कालिकाको आव २०८१-०८२ को बजेट : ७६.७३ प्रतिशत खर्च

Click Image

रत्ननगर । चितवनको कालिका नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ७६.७३ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

चालूतर्फ ८६.६१ प्रतिशत र पुँजीगततर्फ ६५.४४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । यो वर्ष ४९ करोड ५७ लाख एक हजार छ सय रूपैयाँ (५३.३१) प्रतिशत विनियोजन भएकोमा ४२ करोड ९३ लाख ४९ हजार नौ सय ६० रूपैयाँ २४ पैसा (८६.६१) प्रतिशत खर्च भएको चौलागाईंले बताए । पुँजीगततर्फ ४३ करोड ४० लाख ७२ हजार चार सय रूपैयाँ (४६.६९) प्रतिशत विनियोजन भएकोमा २८ करोड ४० लाख ७५ हजार आठ सय ९६ रूपैयाँ ८९ पैंसा (६५.४४) प्रतिशत खर्च भएको उनले बताए ।

आर्थिक वर्ष २०८१-०८२ मा चालू र पुँजीगततर्फ गरी कुल ९२ करोड ९७ लाख ७४ हजार विनियोजन भएकोमा ७१ करोड ३४ लाख २५ हजार आठ सय ५७ रूपैयाँ १३ पैसा (७६.७३) प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।

कालिका नगरपालिकाको बजेट चालूभन्दा पुँजीगत (६.६२) प्रतिशतले बढी छ । प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

जारी सूचनामा बजेट कार्यान्वयन गर्न सहयोग गर्ने टोल विकास संस्था, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, विकास साझेदार सरोकारवाला सरकारी कार्यालय, सञ्चारकर्मी, नागरिक समाज, कर्मचारी सबैलाई धन्यवाद दिँदै आगामी बजेट कार्यान्वयनमा पनि सक्रिय सहयोग, समन्वय र सहभागिता रहने विश्वास गरिएको छ ।

Previous articleपौडी खेल्ने क्रममा बेपत्ता भएका रत्ननगरका बालकको शव भेटियो।
Next articleचितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।