थ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा

0
61

बलियो थ्रि स्टार पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रिस्टारले दोस्रो हाफको ७९ औँ मिनटमा खेलमा अग्रता लिएको थियो। थ्रिस्टारका लागि संजोग राईले गोल गरेका थिए। उनले निशान खड्काको पासलाई मैदानको मध्यभागबाट अगाडि बढाउँदै गोलमा परिणत गरेका हुन्।

८५औँ मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधैँ पोस्टमा गरेको लामो प्रहारलाई थ्रिस्टारका गोलरक्षक पूर्ण चेम्जोङले मुस्किलले बचाउँदै बराबरी टारे। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रिस्टारको जित पक्का गरे। लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रिस्टारको ३–० को जित सुनिश्चित बनाए।

सहारा क्लबको आयोजना पोखरा रंगशालामा सञ्चालित तेस्रो क्वार्टरफाइनलमा खेलको आठौंँ मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्रिस्टारले अग्रता लिने मौका गुमाएको थियो। २१ औँ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर पनि बाहिरिएको थियो।

यता, ४३ औँ मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा गान्तोक सिटीले अग्रता लिने अवसर गुमायो। ६४ औँ मिनटमा पनि गान्तोकले यस्तै अवसर गुमाएको थियो। गान्तोकका छिरिङ भुटियाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटिया गोल गर्न चुकेका थिए।

थ्रिस्टारले अब फाइनल प्रवेशको लागि सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वार्टरफाइनल हुनेछ।

 

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनुस् : प्रधानमन्त्री  

Previous articleकोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
Next articleयुएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण