सडकबाट मानसिक रोगीको उद्धार

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् ।

महालक्ष्मी नगरपालिका–७, आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबाट ग्रसित भएपछि झण्डै १२ बर्षअघि घर छोडेर धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका थिए । प्रायः बिहिबारे हटिया आसपास क्षेत्रमा भेटिने उनको न बसाईको टुंगो थियो न त खानाको नै । मानसिक समस्याबाट बिक्षिप्त रहेका उनी सडकमै भौतारिएर दिन कटाउँने गर्थे । कसैले दया गरेर दिए खाने, नभए भोकभोकै बस्दै आएका उनको अवस्था अत्यन्तै पीडादायी थियो ।

अधिकारीको अवस्था देखेर स्थानीय अनुजा पराजुली, कोपिला शंकर, नारायण कार्की लगायतले उनको उद्धारमा पहल गरेका हुन् । सडकमा दुर्गन्धित अवस्थामा बस्दै आएका अधिकारीलाई कपडा फेरेर मानसिक समस्याको उपचारका लागि नोबेल अस्पताल ल्याईएको उद्धारमा खटिएकी अनुजा पराजुलीले बताईन् ।

अस्पतालसम्म ल्याउँन महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले एम्बुलेन्सको व्यवस्था मिलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् । बेवारिसे अवस्थामा रहेका अधिकारीलाई परिवारसँग सम्पर्क गराउँन पराजुली र मेयर नेपालले पहल गरेका थिए । अधिकारीको अवस्था थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.शर्माले उनलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिएका हुन् । उपचारसहित बिरामी र कुरुवालाईसमेत खानाको व्यवस्था पनि डा.शर्माले नै मिलाईदिएका छन् । ‘असहायलाई साथ दिनु मानवीय कर्तव्य भएकाले सहयोग गरेको हुँ ।’ डा.शर्माले भने ।

नोबेल अस्पतालका मानसिक रोग बिशेषज्ञ डा.मुक्ति आचार्यको निगरानीमा उनको उपचार भईरहेको छ । लामो समयदेखिको समस्याका कारण उनी स्वस्थ हुँन समय लाग्ने डा.आचार्यले बताए । अधिकारी झण्डै १२ बर्षदेखि परिवारसँग सम्पर्कबिहिन थिए । अहिले उनका छोराछोरी साथमा आईपुगेका छन् । छोराछोरी नै अस्पतालमा कुरुवा बसेर अधिकारीको उपचार गराईरहेका छन् । अस्पतालमा सरसफाईसहित कपडासमेत फेरिएपछि उनको स्वरुप पनि बदलिएको छ ।

उद्धार गरेर नोबेल अस्पताल ल्याईएका अधिकारी । तस्वीर : रबिन कटेल/राजधानी

The post सडकबाट मानसिक रोगीको उद्धार appeared first on Rajdhani Daily News.

विदेश बाट घर फर्कदै हुनुहुन्छ? कतिसम्म सुन लान पाईन्छ ?

Previous articleसरकारले देशभरका विद्यालयलाई भन्यो : कोरोना संक्रमण बढेकाले ५ चैतभित्रै परीक्षा सक्नु
Next articleप्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।