्ला र निरीह हुन्छन् । यस्तो परिस्थितिमा दलभित्रका शक्तिका आकांक्षी सलबलाइरहन्छन् । झन् त्यही बखतको सत्ता र शक्ति असहनशील एवं आत्मनिष्ठ भयो भने झन् गाह्रो पर्दछ । लोकतान्त्रिक तरिकाले शक्तिमा पुग्ने व्यक्ति या दलले ‘म नै सम्प्रभु हुँ’ भनेर हुंकार गर्न थाल्यो भने मुलुक नै कठिन अवस्थामा पुग्दछ । बरबादीका यात्री धेरै हुनुपर्दैन, एक÷दुईजना धुन्धुकारी नै काफी हुन्छन् ।

लोकतन्त्रमा अधिकार मात्र होइन कर्तव्यको पनि त्यत्ति नै महŒव हुन्छ । अर्को व्यक्तिको प्रतिष्ठा, गोपनीयता र अधिकारको सम्मान र सुरक्षा गर्नु प्रत्येक मानवको कर्तव्य हो । आफ्नोे अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन् नगर्नु, आफ्नोे प्रतिष्ठाको रक्षा गर्दा अरूको प्रतिष्ठामा आघात पुग्न नदिनु र कसैको व्यक्तिगत जीवन, पारिवारिक मामिला र गोपनीयता सम्बन्धमा प्रकाश पार्ने चेष्टा नगर्नु मानवोचित कर्तव्य हो । किन्तु अहिले समाजमा गालीगलोज र व्यक्तिगत निन्दामा रमाउने प्रवृत्ति हाबी भएको छ । व्यक्तिगत लान्छना र गिल्ला गरिएका विषयले सामाजिक सञ्जाल रंगिने गरेका छन् । हावादारी कुरा लेखेर वाहवाही लिने ‘कथित’ बुद्धिजीवीको कलमले उत्पादन गरेका अक्षर देख्दा दया लाग्छ ।

कुनै अधिकारीले गरेको सार्वजनिक कर्तव्यपालन सम्बन्धमा खोजखबर गर्नु, त्यसको आलोचना गर्नु र सुझाव दिनु ठीक हो । किन्तु, त्यसमा कस्ता शब्द कोरिन्छन् भन्ने कुरा झन् महŒवपूर्ण छ । महात्मा गान्धीले भनेका छन्– ‘तपाईं विनम्र तरिकाले संसारलाई हल्लाउन सक्नुहुन्छ ।’ अभिव्यक्ति स्वतन्त्रताको मूलमर्म भनेकै विचारमा निडरता र स्वभावमा विनम्रता हो । विचारको स्वतन्त्रता सधैं पूर्ण हुन्छ, किन्तु कहिल्यै पनि निरपेक्ष हुँदैन । अत्यन्तै शालीन र सभ्य भाषणमा पनि बडो सशक्त तरिकाले आलोचना गर्न सकिन्छ । अपाच्य गालीगलोजबाट भन्दा शालीन र नम्र शब्दले झन् भारी पुग्नेगरी निन्दा गर्न सकिन्छ ।

सरकार पनि सार्वभौम जनताले गर्ने आलोचना र सुझावबाट तर्सनु र विचलित हुनुहुँदैन । लोकतन्त्रमा सबैभन्दा ज्यादा सहनशील र ग्रहणशील हुनुपर्ने सरकार नै हो । सहनशील , धैर्यवान् र विनम्र सरकार नै लोकतन्त्रको सौन्दर्य हो । सरकार नागरिकको विचार र अभिव्यक्ति अधिकारको संरक्षक हो । लोकतन्त्रमा आवाज र अक्षरसँग डराउनु र त्यसप्रति असहनशील र आक्रामाक हुँदै अपाच्य शब्दमा उपहास गर्नु शोभनीय हुँदैन । सरकारले आफूलाई गरिएको चिप्लो र साखुल्ले हुने तारिफलाई बेवास्ता गरे पनि केही फरक पर्दैन ।

सरकारले आफूलाई गरिएको आलोचनामा सजग र सतर्क हुँदै त्यसका उचित र अनुचित पक्षलाई विश्लेषण र मनन गर्नु आवश्यक छ । सरकार र प्रमुख प्रतिपक्षी दल आलोचना र रुचिकर नलाग्ने कुराबाट कदापि तर्सिनु र उत्तेजित हुनुहुँदैन । भोल्टेयरले भनेका थिए– ‘मलाई तिमीले भनेको कुरा कत्ति पनि मन परेको छैन तर तिमीले यो भन्न पाउनुपर्छ भनी म जीवनभर संघर्ष गर्नेछु ।’

The post आवाज, अक्षर र लोकतन्त्र appeared first on Rajdhani Daily News.

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता

Previous articleसांसदको हदैसम्मको गैरजिम्मेवारी
Next articleकोरोनाको त्रास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।