सहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने

सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका खेलाडी सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ।

आहा–रारा गोल्डकपको आयोजक सहाराले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७६’ बाट सुजल श्रेष्ठलाई सम्मान गर्ने जानकारी दिएको हो।

श्रेष्ठलाई ३५ हजार रुपैयाँ, प्रमाण–पत्र र दोसल्लासहित सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका हुन्।

उनलाई प्रतियोगिताको उद्घाटनको अवसरमा सम्मान गर्ने क्लबले जनाएको छ। प्रतियोगिता आगामी बिहीबारदेखि सुरु हुनेछ। सहारा क्लबले दुई वर्ष अघिबाट राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीलाई सम्मान गर्न थालेको हो। सुजल सो सम्मान पाउने तेस्रो खेलाडी हुन्। यसअघि राष्ट्रिय टोलीका फरर्वड भरत खवास, गोलरक्षक किरण चेम्जोङलाई सम्मान गरिसकेको छ।

sujal shrestha 1

सुजलले सहारा क्लबाट सम्मानित हुन पाउनु आफ्ना लागि ठूलो खुसीको कुरा भएको बताए। उनले क्लबहरुले सकभर स्थानीय खेलाडीलाई नै सम्मान गर्ने प्रचलन सहारा क्लबले तोडेको बताए।

‘सहारा क्लवबाट सम्मानित हुनपाउनु मेरो लागि ठूलो खुसीको कुरा हो’, नेपालखबरसँग कुरा गर्दै सुजलले भने, ‘प्रायः क्लबले सम्मानका लागि आफ्नै क्षेत्रका खेलाडी छनोट गर्नछन् तर सहाराले ठाउँ नहेरी खेलका आधारमा सम्मान गर्छ, यो सकारात्मक कुरा हो।’

धनकुटाका सुजल सन् २०११ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। उनी एन्फा तेस्रो ब्याचका खेलाडी हुन्। घरेलु मैदानमा गत मंसिरमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा सुजलले नै राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।

सन् २०१० मा संकटा क्लबबाट खेल जीवन सुरु गरेका सुजल २०११ मा मनाङ–मस्र्याङदी क्लबमा आबद्ध भएका थिए। लामो समय मनाङ–मस्र्याङदीमा बिताएका उनी यो सिजनदेखि मछिन्द्र क्लवमा आबद्ध छन्।

रामकुमारीलाई प्रधानमन्त्री ओलीको एनिभर्सरी गिफ्ट, झाँक्री घरबाटै प,क्राउ

Previous articleआहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने
Next articleकोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।