जनकपुरधाम । धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीहरु, नागरिक समाज र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरुसँगको छलफल पश्चात् पुनः यस्तो निर्णय गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
शुक्रबार भएको छलफलमा कुनैपनि अवसरमा डीजेका साथै ठूलो आवाजमा ध्वनि निस्कने लाउड स्पिकर, दोहोरो अर्थ दिने गीत नबजाउनुका साथै कहिँकतै कुनै बहानामा अर्केष्ट्रा तथा नाचहरु समेत गर्न नपाइने निर्णय भएको कार्कीले जानकारी दिएका छन् । उनले निर्णयको उल्लंघन गरेको खण्डमा तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको बताए । समाजसेवी अमरचन्द्र अनिलले यसलाई कडाईका साथ अनुगमन गर्नुपर्ने सुझाब दिएका छन् ।
वैवाहिक कार्यक्रम, उत्सव, मेलाजस्ता कार्यक्रमहरुको मौकामा तराइमा डीजे, लाउडस्पिकरको प्रयोग हुँदै आइरहेको छ । अत्यधिक आवाज आउने गरी बजाइने यस्ता उपकरणका कारण छरछिमेकलाई समस्या हुनुका साथै शान्ति सुरक्षा कायम गर्न समेत कठिनाइ हुने प्रहरीको भनाइ छ । सांसद ईन्दू शर्मा समाजिक सञ्जालमा डिजे सम्बन्धमा लेख्छिन्, ‘म हिजो जनकपुरमा पारिवारिक वैवाहिक कार्यक्रममा सहभागी भएँ, त्यहाँ डिजे बाजाहरु अत्यधिक आवाजमा बजाइएको थियो । त्यो भन्दापनि यति गन्दा र भद्दा भोजपुरी गीत बजाइएको थियो जो परिवारको अगाडी सुन्न नसकिने र माहोल नै गन्दा बनाएको थियो ।’
यस्तो पावन नगरी मिथिलाधाममा विवाह वा कुनै उत्सवका कार्यक्रमहरुमा राम सीताका विवाह का मैथिली गीतहरु वा अरु सभ्य खालका गीतहरु बजाउदा मन कति आनन्दित हुन्थ्योहोला ! तसर्थ यस्ता समाजमा गन्दगी फैलाऊने खालका डिजे बाजा र भोजपुरी गीतहरुलाई तुरुन्त बन्द गराउनको लागि यहाँ का नागरिक समाज, स्थानीय सरकार , पुलिसप्रशासन र जनप्रतिनिधिहरुलाइ अनुरोध छ उनले अगाडि लेखेकी छिन । यसबाट सबै पीडित रहेको देखिएको छ ।
सरकारले २०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशन गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरेको थियो । सरकारले औद्योेगिक क्षेत्रमा दिनमा ७५ र रातमा ७० डिसेबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डिसेबल, सहरी आवास क्षेत्रमा ५५ र ५५ डिसेबल, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डिसेबल र शान्त क्षेत्रमा ५० र ४० डिसेबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरेको छ ।
विशेषज्ञका अनुसार ध्वनि प्रदूषणले उच्च रक्तचाप र तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निद्रा नलाग्नेजस्ता समस्या निम्त्याउँछ । ध्वनि प्रदूषणले हृदयाघात, पक्षघात, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर गर्ने स्वास्थ्यकर्मीको बताउँछन् । धनुषामा डिजेका कारण एकपटक गोलीपनि चलेको थियो ।
The post धनुषामा डीजे बाजा बजाउन रोक appeared first on Rajdhani Daily News.


