
कैदी साट्ने सम्झौताअनुसार सरकारले यसहप्ता हजारभन्दा बढी तालिबान लडाकु छाड्दैछ। मंगलबार अफगानिस्तानका राष्ट्रपति असरफ गानीले कैदी छाड्न दिर्नेशन दिने अपेक्षा गरिएको छ।
यसबीचमा आफ्ना लडाकुलाई लिन तालिबानले मंगलबार गाडीहरु पठाएका हुन्। सम्झौताअनुसार तालिबानले पनि हजारभन्दा बढी सरकारी सेनाहरु छाड्नेछ।
तालिबानले गाडीहरु बग्राम जेलमा पठाएका छन्। कैदीहरु साट्ने सम्झौता गत महिना अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतामा भएको थियो।
उक्त सम्झौताअनुसार अमेरिका र नेटो समूहका सेना पनि अफगानिस्तानबाट फर्किनुपर्नेछ। तालिबानले आफूलाई विश्वस्त बनाउन सरकारले आफ्ना लडाकु छाड्नुपर्ने माग गरेको थियो।

सोमबार राष्ट्रपतिको शपथ खाएका असरफ गानीले पहिले तालिबानको माग अस्वीकार गरेका थिए। सोमबार भने अमेरिकाका लागि अफगानिस्तानका प्रतिनिधि जालमे खलिलजादले सरकार तालिबान लडाकु छाड्न राजी भएको बताएका थिए।
तालिबानका अनुसार अफगान सरकारले ५ हजार तालिबान लडाकु छाड्नेछ।
सोमबारदेखि अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेनाहरु पनि फर्काउन सुरु गरेको छ।


