तमोर नदीमा बेपत्ता भारतीय नागरिकको सशस्त्रको तालिमप्राप्त गोताखोर टोलीद्वारा खोजी सुरु

0
42

धनकुटा । धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिकको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको छ ।

भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा शनिबार तमोर नदीमा डुबेर बेपत्ता भएका थिए । उनी नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा खसेका थिए ।

सशस्त्र प्रहरी बलको तालिम प्राप्त गोताखोर टोलीले आज सोमबार विहान ८ बजेदेखि खोजी कार्य थालेको थियो । गोताखोर टोलीले करिव १५ देखि ४० फिटसम्मको गहिराईमा गएर खोजतलास गरे पनि फेला पार्न नसकेको धुनकुटाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सचिन कर्मचार्यले बताए ।

नदीको खोंचमा अड्किएको हुनसक्ने सम्भावनालाई मध्य नजर गरी खोजी कार्य गरिएको उनको भनाइ छ ।

गोताखोर टोलीले पानीको गहिराईमा गएर खोजी गरेको थियो । बेपत्ता शर्माको खोजीमा जुटेको सशस्त्र प्रहरीको गोताखोर टोली सप्तकोशी र फेवातालमा समेत परिचालन भएको अनुभवी समुह हो ।

सो गोताखोर टोलीले केही सम्भावित स्थानको पहिचान गरी खोजी कार्यलाई निरन्तरता दिने छ । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । खोजी कार्यमा ३ जना गोताखोर सहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त उद्धार टोली आवश्यक सामाग्रीसहित परिचालन गरिएको छ ।

नेपालमा नै पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं.१ बाहिनी मुख्यालय पकली सुनसरीले हालै मात्रै पहिलो समुहलाई स्वदेशमा नै तालिम दिएर उत्पादन गरेको थियो । सातै प्रदेशमा तालिमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप २८ जनाको गोताखोर टोली उत्पादन भएको थियो ।

हाल चितवनको कुरीनटार तालिम केन्द्र, काठमाडौं र पोखरामा समेत तालिम प्राप्त गोताखोर कार्यरत छन् । जमेको पानी वा पोखरीमा गोताखोर टोली ७० फिट गहिराईसम्म जान सक्दछ । एकपटक पानीमा डुबेपछि आधा घण्टा देखि ४५ मिनेटसम्म खोज्न सक्दछ । नेपालमा गोताखोर टोली सशस्त्र प्रहरी बलसँग मात्र छ । उद्धारको क्रममा गोताखोर टोलीले रवर बोट, अक्सिजन सिलिण्डर, वेट सुट, फिन्स, सर्च लाइट, माउथ पिस आदी लगायतका आधुनिक सामाग्री प्रयोग गर्ने गर्दछन् ।

The post तमोर नदीमा बेपत्ता भारतीय नागरिकको सशस्त्रको तालिमप्राप्त गोताखोर टोलीद्वारा खोजी सुरु appeared first on Rajdhani Daily News.

कृषि क्षेत्रको लागत मूल्य घटाउन आवश्यक: कृषि विज्ञहरू

Previous articleथ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा
Next articleकोरोना: लेबनानद्वारा केही अरबी मुलुकमा उडान रोक्ने घोषणा