जानककी मन्दिर ‘लाईटिङ’ योजना अलपत्र

जनकपुरधाम । जनकपुरधाम क्षेत्रको प्रमुख धार्मिक स्थल जानकी मन्दिरलाई ‘लाईटिङ’ मार्फत सौन्दर्यीकरण गरिने योजना अलपत्र परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को करिब ५ करोड लगानीमा जानकी मन्दिर झकिझकाउ बनाउने सम्झौता भएको २० महिना बितिसक्दा समेत योजना सञ्चालन हुन सकेको छैन ।

२०७५ असार २५ मा विवाहपञ्चमीकै दिन विद्युतीय सौन्दर्यीकरण सम्पन्न गर्ने एनआरएनएले प्रतिबद्धता जनाएको थियो । तर, एनआरएनएका पदाधिकारीबीच योजना विषयमा आन्तरिक कुरा मिल्न नसक्दा अलपत्र परेको हो । प्रदेश २ मै पहिलोपटक सम्झौता गरेको महात्वाकांक्षी योजना कार्यान्वयनमा एनआरएनएले आनाकानी गरेको छ ।

सौन्दर्यीकरणका लागि सम्झौता भएपछि संघ सम्र्पकविहीन भएको जानकी मन्दिरका उत्ताराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । ‘एनआरएनए काम गर्ने पक्षमा छैन । उनीहरूको मनसाय मलाई पनि थाहा भएन तर सम्झौता गरेर गएदेखि कुनै पदाधिकारी सम्पर्कमै आएका छैनन,’ उनले भने । समझदारी पत्रमा जानकी मन्दिर छुट गुठीका तर्फबाट उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालिन अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका थिए ।

करिब ५ करोड लागतमा जानकी मन्दिर भित्र गरिने विद्युत्तीयकरणका सम्बन्धमा १२ सूत्रीय समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रममा संघका अध्यक्ष भट्टले जानकी मन्दिरमा ‘लाईटिङ’ मात्र नभई आगामी पुस्ताका लागि जनकपुरधामको कथा देखाउने खालको व्यवस्था गरिने बताएका थिए ।

गैरआवासीय संघले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत जानकी मन्दिरको विद्युत्तीयकरणका लागि समेत सानो वार्डको एल ई डी बल्बको प्रयोग गरिने अध्यक्ष भट्टले हस्ताक्षर वेला जानकारी गराएका थिए ।
सौन्दर्यीकरण सम्झौता भएकै बेला पदाधिकारीबीच आन्तरिक खटपट भएकाले योजना सञ्चालन हुन नसकेको स्रोतको भनाइ छ । ‘सम्झौता भएको बेला मञ्चमा बोल्ने मौका नपाएर केही पदाधिकारी रुष्ट भए । पछि एनआरएनएको चुनाव पनि नजिकिँदै गयो । सौन्दर्यीकरण गर्नेले हस्तान्तरण गर्ने मौका नपाएर जस अरूले लिने देखिएकाले पनि समस्या देखिएको हो,’ एनआरएनए स्रोतले भन्यो, ‘तत्काल सौन्दर्यीकरण हुने कुनै सम्भावना छैन । पैसा छैन भनेर कुरा टार्दै आएको छ । योजना कार्यान्वयन नहुन पनि सक्छ ।’

एनआरएनएले आफ्नो पैसाले योजना सञ्चालन गर्ने जनाएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा दिने भनिएको १ सय करोड रकमबाटै सौन्दर्यीकरणका लागि पैसा लिने दाउमा रहेकाले पनि योजना अलपत्र परेको नाम नखोल्ने सर्तमा एनआरएनएका एक पदाधिकारीले बताए ।
भूकम्पपीडितका लागि गोरखामा बनाउँदै गरेको घरमा अनुमानित रकमभन्दा बढी रकम खर्च भएको कारण देखउँदै योजना अलपत्र छोडेको उनको भनाइ छ । योजना सञ्चालनका लागि मौखिक र लिखित रूपमा पटक–पटक ध्यानकर्षण गराउँदा समेत एनआरएनएले बेवास्ता गरेको भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झाले बताए ।
‘तपाईंहरूको भर परेर यो काम नहुने भएपछि म अर्कै स्रोतबाट जसरी पनि काम गराउँछु भनेर भनिसकेको छु । तर, हामीले काम गर्छौं भनेर एनआरएनएले जवाफ फर्काउँदै आएको छ,’ झाले भने ।

जानकी मन्दिर मुलुककै ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न विद्युतीकरणबाट सुन्दर बनाउने भन्दै जानकी मन्दिर छुट गुठी र एनआरएनएबीच सम्झौता भएको थियो । सोलार र विद्युत दुवैबाट सञ्चालन हुने गरी जानकी मन्दिर झकिझकाउ पार्न परिसरमा समेत प्रकाश प्रज्जवलित गर्ने गरी एनआरएनएले विस्तृत योजना तयार पारेको थियो ।

जानकी मन्दिरका उत्तराधिकारी दास र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। पहिलो चरणमा जानकी मन्दिरको विद्युतीय सौन्दर्यीकरण र अर्को चरणमा विवाहमण्डप तथा वाटर फाउन्टेन पार्क निर्माणका लागि पनि सहयोग गर्ने एनआरएनएले प्रतिबद्धता जनाएको थियो। तर, योजना सञ्चालन हुने अझै छाँट छैन ।

सम्झौतामा योजना सञ्चालन गर्नुअघि अपनाउनुपर्ने सबै प्रक्रिया एनआरएनले नै पूरा गर्ने उल्लेख छ । पुरातत्व विभागबाट लिनुपर्ने अनुमति, पूरा गर्नुपर्ने मापदण्डलगायत विषय सबै एनआरएनएले नै हेर्ने सम्झौता भएको उत्ताराधिकारी वैष्णवले बताए ।

‘सौन्दर्यीकरण कार्य अघि बढाउन प्रक्रिया पूरा गर्नेलगायत कामसमेत गर्न मेयर, मुख्यमन्त्री र मैले सही गरेर सबै कागज एनआरएनएलाई नै दिएको छु । तर, स्वीकृतिका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु,’ वैष्णवले भने ।
तर, एनआरएनएले जानकी मन्दिरले पुरातत्व विभागबाट स्वीकृति लिनुपर्ने भन्दै योजना अल्झाएको छ । जानकी मन्दिरले नै अनुमति लिनुपर्ने बताउँदै अनुमतिका लागि प्रक्रिया अघि नबढुन्जेल सौन्दर्यीकरण नहुने एनआरएनएका एक अधिकारीले वताए ।

‘पुरातत्व विभागबाट अनुमति लिने जिम्मेवारी महन्थको छ । रविन्द्र अधिकारी मन्त्री हुँदा हामीले यसबारे कुरा गरिसकेका थियौं । उहाँले स्वीकृति प्रदान गर्ने भन्नुभएको थियो । हाम्रो डिजाइन पनि तयार छ । तर, स्वीकृति अझै आएको छैन त्यसैले ढिलो भयो,’ ती अधिकारीले भने ।

The post जानककी मन्दिर ‘लाईटिङ’ योजना अलपत्र appeared first on Rajdhani Daily News.

तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा माछा मा’र्न हिंडेका श्रीमान् श्रीमतीको श’व भेटियो

Previous articleएम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा
Next articleयौन हिंसाको आरोपमा पूर्व डीएसपी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।