उज्यालो दर्पण- पुर्वपश्चिम राजमार्गको हेटौडा चितवन खण्डमा पर्ने मनहरीपुलमा भएको सवारी दुर्घटनामा चितवनका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटोटोल बस्ने वर्ष ५२ का मिनबहादुर थापा छन् ।
सोमबार बिहान ०९:०५ बजेको समयमा चितवनबाट हेटौडा तर्फ जाँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिँई दुर्घटनाहुँदा मोटरसाईकल चालक रत्ननगर १६ का पिठुवाका रामजी गौतम र थापा घाइते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागी मनहरी अस्पताल लगेकोमा ०९:१५ बजेको समयमा मोटरसाईकलको पछाडी सवार थापाको मृत्यु भएको भनी डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यस्तै मोटरसाईकल चालक गौतमलाई थप उपचारको लागी चितवनतर्फ रिफर गरिएको प्रहरीले बताएको छ।
चितवन रिफर गरिएका गौतमको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र मृतक थापाको शव पोष्टमार्टमको लागी हेटौडा अस्पतालमा राखिएको वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।
दुर्घटनाग्रस्त ट्रक, मोटरसाईकल र ट्रकचालक बारा जितपुर सिमरा २१ अमलेखगंज बस्ने वर्ष ३९ का ओमप्रसाद खनाल मनहरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतक थापाका ६८ वर्षीय आमाको पनि दुईमहिना अघि गैंडाको आक्रमणमा ज्यान गएको थियो।

