काकाकुल माधवपुरलाई पानी खुवाउने दिगदर्शन खानेपानी पुन: सुचारु

Click Image

रत्ननगर- कुनै समय काकाकुल जस्तै बनेको साबिक पिठुवाको वडा नं. ७,८ र ९, हाल रत्ननगरको वडा नं. १५ माधवपुरलाई पानी खुवाएको दिगदर्शन खानेपानी पुन: सुचारु गरिएको छ । वि.स २०६६ सालताका एकगाग्रो खानेपानीकै लागी जुटपानीको तिनधारे र चारधारेमा घन्टौ लाईनमा बस्नुपर्ने बाध्यता झेलेका माधवपुरेका घर अगाडी पानीको धारो झारिदिने सो खानेपानी अनियमित भएको केहि समय पश्चात पुन: सुचारु गरिएको हो ।

माधवपुरका १५२ घरधुरीले प्रयोग गर्दै आईरहेको सो खानेपानीले १९ वटा धारा मार्फत सेवा प्रदान गर्दै आईरहेको थियो। पछिल्लो समय सो खानेपानीका अधिकांस उपभोक्ताले पिठुवा खानेपानी मार्फत सेवा लिइरहेका छन् । घरघरमा निजि धारा जडान भएपछी दिगदर्शन खानेपानी उपेक्षामा परेको थियो ।

“उपभोक्ता नै निष्क्रिय बनेपछि संचालक समितिले मात्रै चाहेर खानेपानी संचालन गर्ने अवस्था नरहेको”, संस्थाका अध्यक्ष गोपाल नेपालले जानकारी दिए । उनका अनुसार संचालक समिति र सल्लाहकार समितिको निर्णय बमोजिम संस्थामा रहेको मौजात रकम उपभोक्तालाई नै फिर्ता गरेर अचल सम्पती सहित पिठुवा खानेपानी संग ‘समाहित’ हुने निर्णय गरिएको थियो ।

सो निर्णय कार्यान्वयन नहुँदै अर्को उपभोक्ता समिति मार्फत ‘खानेपानी नियमित’ गरिएको हो । बागमती प्रदेश सरकारले आ.व २०८१/८२ मा सो खानेपानीको लागी ५ लाख बजेट विनियोजन गरेको थियो । सोहि योजना कार्यान्वयन गर्न स्थानीय हरि प्रसाद ढकालको अध्यक्षतामा बनेको उपभोक्ता समितिले नै ‘खानेपानी नियमित’ गरेको हो ।

प्रदेश सरकारको बजेटबाट समितिले मुहान संरक्षणको कार्य सम्पन्न गरेको छ । गत शनिबार आयोजित उपभोक्ताहरुको एक भेलाले सो योजनाको खर्च सार्वजनिक गरेको थियो । विनियोजन भन्दा केहि रकम घटेर भएको सम्झौता अनुसार प्रदेश सरकारको कुल ३ लाख त्रिसठ्ठी हजार र जनश्रमदान ४० हजार गरि झन्डै ४ लाख ४ हजार बराबरको कार्य सम्पन्न गरिएको छ ।

भेलामा वडाध्यक्ष आसिक तामाङले ‘अप्ठेरो अवस्थामा पानी खुवाएको’ यस्ता ग्रामिण खानेपानीको संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रविधि र आधुनिकतामा निर्भर खानेपानी संस्थाको सेवा कुनैपनि बेला अवरुद्ध हुनसक्ने भन्दै तामाङले प्राकृतिक मुहानबाट संचालन हुने दिगदर्शन खानेपानीको संरक्षणको लागी स्थानीय सरकार सधै साथमा रहने बताए ।

कार्यक्रममा वडा सदस्य ईमप्रसाद पन्त, संस्थाका संस्थापक अध्यक्ष प्रभु लामिछाने, पुर्व अध्यक्ष भोजराज लामिछाने, पिठुवा खानेपानीका सचिव रुपेश तिवारी लगायतले मन्तव्य राखेका थिए ।

दिगदर्शन सामुदायिक भवनमा भएको सो कार्यक्रम उपभोक्ता समिति सचिव हेमप्रसाद पन्तले संचालन गरेका थिए ।

Previous articleरत्ननगरका महिलालाई आयआर्जनसंग जोड्न बाटेको धुप बनाउने तालिम
Next articleगैंडाले आक्रमण गर्दा चितवनमा एकजनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।