उज्यालो दर्पण- चितवनको कालिका नगरपालिकामा सहिद तथा वेपत्ताका परिवारका सदस्यहरुलाई एकदिने अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोग तथा सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनकाे आयाेजनामा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो ।
दुई सत्र गरि संचालन गरिएको सो कार्यक्रमको पहिलो सत्रमा माओवादी नेतृद्वय कञ्चन खनाल र संगिता भट्टराईले सहभागीहरुलाई अभुमुखीकरण गर्नुभएको थियो। सहभागीहरुलाई शहिदहरुकाे स्मरण र सम्मान गर्नुपर्ने, बाँचेका परिवारले अब समाजमा सामाजिकिकरण हुनुपर्ने, शहिद तथा वेपत्ताहरुकाे वलिदानकै कारण देशमा परिवर्तन आएको जस्ता विषयमा प्रकाश पारिएको प्रतिष्ठानकि अध्यक्ष संगिता भट्टराईले जानकारी दिनुभयो ।
सो सत्रमा ६० जना भन्दा बढीको सहभागिता थियो । यस्तै कार्यक्रमको दोश्रो सत्रमा सहिद तथा वेपत्ता परिवारका ३५ जनालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विनोद रेग्मीले उँहाहरुलाई सम्मानित गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेग्मीले सहिद तथा वेपत्ताका विपन्न परिवारलाई नगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा र एम्बुलेन्स सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विरेन्द्र तामाङ, वडा नं. ६ का वडाध्यक्ष टिकाराम रेग्मी, घाइतेअपांग संघ चितवनका अध्यक्ष कर्ण वहादुर आग्रि, शिक्षक प्रतिनिधि प्रअ मञ्जु सिम्खडा लगायतको उपस्थिति थियो ।
कार्यक्रम संयोजक सविता लामाको सभापतित्वमा भएको कार्यक्रम प्रतिष्ठानका सदस्य राजेन्द्रप्रसाद ढुङ्गानाले संचालन गर्नुभएको थियो ।

