सातदोबाटो बलात्कार प्रकरण : प्रहरी भन्छ- युवतीलाई निलो कारमा लैजाने व्यक्ति छिट्टै पक्रन्छौँ

0
67

गत साता मकवानपुरकी एक महिला उपचारका लागि काठमाडौं आइन्। टाउको र ढाडकी बिरामी उनले बिहीबार स्वास्थ्य जाँच गराइन्।

स्वास्थ्य जाँचका लागि बौद्धमा बसेकी उनी शुक्रबार बिहानै दाइहरुलाई भेट्न भन्दै बौद्धबाट सातदोबाटो पुगिन्। उनका दाजुहरु ललितपुरको चापागाँउमा बस्दै आएका छन्।

उनी बिहान करिब ७ साढे ७ बजेतिर सातदोबाटोमा उभिएर चापागाउँ जाने गाडी कुरिरहेकी थिइन्। त्यतिनै बेला नजिकै आएर एउटा निलो रंगको कार रोकियो। चालकले देब्रेतर्फको सिसा खोलेर उनलाई सोधे, ‘बहिनी कहाँ जाने हो?’

‘चापागाउँ दोबाटो’, उनले आफू जानु पर्ने ठाउँ भनिन्।

ती कार चालकले भने, ‘मेरो घर पनि त्यतै हो, आउ म लगिदिन्छु।’

त्यसपछि ती महिला निलो रंगको त्यो कारमा चढिन्।

मकवानपुर नै बस्दै आएकी उनलाई उपत्यकाका बारेमा त्यतिधेरै थाहा थिएन्। दाइहरु चापागाउँतिर बस्ने भए पनि आफूलाई यहाँको बारेमा खासै जानकारी नभएको प्रहरीसँगको बयानमा उनले बताएकी छन्। आफूलाई कारमा चढाएपछि कहाँ लगियो भन्ने पनि थाहा नभएको उनको भनाइ छ।

प्रहरीसँगको बयानमा उनले आफूलाई लगेको ठाउँका बारेमा थाहा नभएको र केहीबेर कारमा हिँडाएपछि एक घरमा लगेर बलात्कार गरेको बताएकी छन्। ती कार चालकले बलात्कारपछि आफूलाई छाडीदिएको र आफू दुई वटा गाडी चढेर सातदोबाटो आइपुगेको उनको बयान छ।

‘ती महिलाले धेरै कुरा थाहा छैन भनेकी छन्। पीडकको पहिचान गरिसकेका छौं। पक्राउ गरेपछि घटनाको रहस्य खुल्ला’, प्रहरी स्रोतले नेपालखबरसँग भन्यो।

कुन ठाउँमा लगियो र दुई वटा गाडी कहाँ–कहाँबाट चढिन् भन्ने पनि ती महिलालाई थाहा नहुनुलाई प्रहरीले अनुसन्धानको विषय बनाएको छ।

‘घटना रहस्यमय छ, पीडकलाई पक्राउ गरेपछि मात्रै यथार्थ खुल्नेछ’, प्रहरी स्रोतले भन्यो।

शुक्रबार बिहान ९ बजेतिर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ती महिलाले आफूमाथि कारचालकले जबर्जस्ती गरेको भन्दै जाहेरी दर्ता गरेपछि प्रहरीले उनको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। उनी कारमा चढेको समय र जाहेरी दिन आएको समयमा डेढ-दुई घण्टाको मात्रै अन्तर रहेका कारण ती चालकले महिलालाई धेरै टाढा नलगेको प्रहरीको अनुमान छ।

महिलाको बयानअनुसार नै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जसअनुसार प्रहरीले अहिलेसम्म सीसी क्यामेरामार्फत कार पत्ता लगाइसकेको जनाएको छ।

‘उनलाई चढाएर लैजाने कार पनि सीसी क्यामेराबाट पत्ता लागिसकेको छ’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले भने, ‘घटनाको अनुसन्धान र पीडकको खोजी भइरहेको छ।’

पत्ता लागिसकेका अरोपित पक्राउ गर्न ढिला भएको भन्दै एसएसपी राईले सातदोबाटो प्रहरी वृत्तलाई छिटो पक्राउ गर्न निर्देशन दिएका छन्। सोमबार सातदोबाटो वृत्तमै गुगेर उनले अनुसन्धान प्रक्रियाको जानकारी लिँदै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन्।

‘घटनाको म आफैं लागेर अनुसन्धान गरिरहेको छु’, नेपालखबरसँग कुरा गर्दै एसएसपी राईले भने, ‘अपराधिलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउँछौं।’

 

रत्ननगरमा एमालेको चुनाब लक्षित घरदैलो कार्यक्रम

Previous articleकोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
Next articleयुएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण