पाँचथर । कुम्मायक–५, भुल्केका भूमीहीन होमप्रसाद माझीले लालपुर्जा पाएका छन् । वडाअध्यक्ष यामबहादुर बोहोरा सहित पाँच जना जनप्रतिनिधिले रकम संकलन गरी माझीलाई लालपुर्जा दिलाएका हुन् ।
माझीलाई तमोर करिडोर सडक छेउमा एक रोपनी १३ आना जग्गा दिलाइएको हो । स्थानीय ओमाकान्त निरौलाले जनप्रतिनिधिले संकलन गरेको ५० हजार रुपैंयाँमा जग्गा दिएका हुन् । सुकुम्बासी अवस्थामा रहेका माझी परिवारलाई निशुल्क जग्गा दिन खोजेको तर निशुल्क लिन नमानेपछि जनप्रतिनिधिले संकलन गरेको ५० हजार रुपैंयाँ लिएर प्रतिरोपनी डेढ लाख रुपैंयाँ पर्ने जग्गा दिएको निरौलाले बताए ।
लालपुर्जा पाएपछि माझी परिवारमा खुसीयाली छाएको छ । माझी परिवार तमोर नदीको लुमुघाटस्थित जंगलको एक ग्वालीमा बस्दै आएको छ । लालपुर्जा पाएपछि अब घर बनाउने होमप्रसादले बताए । ‘आफ्नै नामको जमिन नहुँदा परिवारलाई व्यवस्थापन गर्न गाह्रो थियो’ उनले भने ‘बसोबासको कुनै ठेगान थिएन, समाजमा शीर ठाडो पारेर हिंड्न सक्ने अवस्था पनि थिएन, त्यो अवस्थाबाट उद्धार गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
माझी परिवार यसअघि स्थानीय एक सामुदायिक वन उपभोक्ता समितिको भवनमा आश्रय लिएर बसको थियो । तर निर्माणधिन तमोर करिडोर सडकले क्षति पु¥याएपछि माझी परिवारको बिचल्ली भएको थियो । होमप्रसादको एक श्रीमति, चार छोरा र एक छोरी छन् । वडा कार्यालयले माझीको घर बनाउन पनि सहयोग गर्ने वडाअध्यक्ष बोहोराले बताए ।
होमप्रसादले लालपुर्जा पाएसँगै अब कुम्मायक–५, मा कोहि पनि भूमीहीन नरहेको वडा कार्यालयले जनाएको छ ।
The post होमप्रसाद माझीले पाए लालापूर्जा appeared first on Rajdhani Daily News.


