
कञ्चनपुरमा फागुन १४ गते राति भएको भण्डारी दम्पतीको रहस्यमय हत्या घटनाका दोषीको पहिचान हुन सकेको छैन। फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
घटना घटेको दुई साता बितिसक्दा समेत प्रहरी अपराधी नजिक पुग्न नसकेको हो। घटनाको अर्को दिन (फागुन १५ गते) दुध पु¥याउन आएकी मृतक धनादेवीकी फुपुकी छोरी पार्वती रावलले घरभित्र रक्ताम्य अवस्थामा शव देखे पछि घटना बाहिरिएको थियो। यो घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।
यद्यपी दुई साता बितिसक्दा समेत घटनामा संलग्न अपराधीको कुनै सुइँको पाउन सकेको छैन्, प्रहरीले। घटनाको विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शंकास्पद २/३ जनामाथि निगरानी बढाइएको प्रहरी स्रोतको दाबी छ। ‘अहिले नै निष्कर्षमा पुगिहाल्ने शंकास्पद सबुत भेटिएको छैन्, विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’ एक प्रहरी अधिकारीले भने, ‘शंकास्पद २/३ जनामाथि कडा निगरानी राखेका छौँ।’
प्रहरीले अहिलेसम्म घटनाको अनुसन्धानका लागि कसैलाई पनि नियन्त्रणमा लिएको छैन। विभिन्न माध्यमबाट प्राप्त सूचना, कल डिटेलका आधारमा शंकास्पद मानिसको पहिचान गरी उनीहरुमाथि कडा निगरानी बढाइएको छ। घटनामा प्रयोग भएका कुनै पनि सामान र अन्य प्रमाण नभेटिएकाले सोको खोजीमा प्रहरी छ।
मानवीय तथा प्रावधिक पक्ष औँल्याउदै घटनाको विभिन्न कोण केलाएर अनुसन्धान भइरहेको छ। घटनाबारे मृतक लोग्ने स्वास्नीको चरित्र, छोराहरुसँगको सम्बन्ध, छिमेकी तथा महिलाका पूर्वप्रेमी लगायतसँग जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘बाबु–छोरा, अन्य घर परिवार, छिमेकी, पूर्व–प्रेमि, चरित्रसँग जोडेर अनुसन्धान केन्द्रित छ’ प्रहरी स्रोतले भन्यो।
मृतक धनादेवीको विवाह अघि एक युवासँग प्रेम सम्बन्ध रहेको खुलेको थियो। यद्यपी प्रहरीले भने यो कुरालाई घटनासँग जोडिहाल्न नमिल्ने बताउँछ। मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो। तीन वर्ष अगाडि जेठी श्रीमतीको क्यान्सर रोगबाट मृत्यु भएको डेढ महिनापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग जयलालले दोस्रो विवाह गरेका थिए। उनको पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने दोस्रो श्रीमतीबाट ७ महिने दुधे बालिका छन्।
मृतक भण्डारी दम्पती ७ महिने दुधे बालक मात्रै लिएर कलुवापुरमा बस्ने गरेका थिए। जेठी श्रीमती तर्फका छोराछोरी उनीहरुको साथमा थिएनन्। जेठी श्रीमतीतर्फका छोराहरु एउटा डडेल्धुरा र अर्का महेन्द्रनगर बस्छन्। मृतक जयलालले जेठो छोरा भरत भण्डारीलाई करिब डेढ वर्ष अगाडि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। छोरालाई खुकुरी प्रहार पछि पक्राउ परेका जयलाल धरौटीमा छुटेका थिए।
घटना घटेको राति फागुन १४ गते घर भन्दा केही पर छिमेकीको घरमा विवाह समेत थियो। यस्तै मृतक जयलाल भण्डारीको परिवार र उनको सहोदर भाइको वर्षौदेखि बोलचाल समेत नरहेको खुलेको छ। मृतक जयलाल र उनको भाइको घरसँगसँगै छ।
यिनै विषय र सम्बन्धहरुका अतिरिक्त विभिन्न माध्यमबाट प्राप्त अन्य सूचना पछ्याउदै विस्तृत अनुसन्धान भइरहेपनि अहिलेसम्म शंकास्पद सबुत भने प्राप्त गर्न नसकेको प्रहरी स्रोत बताउँछ। घटनास्थलबाट संकलित मोबाइल, कपाल, रगत, कपडा लगायतको विस्तृत अध्ययन भइरहेको छ। मृतकको कलडिटेल समेत अध्ययन भइरहेको छ। तर घटनाको निष्कर्ष दिने खालका कुनै शंकास्पद तथ्य प्रहरीको हात लागेको छैन।
अनुसन्धानमा चार टोली
प्रहरीको टाउको दुखाइको विषय बनिरहेको ‘भण्डारी दम्पती हत्या प्रकरण’ को अनुसन्धानमा अहिले प्रहरीका चार टोली तल्लीन छन्। तर ती टोलीले अपराधीसम्म पुग्ने अनुसन्धानको कुनै गतिलो कडी हात पार्न सकेका छैनन्। हाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित चार टोलीले अनुसन्धान गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धानलाई सीआइबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान टीम र क्षेत्रीय अनुसन्धान समूहले सघाइरहेका हुन्। यद्यपी अहिलेसम्म घटनाको कारण र अपराधी पहिचान हुन सकेको छैन। ‘निर्मला प्रकरण’को अनुसन्धानका लागि जिल्लामा रहेको सीआईबीको टिमले अनुसन्धानको प्रावधिक पाटोमा सघाइरहेको हो।
‘शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख, २/३ दिनमा डिस्चार्ज’
आमाबाबुको रहस्यमय मृत्युपछि बेहोस भएकी ७ महिने शिशुको कैलाली धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ७ महिने शिशु ममताको स्वास्थ्यमा तुलनात्मक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्।
‘यहाँ ल्याउँदाको अवस्थादेखि आजसम्म आउँदा स्वास्थ्यमा धेरै सुधार आएको छ, शिशु होसमा आएकी छन्।’ उपचारमा संलग्न बालरोग बिशेषज्ञ डा. मोहन साउँदले भने, ‘केही दिनको औषधि बाँकी छ, २/३ दिनभित्र डिस्चार्ज गर्ने तयारी गरेका छौँ।’ सिटिस्क्यान रिपोर्टले बालिकाको टाउकोको भित्री भागमा गम्भीर चोट देखाएको थियो। ‘टाउकोको भित्री भागमा ठूलो चोट देखिएको छ, आमा–बुवाको हत्यापछि शिशुलाई कसैले फालेको वा आफैँ खसेको हुनसक्छ’, डा. साउँदले भने।
७ महिने शिशुको माया मेट्रो अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। बेहोस अवस्थामा अस्पताल भर्ना गरिएकी शिशुको अहिले होस खुलेको छ। आमाको काखमा खेल्नुपर्ने बालिका अहिले अस्पतालको शैयामा एक्लै छट्पटाइरहेकी छन्।
‘अनुसन्धानले छिट्टै निष्कर्ष पाउने छ’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेल घटनाको दोषी छिट्टै पत्ता लाग्ने दाबी गर्छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै डिएसपी पौडेलले अनुसन्धानले छिट्टै निष्कर्ष पाउनेमा आशावादी रहेको बताए। ‘हरेक कोणबाट अनुसन्धान भइरहेको छ, यो अनुसन्धान छिट्टै निष्कर्षमा पुग्नेमा हामी आशावादी छौँ’ डिएसपी पौडेलले भने।


