‘डिस्प्याच सेन्टर’ स्थापना गर्न स्थानीय तह प्रतिवद्ध
सिन्धुली । पछिल्लो समय जिल्लामा एम्बुलेन्स थपिने क्रम बढीरहेको छ । जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स खरिद गरेका छन र सोहि तह मार्फत सञ्चालनमा आएका छन । स्थानीय तहको लगानीमा जिल्लामा नेपाल रेडक्रस सोसाईटीले १९ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।
सिन्धुली अस्पताल, विभिन्न प्रतिष्ठान गरि जिल्लामा २६ वटा एम्बुलेन्स सञ्चालनमा छन । ती एम्बुलेन्सहरु दुर्घटनामा परेका विरामी लिन वा आपतकालिन अवस्थामा सेवा दिन सक्ने अवस्थामा फेला पार्न भने कठिन हुने गरेको पाईएको छ ।
पछिल्लो समय जिल्लाका स्थानीय तहमा एम्बुलेन्स खरिदको होडबाजी समेत चलेको छ । कमलामाई नगरपालिकाले अब थप ३ वटा एम्बेलेन्स खरिदका लागि बजेट विनियोजन गरेको छ । गत वर्ष ३ वटा एम्बुलेन्स खरिद गरेको थियो । यस्तै दुधौली नगरपालिकाले २ वटा थप गर्ने योजनामा छ ।
दुधौलीमा ९ वटा एम्बुलेन्स सञ्चालनमै छन । मरिण गाउँपालिकाले गत वर्ष ३ वटा खरिद गरेको थियो भने चालु वर्षमा १ वटा खरिद गर्ने योजनामा छ । यस्तै सुनकोशी गाउँपालिकाले १ वटा एम्बुलेन्स थप्ने योजना बनाएको छ । सुनकोशीका ७ वटै वडामा एम्बुलेन्स सुविधा छ । यस्तै फिक्कल गाउँपालिकामा अघिल्लो वर्ष १ वटा खरिद गरेकोमा यस वर्ष थप १ वटा एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ । घ्याङलेख गाउँपालिकाले १ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
जिल्लाभर स्थानीय तहमार्फत एम्बुलेन्स खरिद र सञ्चालन भए पनि समयमा एम्बुलेन्स सुविधा पाउन नसकेको गुनासो सरोकारवालाकै रहेको छ । सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार जिल्लामा रहेका राजमार्गमा दैनिक जसो दुर्घटना हुने र सबै प्रहरी ईकाईमा सवारी साधन समेत नभएको अवस्थामा घाईतेहरुलाई टयाक्टर, मोटरसाईकल र अटोमा हालेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको बताईन । उनले जिल्लामा मृत शव व्यवस्थापनमा समेत कठिनाई रहेको बताईन । उनले एकीकृत सेवाका लागि जिल्लामा एम्बुलेन्सका लागि प्रहरीको जस्तै कन्ट्रोल सिस्टमको आवश्यकता रहेको बताईन ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा एम्बुलेन्स भन्सार छुटका लागि सिफारिस माग्न समितिमा आउने तर एम्बुलेन्सको व्यवस्थापन, सञ्चालनका विषयमा जानकारी नै नहुने हुदा समस्या रहेको बताए । उनले जिल्लामा सञ्चालित एम्बुलेन्सले समितिबाट सञ्चालन अनुमति समेत नलिने र व्यवस्थित र मर्यादित सेवा दिन नसकेको बताए । उनका अनुसार जिल्लाका एम्बुलेन्समा अस्पताल पुग्नुपूर्वको उपचारका सुविधा नभएको समेत जनाएका छन । एम्बुलेन्स मानवीय संवेदनशिलतालाई भन्दा पनि नाफाको व्यापार गर्नमा तल्लिन रहेकाले पनि यसको नियमन र कारवाहि हुन आवश्यक रहेको गौतमले बताएका छन ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले सिन्धुली अस्पताललाई केन्द्र बनाएर चल्ने प्रतिस्ठानका नामका नीजि एम्बुलेन्सले अस्पतालकै बेईज्जत गर्ने गरेको बताए । उनका अनुसार एम्बुलेन्सका कारण समस्या सृजना भएकाले सेवा प्रभावकारी बनाउन जिपिएस प्रणाली जोड्ने तयारी भईरहेको बताए । उनले जिल्लाका एम्बुलेन्सको सेवा प्रभावकारी बनाउन सिन्धुली अस्पताललाई केन्द्रीत गरि सबै स्थानीय सरकारको समन्वयमा डिस्प्याच सेन्टर स्थापना गर्न सहकार्यका लागि अस्पताल तयार रहेको बताए ।
डिस्प्याच सेन्टरका बारेमा छलफल
एकीकृत सेवा सहितको जिल्लामा रहेका एम्बुलेन्सहरुलाई एकीकृत गरि जिपिएस प्रणाली मार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि डिसप्याच सेन्टरको स्थापना गर्ने विषयमा बुधबार सिन्धुलीमाढीमा छलफल गरिएको छ । दुर्घटनाका घाइते तथा विरामीहरुलाई अस्पताल पु¥याउनु पूर्व गरिने उपचारलाई प्रभावकारी बनाउने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको आयोजना, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको सहयोग तथा स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा छलफलको आयोजना गरिएको छलफलमा सहभागिहरुले सिन्धुली जिल्ला तीन वटा राष्ट्रिय राजमार्गले जोडिएको र दुर्घटना हुने दर बढीरहेकाले जिल्लामा डिस्प्याच सेन्टर आवश्यक रहेको बताएका छन । एम्बुलेन्स व्यवस्थापन र मानवीय क्षतीलाई कम गर्नका लागि सबै स्थानीय तहका प्रमुखहरुले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
डिस्प्याच सेन्टर बनाउन स्थानीय तह प्रतिवद्ध
छलफलका क्रममा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन आफ्नो स्थानीय तह मातहतमा रहेका एम्बुलेन्सको सेवा सुविधा वृद्धि गरि ख श्रेणीको सुविधा व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै थप एम्बुलेन्स खरिद गर्दा नेपाल सरकारको मापदण्ड अनुसार ख श्रेणीको एम्बुलेन्स खरिद गर्ने समेत स्थानीयत तहका प्रमुख तथा प्रतिनिधिहरुको प्रतिवद्धता रहेको छ । यस्तै अन्य तीन वटा पालिकाहरु तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले समेत कार्यपालिकाको बैठक र आगामी कार्ययोजना बनाउँदा डिस्प्याच सेन्टरका बारेमा ध्यान दिईने बताए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीले जिल्लाका सबै स्थानीय तहलाई डिस्प्याच सेन्टर स्थापनाका लागि जुट्न आग्रह गरेका छन ।
जिल्लाका नौ वटै स्थानीय तहका प्रमुखहरु, नौ वटै तहका स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख तथा उपप्रमुखहरु सञ्चारकर्मी, रेडक्रसकर्मी लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपनिर्देशक वालकृष्ण सेढाईले डिस्प्याच सेन्टर स्थापनाको लक्ष्य महत्व र फाईदाका बारेमा जानकारी गराएका थिए भने धुलिखेल अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. सानु कृष्ण श्रेष्ठले अस्पताल पुग्नुपूर्वको उपचारका बारेमा जानकारी गराएका थिए ।
यस्तै उक्त कार्यक्रममा प्रजनन मातृ नवजात शिशु बालबालिका किशोर किशोरीको स्वास्थ्य परियोजनाका बारेमा पनि जानकारी गराईएको थियो । सिन्धुलीमा उक्त परियोजना मार्फत भएका काम र आगामी कार्ययोजनाका बारेमा रेडक्रसका कार्यक्रम संयोजक भोला घिमिरेले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले गरेका थिए ।
The post एम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा appeared first on Rajdhani Daily News.
विदेश जाँदै हुनुहुन्छ? पिसिआर टेस्ट कँहा गर्ने? सरकारी र प्राईभेट प्रयोगशालाहरुको नामलिस्ट


